यसकारण कम भएको हुनसक्छ नेपालमा कोरोना भाइरसको प्रभाव

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को स्थिति र उपस्थिति सोचेभन्दा फरक हुन सक्छ। यो लेख तयार पार्दासम्म नेपालमा जम्मा ६९ जना कोरोना भाइरस संक्रमित पाइएका छन् भने तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसको पहिलो आधिकारिक रिपोर्ट चीनको वुहानमा गत वर्षको पुष १५ (डिसेम्बर ३१, २०१९) मा गरिएको थियो । नेपालमा पहिलो पटक चीनबाट आएका ३२ वर्षीय पुरुषमा गएको माघ १० गते कोरोना भाइरस पाइएको थियो । त्यसपछि २ महिनाभन्दा बढी अवधि अर्थात चैत २० सम्ममा जम्मा ६ जना कोरोनाभाइरस संक्रमित भेटिए । ती सबै विदेशबाट आएका थिए । यो भनेको नेपालमा कोरोनाभाइरसको उपस्थिति र फैलावट पहिलो चरणमै रहेको अवस्था थियो । अर्थात, पहिलो चरण भनेको विदेशबाटै संक्रमित भएर आएका तर नेपालभित्र अरुलाई नसरी सकेको अवस्था हो । गएको चैत २२ गते पहिलोपटक कैलालीमा एकजना ३४ वर्षीयस्थानीय महिलामा (जो विदेशबाट फर्केका होइनन्) मा कोरोनाभाइरसको संक्रमण पाइयो । तिनलाई विदेशबाट संक्रमित भएर आएका परिवारका सदस्यले भाइरस सारेको थियो । यो केसले नेपाल कोरोनाभाइरसको दोस्रो चरणमा प्रवेश गरेको जनायो । तथापि बाहिरबाट संक्रमित भएर आएकाहरुबाट घर परिवारमा कोरोनाभाइरस सारेका अरु केशहरु आइरहेका थिएनन् जुन राम्रो कुरा थियो ।

एक्कासी वैशाख ९ गते उदयपुरको भुल्केमा एकैचोटि १२ जना संक्रमित पाएपछि समुदायमा फैलिएको भन्ने देखियो। यो कोभिड–१९ को तेस्रो चरण हो। खुशीको कुरा, अझ यसलाई तेस्रो चरणको सुरुआती अवस्था मान्न सकिन्छ । किनकि त्यसपछि त्यही क्षेत्रमा अरु संक्रमित खासै धेरै भेटिएको छैन । तथापि वैशाख २१ गते आइतबार नेपालगञ्जमा एकैपटक ९ जनामा संक्रमण पुष्टि भएबाट स्थितिले नयाँ मोड लिएको छ । जे होस्, चौथो चरण अर्थात महामारीको रुपमा मुलुकका विभिन्न भागमा फैलिनेको त कल्पनै नगरौँ । यसको मतलब यो होइन कि हामी ढुक्क होऔं, केही चिन्ता लिनु पर्दैन र सावधानी अप्नाउनु पर्दैन। अहिलेको अवस्था भनेकै सावधानीको अवस्था हो। अरु केही देशको अवस्थामा पुग्यौँ भने सावधानीको कुनै अर्थ रहन्न । यो सबैको सामु छर्लङ्ग छ ।

सोचनीय र जटिल समस्या कहाँ देखिन आयो भने जति पनि विदेशबाट आएपछि क्वारेन्टीनमा बसेका वा नबसेका तर निर्धारित दुई हप्ताभन्दा बढी समय काटेर पनि कुनै लक्षण नदेखाएकाहरु जोजो र्‍यापिड टेस्टका लागि गए तीमध्ये केहीमा कोराना पोजिटिभ देखियो। यसरी र्‍यापिड टेस्टमा पोजिटिभ आएका एउटै परिवारका ३ जनामध्ये २ जनामा मात्र पिसिआर पोसिटिभ देखियो। भयो के भने आमा र छोरा पोजेटिभ, बुहारी नेगेटिभ । यसको अर्थ तीनैजना संक्रमित हुन् । तीमध्ये आमा र छोरामा भाइरस बाँकी छन् र बुहारीमा भाइरस बाँकी छैन, एन्टिबडी मात्र बाँकी छ भन्ने नै हो ।

हामी सर्वसाधारणले बुझ्नुपर्ने कुरा के छ भने यो कोभिड–१९ (सार्स–कोभ–२, जसलाई शुरुमा २०१९–एनकोभ नाम दिइएको थियो) रोगको सामान्यतया तीनवटा अवस्था हुन्छन् । पहिलो, भाइरसले आक्रमण गरेको शुरुको अवस्था । दोस्रो, भाइरस बढेर रोगले च्यापेको वा मध्य अवस्था । तेस्रो, रोग निको भएको वा अन्तिम अवस्था । अर्को बुझ्नुपर्ने कुरा के हो भने, हाल कोरोनाभाइरस टेस्ट गर्ने प्रविधि दुइटा छन् – पिसिआर (पोलिमरेज चेन रियाक्सन) र आरडिटी (र्‍यापिड डायगोन्स्टिक टेस्ट)। पिसिआर भाइरसको जिनमा आधारित हुन्छ। भाइरसको खास जिनको टुक्रालाई पिसिआरको प्रक्रियाबाट लाखौँको संख्यामा वृद्धि गरेर त्यसको पहिचान गरिन्छ। र्‍यापिड टेस्ट रोगका भाइरससँग जुध्न मानिसको शरीरले उत्पादन गर्ने प्रोटीनमा आधारित हुन्छ ।

