त्रिभुवन विश्वविद्यालयको मूल बाटोमै चितुवाको लस्कर

झमक्क साँझ परेको थियो, शीतल दराइ घर फर्कँदा। लकडाउनका कारण फाट्टफुट्ट गाडी चलेका थिए, त्रिभुवन विश्वविद्यालय भित्रको बाटो हुँदै कीर्तिपुर जाने क्रममा। आँखा अस्पताल पछाडिको गर्ल्स होस्टलमा काम गर्ने दराइ प्राय हरेक साँझ त्यही बाटो हुँदै घर फर्कन्छिन्। होस्टलबाट सेवा आयोग अगाडिको आवासमा पुग्न करिव १० मिनेट लाग्छ। दायाँतर्फ ठूलो चौर छ भने वायाँतर्फ जंगल। कीर्तिपुर छिर्नेमध्यको एक प्रमुख बाटो भएकाले रातिसम्मै यदाकदा गाडी चलेका हुन्छन्। सधैँ हिँडिरहने बाटो उनी धक नमानी हिँड्छिन्। तर सधैँ एउटै हुँदैन उनको घर फर्काइ। कहिलेकाहिँ हुने जम्काभेटले उनको मन चिसो हुन्छ।

घरको आँगनमा झार उखेलिरहेकी उनले हातले इसारा गरेर भनिन्, ‘ऊ त्यहिँनेर हो, मैले चितुवा देखेको। एक्लै हिँडिरहेको थिएँ- एक्कासी अगाडिबाट बाटो काटेर गयो। ऊ त्यो सरस्वती मन्दिरतिर गयो। सेवा आयोग अगाडिको बाटो चितुवाले काट्दा उनले देखेकी थिइन्।

यहीँबाट हाम फालेर चितुवा शिवराम दराइको आवासभित्र छिरेको थियो। तस्बिरहरु: प्रभात खनाल

उखेलेको झारको माटो टक्टक्याउँदै मुसुक्क हाँस्दै उनले भनिन्, कस्तो सातो गयो। यही दिन भन्ने चाहिँ उनले बिर्सिसकेकी छन्।

सेवा आयोगको भवन सकिएर त्रिवि क्रिकेट मैदान नपुग्दै बीचमा दायाँतर्फ अलिकति जंगल छ भने वायाँतर्फ बाक्लो जंगल। डर त लाग्यो तर उनी अचम्मित चाहिँ भइनन्। पहिलो पटक देखेको थिएन उनले चितुवा। उनले त्यो आसपास देखिरहेकै थिइन् चितुवा यसअघि पनि। उनको घर वरपर आइरहन्छ चितुवा। करिव १० दिनअघि करिब ३ मिटर अग्लो जालीको पर्खाल नाघेर उनको घरभित्रको हाँस चितुवाले लिएर गयो। कुकुर घरभित्र भागेर बाँच्यो।

‘तीन वटा चितुवा छन्,’ उनले भनिन्, ‘एउटा सानो छ, दुईवटा ठूला छन्। सानो चितुवा घरको आसपास आइरहन्छ।’

उनका श्रीमान शिवराम दराइको पनि चितुवासँग धेरैपटक जम्काभेट भएको छ त्यो बाटोमा। त्रिभुवन विश्वविद्यालयका प्रोफेसरका गाडीचालक उनी राति अबेर घर फर्कँदा गाडीबाटै देखेका छन्। उनको परिवार विश्वविद्यालयभित्रको यो घरमा बस्न थालेको २० वर्ष भयो। उनका अनुसार यो क्षेत्रमा चितुवा देखिन थालेको सात वर्ष भयो। उनको आवास पछाडिको ठूलो खोल्सो घडीभवन अगाडिदेखि विश्वविद्यालयको डिनको कार्यालय अगाडिको नेपाल बैँक लिमिटेडको पछाडिसम्म छ। यहाँ नै चितुवाको चहलपहल हुने गर्छ।

विश्वविद्यालयका कर्मचारीहरुका अनुसार तीनभन्दा बढीको संख्यामा यहाँ चितुवा छन्। उनीहरुसँग कहिलेकाहिँ बच्चा पनि साथमा देखिने गरेका छन्। केही दिनको फरकमा दर्जनभन्दा बढी कुकुर यिनीहरुले मारिसकेका छन्।

दराइ भन्छन्- ‘सात वर्ष अघिसम्म यहाँ स्यालमात्र देखिन्थे, अहिले चितुवा देखिन थालेका छन्।’ उनले कालो, पाटे र फुस्रो सेतो चितुवा देखेका छन्। ती उनको आवास वरपर डुलिरहन्छन्।

दराइको परिवार मात्र हैन, त्यो आसपास काम गर्ने र बस्ने अधिकांशले चितुवा देखेका छन्  सेक्युरिटी गार्ड राजु आचार्य भन्छन्- रजिस्टार अफिसको क्यान्टिनमा चितुवा प्राय: आइरहन्छ। सोमबार पनि आएको थियो. कुकुर भुकेपछि भाग्यो। त्यो कुकुरभन्दा ठूलो थियो।

आइतबार मात्र सेवा आयोगमा ड्युटीमा रहेका राजुलाई आशीष मल्लिकले फोटो र भिडियो देखाए। यसमा बाटोको बिचमा र बाटोको छेउमा बसेको चितुवा थिए। त्यो मल्लिकले गाडीबाट खिचेका थिए। राजु भन्छन्, ‘पछिल्लो समय यहाँ चितुवा धेरै देखिन थालेका छन्।’

