‘जनगायक’ जीवन शर्माको जीवनको रफ्तार

सोमबार साँझ पौने पाँच बजे गायक जीवन शर्माले फोनमा सुनाए, ‘गीत लेख्दै छु।’ उनको गीतको सन्दर्भ ‘कोरोनापछि देशको हालत के होला’ भन्ने छ। गीत लेख्ने सुर उनलाई फ्याट्ट आएको हो, ‘म त्यस्तो गीत लेख्न भनेर सोचेर बस्ने मानिस होइन, मनमा आयो लेखिहाल्छु। मन लागेन छोडिहाल्छु।’

लेखेको कुरालाई सम्पादन गर्ने, पुनर्लेखन गर्ने उनको स्वाभाव कहिले पनि भएन। जति आउँछ, सर्सर्ती लेख्यो छोडिदियो। आफ्नो बानी व्याख्या गर्दै उनी भन्छन्, ‘म अलि अराजक किसिमको छु, बजाउने, गाउने समय पनि निश्चित छैन। मै निश्चित समय भएको मानिस हैन। रुटिनमा बस्दिनँ। ’

लकडाउनले ४४ दिन नाघिसकेको छ, बाहिर वातावरण ठप्प छ। यो समयमा पनि उनी संगीत सिर्जनामा लागिरहेका छन्, गीत बनाइरहेका छन्, संगीत भरेर त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। उनी समय सान्दर्भिकतालाई पच्छ्याइरहेका छन्, परिस्थितिसँग अपडेट छन्, ‘अरुले कोरोना सम्बन्धी के–के गीत गाएका छन् भनेर सुन्ने गरेका छु।’

तीन साता अगाडि उनको व्यक्तिगत युट्यूब च्यानलमा ‘कोरोना गीत: ताजा खबर’ शीर्षकमा एउटा गीत सार्वजनिक भयो। यो गीत १८ हजारभन्दा धेरै पल्ट हेरिएको छ। त्यसपछि एक साता अगाडि ‘निकाल्यौ हिरा मोती’ गीत पनि युट्यूबमार्फत सार्वजनिक भएको छ। यी दुई गीतभन्दा अगाडि उनको ‘समयसँग सम्झौता’ बोलको गीत पनि सार्वजनिक भएको छ।

उनी आफ्नो गीतलाई यसरी व्याख्या गर्छन्, ‘समयसँग सम्झौता बोलको गीतले मानिसलाई साहस प्रदान गर्छ। अनि कोरोना सम्बन्धी ताजा खबर बोलको गीतको अभिप्राय चाहिँ मानिसको मनोबल बढाउने हो।’

उनको गीतले कोरोना लाग्ला भन्ने चिन्ता भएका र लागिसकेपछि मरिन्छ भन्ने पीर भएकाहरुलाई आशाको सन्देश दिएको छ। उनले गीतको व्याख्यामा भनेका छन्, ‘छिटै यो महामारीबाट मानवजाती मुक्त हुनेछ र स्वच्छ , सफासुन्दर विश्व उदाउने छ भन्ने विश्वासका साथ एकान्तबासमा कोठामा बसेको बेला निलिमा पुन र अनु आचार्यसमेत भएर तयार गरिएको अर्गानिक दृष्य सामग्री।’

उनीसँग भिडियोमा उनकी छोरी अनु शर्मा गीतार बजाउँदै देखिन्छिन्, बेलाबेलामा उनकी श्रीमती निलिमा। श्रीमतीको दिदीको छोरा विनय थापा पनि आउँछन्, बेलाबेलामा गीतार बजाउँछन्, भिडियो खिच्छन्, अनि भिडियो बनाइ पनि दिन्छन्। तर अहिले लकडाउनपछि जस्तो सकिन्छ, अलिअलि मिलाएर भिडियो अपलोड गर्ने गरेको शर्माले बताए।

तर उनले गीत संगीत सुरु गर्ने बेला अहिलेको भन्दा धेरै फरक थियो। ‘उ… बेलाको कथाजस्तै।’

