जलवायु परिवर्तन

‘विश्वका तीन अर्ब भन्दाबढी मानिस ‘बस्नै नमिल्ने तापक्रम’युक्त क्षेत्रमा बस्न बाध्य हुनेछन्’

विश्वका तीन अर्ब भन्दा बढी मानिसहरु अबको ५० वर्षमा ‘बस्नै नमिल्ने तापक्रम’ युत्तः क्षेत्रमा बसोबास गर्न बाध्य हुने वैज्ञानिकहरुले बताएका छन् ।

तापक्रम बृद्धिका सम्बन्धमा भएको नयाँ अनुसन्धान प्रतिवेदनमा सन् २०७० सम्ममा विश्वका तीन अर्ब भन्दा बढी मानिस तापक्रम धेरै भएका क्षेत्रमा बस्न बाध्य हुने उल्लेख छ ।

ग्रिन हाउस ग्यासको उत्सर्जन कम नगरिएमा विश्व जनसंख्याको ठूलो हिस्सा औषत तापक्रम २९ डिग्री सेल्सियस भन्दा बढी रहेको क्षेत्रमा बसोबास गर्न बाध्य हुने प्रतिवेशनमा उल्लेख गरिएको छ ।

अनुसन्धान प्रतिवेदनमा सहलेखक टिम लेन्टनले भनेका छन्, ‘यो अनुसन्धानले जलवायु परिवर्तनलाई मानवीय शर्त वा मानवीय पक्षसँग अधिक मात्रामा जोडेको आशा छ ।’

अनुसन्धानको क्रममा संयुक्त राष्ट्रसंघीय जनसंख्या नियोगको तथ्यांक र विश्वव्यापी रुपमा तापक्रम भइरहेको तापक्रम वृद्धि सम्बन्धी संयुक्त राष्ट्रसंघीय तथ्यांकको प्रयोग गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार सबै देशले पेरिस जलवायु सम्झौता अनुसारको वाचा पूरा गरे पनि विश्वको तापक्रम बृद्धि तीन डिग्री सेल्सियस हुने तर्फ नै रहेको छ ।

विश्वका मानिसहरु उस्तै खालको जलवायु युक्त क्षेत्रमा खुम्चिँदै गएको अध्ययन प्रतिवेदनले बताएको छ । हाल विश्वमा अधिकांश मानिसहरु औषत तापक्रम ११–१५ डिग्री सेल्सियस भएको क्षेत्रमा बसोबास गर्छन् ।

यस्तै जनसंख्याको सानो हिस्सा हाल औषत तापक्रम २०–२५ डिग्री सेल्सियस रहेको क्षेत्रमा बस्छन् । तर अबको ५० वर्षमा तापक्रम बढेर तीन अर्ब भन्दा बढी मानिसको बसोबास औषत तापक्रम २९ डिग्री भन्दा माथि रहेको क्षेत्रमा हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

विश्वको तापक्रम ३ तीन डिग्री भन्दा बढीले बृद्धि भएमा जनसंख्याको ठूलो हिस्सा ‘क्लाइमेट निस’ भन्दा बाहिर बस्न बाध्य हुने उल्लेख छ ।

सबै भन्दा बढी प्रभावित हुनेमा उत्तरी अस्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमेरिका र मध्य पूर्वका क्षेत्रहरु रहेको अनुसन्धानकर्ताले बताएका छन् । तापक्रम बृद्धिबाट सबैभन्दा बढी गरिब तथा कमजोर अर्थतन्त्र भएको क्षेत्रका बासिन्दा प्रभावित हुने चेतावनी दिइएको छ ।

बैशाख २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्