त्रिभुवन विश्वविद्यालयको करिव एक सय सन्ताउन्न हेक्टरजमिनमध्ये ठूलो भाग जंगलले ढाकेको छ। त्यही जंगलमा लुकेर आसपास आउने कुकर तथा गाईका बाच्छालाई उनीहरुले आहारा बनाउने गरेका छन्।

विश्वविद्यालयका कर्मचारीहरुका अनुसार तीनभन्दा बढीको संख्यामा यहाँ चितुवा छन्। उनीहरुसँग कहिलेकाहिँ बच्चा पनि साथमा देखिने गरेका छन्। केही दिनको फरकमा दर्जनभन्दा बढी कुकुर यिनीहरुले मारिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयको जंगल।

सेवा आयोगअगाडिको खोल्सालाई आधार बनाएर जंगल भएको सम्पूर्ण क्षेत्रमा उनीहरुले सिकार गर्ने गरेका छन्। ट्याङ्लाफाटदेखि बागमती किनारमा पर्ने नयाँबाटोसम्म आएर उनीहरुले सिकार गर्ने गरेका छन्। ‘डिस्टर्ब भयो भने बस्तीमा पनि छिरेको रेकर्ड छ,’ एक कर्मचारी भन्छन्।

कहिलेकाहिँ मात्र देखिने लकडाउनका कारण विश्वविद्यालय क्षेत्र सुनसान हुँदा हरेक दिनजस्तो देखिन थालेको छ। कमैले देख्ने चितुवा धेरैले देख्न थालेपछि हल्ला फैलिएको छ। स्थानीय त्रसित भएका छन्।

सोमबार नगरपालिकाका कर्मचारी तथा वन विभागका अधिकारीहरु आएर उक्त क्षेत्रको निरीक्षण गरेका थिए। नगरपलिकाले सतर्क रहन सूचना जारी गरेको छ। नगरपालिकाका एक कर्मचारीका अनुसार झाडी फाड्ने योजना नगरपालिकाको छ। उनले भने- पर्याप्त साधन नहुँदा र लकडाउनका कारण केही दिनमा काम सुरु गरिनेछ।

बाघ विशेषज्ञ चिरन पोख्रेलका अनुसार जबसम्म चितुवालाई सुरक्षित महसुस हुन्छ, तबसम्म डराउनु पर्दैन। ‘आफूलाई खतरा महसुस नभएसम्म उसले आक्रमण गर्दैन र आक्रमण नगरेसम्म हिंस्रक हुँदैन,’ उनले भने, ‘तर, एकपटक मानिसलाई आक्रमण गरेपछि भने डराउनु पर्ने हुन्छ। उसले दोहोर्‍याएर आक्रमण गर्नसक्छ।’

चितुवा हिँड्ने बाटो।

काठमाडौँको बाक्लो मानव बस्तीमा नै पटकपटक चितुवा भेटिएका छन्। उपत्यकाका वरिपरि बाक्लो जंगल छ। आहाराको कमी र त्यहाँ व्यवधान भएपछि चितुवा रातको समयमा लुकिछिपी शहर पस्ने गरेको पोख्रेलले बताए। कतिपय राति पसेर बिहान फर्कन्छन् भने केही भने उपत्यकाभित्रका पशुपति, त्रिभुवन विश्वविद्यालयजस्ता जंगलमा लुकेर बस्छन् जहाँ उनीहरुलाई लुक्ने ठाउँ मिल्नेसँगै आहारा पनि प्राप्त हुन्छ। त्यहाँ पनि व्यवधान भयो भने उनीहरु बस्तीमा छिर्न बाध्य हुन्छन्।

विश्वविद्यालय नजिकै चन्द्रागिरीको जंगल छ। करिव छ किलो मिटरको दुरीमा रहेको जंगलबाट चोभार हुँदै विश्वविद्यालयको जंगलसम्म उनीहरु सहजै आउन सक्छन्। पोख्रेलका अनुसार मानवबस्ती पातलो भएकाले उनीहरुलाई आउन सहज हुन्छ।

पोख्रेलका अनुसार विश्वविद्यालयका कर्मचारीले देखेको कालो चितुवा भनेको ब्ल्याक प्यान्थर हुनसक्छ। ‘तर प्यान्थर यहाँ आयो भन्ने पत्याउन मुस्किल पर्छ, आउँदैन भन्न चाहिँ सकिँदैन,’ उनले भने। केहीअघि शिवपुरीको जंगलमा प्यान्थर भेटिएको पोख्रेलले बताए। उनले भने, ‘यदि हो भने अचम्मकै कुरा हो, क्यामेरा ट्रयाक गरेर नहेरेसम्म पत्याउन मुस्किल पर्छ किनभने कतिपय अवस्थामा अरु चितुवा पनि प्यान्थर जस्तै देखिन्छन्।’

उपत्यकामा पर्ने शिवपुरी नागार्जुन आसपासका जंगलमा चितुवा पाइन्छन् जहाँबाट कहिलेकाहिँ पाहुना बनेर उनीहरु सहर पस्ने गरेका छन्।

बैशाख २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्