‘२०३२ सालतिर गीत रेकर्ड गर्ने चलन कहाँ हुनु? मादल बजाउने, खैंजडी बजाउने गीत गाउने हिँड्ने। मैले भजन गाएको बजाएको सुनेर सिकेको हुँ। गाउँदै हिँड्दा सुन्नेले सुन्छन्, नसुन्नेले सुन्दैनन्’, शर्मा आफ्नो अतित सुनाउन थाले, ‘त्यो बेलामा रेडियो नेपालमा रत्न रेकर्डिङ संस्थान एउटा मात्र थियो, त्यसमा पहुँचवालाहरुले मात्र गीत रेकर्ड गराउन सक्थे। २०४६ सालपछि व्यक्तिगत संस्थाहरु खुले, गीतलाई क्यासेटमा भरेर बच्ने चलन आयो। त्यसपछि मात्र हामीले नागरिक समक्ष गीत लिएर जाने मौका पायौँ। अब फेरि अहिले आफ्नै घरमा रेकर्ड गर्ने, आफै उत्पादक, आफै वितरक भइयो। त्यसमाथि लकडाउनले आफै गायक, आफै कलाकार आफै टेक्निसियन बनाएको छ। यस्तो बेला आउला भन्ने कहाँ कल्पना गरिएको थियो त !’

आफूले बोलेको आवाज आफै सुन्न पाइन्छ, भर्खरै त्यो पनि दुरुस्तै भनेर सोच्नु कल्पना बाहिरको कुरा थियो शर्माको युवा अवस्थामा। उनी गीत गाउने बेलामा प्रविधि भन्ने कुरा थिएन, गीत उपलब्ध बाजाहरुमा गाउने चलन थियो, हार्मोनियम, मादल, पञ्चेबाजा, बाख्राको छालाले बनाएको खैजडी, मुजुरा, सारङ्गी, दमाहा, नौमती बाजाहरु हुन्थे। यसैमा मिलेको भाकाले उनलाई प्रभाव पर्‍यो।

सिक्ने भनेको पनि आफूभन्दा ठूलाहरुले भजन गाइरहेको खालमा बसेर हो। गीत सुन्ने र बुन्ने गरी उनी संगीतसँग नजिकिए। उनी आफैले बाँसलाई आँसीले प्वाल पारेर मुरली पनि बनाएका छन्। केही बाजाहरु उनलाई पनि बजाउन आउँछ। शर्मा भन्छन्, ‘काम चलाउ मात्र।’

६ मुरी कोदो बेचेर ल्याएको रेडियोसँगको सम्झना


शर्माका बुवाले एउटा रेडियो किनेर ल्याए, रेडियोको मूल्य ‘६ मुरी कोदो’ बराबर थियो। गाउँमा नै पहिलो रेडियो थियो त्यो। त्यसैले रेडियो सुन्न उनी मात्रै हैन पूरै गाउँकै कान ठाडा हुन्थे।

‘२०२५ सालतिरको कुरा हो, हामी गाउँभरी मै हिट भयौँँ, गाउँभरीका मान्छे ग्वाराम्मै घेरा हालेर बस्थे, रेडियोमा समाचार आउँदा पनि सबै जना ‘ए नबोल नबोल’ भन्थे’, शर्मा भन्न थाले, ‘बाबाले आकाशे बत्ती बाल्ने खम्बामा रेडियो अड्याएर गाउँभरी नै सुनिने गरी ठूलो पारेर खोल्नुहुन्थ्यो। रेडियो नेपालमा त्यतिखेर आधुनिक गीतहरु सुन्न थालियो, शास्त्रीय गीतहरु, हिन्दी गीतहरु बज्थे।’

गाउँमा कमाएको नाम


शर्मालाई विद्यालयमा गीत गाउन लगाइन्थ्यो। प्रतिस्पर्धामा उनी कहिले प्रथम त कहिले द्वितिय हुन्थे। ‘राम्रै गाउथेँ होला र त प्रतियोगिता जित्थेँ। तर मलाई थाहै नभई संगीतको एक किसिमको रस ममा बसिसकेको रहेछ’, शर्मा भन्छन्, ‘म भाउजु, काकाको अगाडि निर्धक्क गाउथेँ, विवाहमा जन्त जाँदा गाउने गर्थेँ, झ्याउरे भाका अझै ताजै छन्।’