कुनै माध्यमबाट कोरोना भाइरसले मानिसको शरीरसँग सम्पर्कमा आएर आक्रमण गरेपछि कोभिड–१९ रोग लाग्न शुरु हुन्छ। भाइरसले आक्रमण गरेपछि मानिसको शरीरले त्यसको विरुद्ध एन्टिबडी उत्पादन गर्छ। यी धेरै किसिमका हुन्छन् । मुख्य चाहिँ दुई किसिमका हुन्छन्– आइजिएम (इम्युनोग्लोबुलिन एम) र आइजिजि (इम्युनोग्लोबुलिन जि) । शुरुमा आइजिएम उत्पादन हुन्छ र पछि आइजिजि । तर, भाइरसले आक्रमण गरेपछि एन्टिबडी उत्पादन हुन समय लाग्छ। शरीरले जति चाँडो यी एन्टिबडी उत्पादन गर्न सक्यो त्यति नै चाँडै रोग निको हुन सक्छ। यो मानिसको रोग प्रतिरोधात्मक शक्ति (रेसिस्टान्स∕इम्युनिटी पावर) मा भरपर्छ।

सायद, हामी नेपालीमा इम्युनिटी पावर पनि अलि बढी छ कि भन्ने पनि लाग्छ । अहिलेसम्म संक्रमित पाइएका कसैलाई पनि रोगले च्यापेको छैन । तीमध्ये १६ जना निको भइसकेका छन् । यसो भनिरहँदा विदेशमा अहिलेसम्म ७३ जना नेपालीहरुको कोरोनाभाइरसबाट मृत्यु भइसकेको बिर्सन हुन्न । यसको अर्थ नेपालीमा इम्युनिटी पावर छ भन्ने गलत हो । नेपालमा च्यापेको छैन, किनकि यहाँको वातावरणले रोगलाई साथ नदिएको हुन सक्छ । तर जुन हिसाबले नेपालभित्रै एकबाट अर्कोमा यो भाइरस सरेको पाइएको छ, त्यसले स्पष्ट गर्छ किे नेपालको हालको मौसम (त्यसमा पनि नेपालगञ्जको गर्मी) मा पनि यो भाइरस क्रियाशील छ ।

रोगले च्याप्न तीनवटा अवस्थाको जरुरी पर्दछ । (१) रोगको जीवाणु वा कारक, जस्तै कोरोनाभाइरस । रोगाउनमा त्यसको संख्या∕मात्रा र सशक्तता पर्याप्त हुनुपर्छ ।

(२) रोगाउने जीव (होस्ट), जस्तै मानिस । मैले होस्टलाई नेपालीमा जजमान भन्ने गरेको छु । मानिसमा रोग सहने वा प्रतिरोधात्मक क्षमता न्यून हुनुपर्छ।

(३) रोगाउने बातावरण, जस्तै नेपालको मौसम, नेपालीको जीवनशैली, बानी व्यहोरा आदि रोगाउन उपयुक्त हुनुपर्छ । यी तीन अवस्थाहरुमध्ये कुनै एकको उपस्थिति कमजोर वा प्रतिकूल रह्यो भने रोगले च्याप्न सक्दैन ।

यद्यपि, अहिलेसम्म जुन हिसाबले यो कोरोनाभाइरसबाट तुलनात्मकरुपमा विकसित मुलकका मानिसहरु बढी प्रभावित भएका छन् त्यसमा मेरो अलि बेग्लै धारणा रहँदै आएको छ । अविकसित र विकासशील मुलुकका मानिसहरु सरसफाई तथा सफा खाना, पानी र वातावरणबाट धेरै हदसम्म बञ्चित छन्। जसले गर्दा ती मुलुकका बासिन्दाहरु विभिन्न रोगजन्य तत्वहरुसँग लगातार संसर्गमा रहेका हुन्छन् ।

त्यसले गर्दा मानिसको शरीरमा कुनै एक हदसम्म रोग सहन सक्ने क्षमताको विकास भएको हुन्छ। त्यसको ठिक उल्टो विकसित मुलुकका बासिन्दाहरुमा त्यो क्षमता कमै हुन्छ, किनकि तिनले त्यस्ता रोगका तत्वहरुसँग खासै जुध्न परेको हुन्न। त्यही कारणले गर्दा पनि अहिले युरोप, अमेरिकामा कोरोना भाइरसले बढी च्यापेको हो कि ! यसको अर्थ फोहर वातावरण सुरक्षित भन्ने नलागोस् । खैर, म विषयभन्दा अलि बाहिर गएँ ।