‘स्कूलमा अथवा अन्य कुनै ठाउँमा मैले गीत गाउँदा विद्यार्थीहरु खुसी भएको मलाई थाहा छ, मैलै गीत गाउँदा धेरेको मुख उज्यालो भएको हुन्थ्यो। त्यो बेलामा शिक्षकको दवाबमा गीत गाइयो। कस्तो गाइयो, सुर ताल केही थाहा हुँदैनथ्यो’, शर्मा भन्छन्, ‘मेरा दुई दिदीहरु, दुई बहिनीहरु छन्, एक जना दाइ हुनुहुन्थ्यो। आमा दुई जना हुनुहुन्थ्यो। बाबा टाउकोमा ठूलो फेटा लगाएर हिड्नुहुन्थ्यो, गाउँमा दुईओटा घोडा थिए, पालैपालो चढ्नुहुन्थ्यो। दिदीबहिनीलाई थाहा हुन्थेन, बाबाले निकै ख्याल गर्नुहुन्थ्यो। आमाले कहिले पनि व्यक्त गर्नु भएन। यदी मैले पुरस्कार जितेको दिन घरमा मिठो खाना पाक्यो भने मैले आमा पनि खुसी हुनुहुन्छ भनेर बुझ्दा हुन्थ्यो।’

काठमाडौँ इन्जिनियर बन्न आएका थिए


शर्माको जन्म २०१६ मा भएको हो। उनी बाग्लुङबाट काठमाडौँ इन्जिनियर बन्न आएका थिए। पुल्चोक क्याम्पसमा पढ्दा पढ्दै उनी बाहिर बाहिर गीत गाउन हिँडे, त्यसपछि उनको इन्जिनियरिङको पढाई छुट्यो। गाउँ समाजका विभिन्न परिघटनाहरु, समस्याहरु कसरी हटाउने भन्ने सोच मनमा आइरहन्थ्यो। समाजमा भएको धनी र गरिबबीचको खाडल कसरी घटाउन सकिन्छ होला भन्ने सोच आउथ्यो उनलाई।

गीत संगीतलाई माध्यम बनाएर त्यस्ता विभेद अन्त्य गर्न सकिन्थ्यो की जस्तो लाग्थ्यो शर्माको मनमा। त्यसैले उनी गीत संगीतसँग अति नै नजिक थिए। उनका सिर्जनामा पनि नागरिकको पीडा र मर्मका कथा हुन्छन्। सामान्य नागरिकको व्यथाको चित्रण हुन्छ।

‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको,
उमेर भईसक्यो ८०, तैपनि दुखले घरेको’

यी र यी लगायत सयौँ गीतहरु जनभावनामा केन्द्रित छन्, गायक जीवन शर्माको नाम किसान, मजदुर, गरीबका गीत गाउने गायक भनेर स्थापित भएको छ। त्यसैले उनलाई जनवादी गायक भनेर चिनिन्छ।

अहिले उनको युट्यूबमा सार्वजनिक भएको गीत कोरोना प्रकोप सम्बन्धी छ, यसले पार्ने प्रभाव, यसको निराकरण के हुन्छ भन्नेमा उनलाई चिन्ता छ। सबैले आफ्नो आफ्नो ठाउँबाट सक्ने काम गरौँ भन्दै आग्रह गरिरहेका छन्।

सबै मानिस सुखी सम्पन्न बनुन् भन्ने उनको मनमा छ, गीतमार्फत सबैलाई उत्प्रेरणा दिने उनको प्रयास अझै अगाडि बढ्ने छ।

एउटा सम्पन्न शिक्षित परिवारमा हुर्केर बाग्लुङबाट काठमाडौँ आइपुगेका शर्माले शोषणको विद्रोहका लागि अरु माध्यम रोजेनन्, गीत संगीतमार्फत नै आवाज उठाइरहे। उनीसँग कलेजमा इन्जिनियरिङ पढ्नेहरु राम्रै काम गरिरहेका छन्।

उनी भन्छन्, ‘मरो स्वाभाव यही थियो, गीत संगीतको क्षेत्र मैले रोजेको ठाउँ हो, अरु बाटो छोडेँ, यही बाटोमा अगाडि लागिरहेँ।’

उनकाे यात्रा निरन्तर चलिरहेकै छ।

तस्बिरहरु : जीवन शर्माका फेसबुकबाट

बैशाख २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्