अविकसित र विकासशील मुलुकका मानिसहरु सरसफाई तथा सफा खाना, पानी र वातावरणबाट धेरै हदसम्म बञ्चित छन्। जसले गर्दा ती मुलुकका बासिन्दाहरु विभिन्न रोगजन्य तत्वहरुसँग लगातार संसर्गमा रहेका हुन्छन् । त्यसले गर्दा मानिसको शरीरमा कुनै एक हदसम्म रोग सहन सक्ने क्षमताको विकास भएको हुन्छ।

माथि उल्लेखित टेस्टहरुमा पिसिआरले भाइरस छ कि छैन भनेर पत्ता लगाउँछ । किनकि यो सिधै भाइरसको जिनसँग सम्बन्धित छ । यो टेस्ट ज्यादै संवेदशील हुन्छ र भाइरस लाग्न भर्खरै शुरु भएको छ भने पनि यसले पोजिटिभ देखाइहाल्छ । यो टेस्टले शरीरमा भाइरस अलि–अलि बाँकी रहेसम्म पोजिटिभ देखाउँछ । रोग अन्तिम चरणमा अर्थात शरीरबाट भाइरस निख्रिसकेको छ भने यसले नेगेटिभ देखाउँछ। त्यसैले पिसिआर नेगेटिभको अर्थ दुइटा लाग्छ । रोगै नलागेको वा रोग लागेर निको भइसकेको ।किनकि रोगको अन्तिम चरणमा भाइरस सकेर निको भइसकेको हुन्छ र एन्टिबडी मात्रै बाँकी रहन्छ।

र्‍यपिड टेस्टले भाइरस छ कि छैन भनेर पत्ता लगाउँदैन। यसले भाइरसको कारण शरीरले उत्पादन गर्ने एन्टिबडी छ कि छैन भनेर मात्र देखाउँछ। त्यसैले एन्टिबडी उत्पादन नभइसकेको शुरुको चरणमा यो टेस्टले काम गर्दैन । अर्थात भाइरसले आक्रमण गरिसकेको छ भने पनि नेगेटिभ देखाउँछ। अर्को कुरा, भाइरस सकेर रोग निको भइसकेपछि पनि एन्टिबडी शरीरमा बाँकी रहन सक्छ । यो मानिसको शरीरमा भरपर्छ । कसैकोमा चाँडै बिलाउँछ, कसैकोमा महिनौं बस्न सक्छ । त्यो एन्टिबडी शरीरमा भएसम्मभाइरस लागेर निको भइसकेकामा पनि र्‍यापिड टेस्टले पोजिटिभ देखाउँछ। तसर्थ, र्‍यापिड टेस्ट पोजिटिभ आउनु भनेको रोग छ वा रोग थियो भन्ने दुबै जनाउँछ ।

त्यसैले भर्खरै लाग्न शुरु भएको अवस्थामा बाहेक रोग लागेको छ छैन परीक्षण गर्न, कतिलाई लागेको छ सर्वेक्षण गर्न सामान्यतया र्‍यापिड टेस्ट गर्दा पुग्छ। नामै र्‍यापिड, यसको उद्देश्य नै त्यही हो । टेस्ट किटचाहिँ गुणस्तरीय अर्थात भरपर्दो हुनैपर्छ। कमिसन र बढी नाफा खाने चक्करमा नक्कली वा कमसल पर्‍यो  भने बर्बाद हुन्छ । त्यसमा पनि टेस्ट किट कुनचाहिँ एन्टिबडीमा आधारित छ भन्ने हुन्छ। तर सामान्यतया: उपलब्ध टेस्ट किटले आइजिएम र आइजिजि दुबै पत्ता लगाउने हुन्छन् । तथापि अहिले आएर  र्‍यापिड टेस्टको विश्वसनियतामा एउटा समस्या देखिएको छ । भारतमा त अहिले र्‍यापिड टेस्ट रोकिएको समाचार छ । यो कोरोनाभाइरस नयाँ भएको हुनाले यसबारे धेरै जानकारी छैन र अध्ययन अनुसन्धान हुन बाँकी नै छ । जे जति जानकारी छ त्यसको आधारमा बनेका र्‍यापिड टेस्ट किटमा कमीकमजोरी हुनु स्वभाविकै हो ।

मुख्य कुरा, रोग निको भइसकेको छ कि छैन अर्थात भाइरस बाँकी छ कि छैन हेर्न पिसिआर नै गर्नुपर्छ। यो महँगो छ। प्राइमर महँगो हुन्छ । पिसिआर मेसिन महँगो छ । पछि भाइरस (एन्टिजेन) मा आधारित टेस्ट जस्तै इलाइजा (इन्जाइम लिंक्ड इम्युनोसर्बेन्ट एस्से) प्रविधि उपलब्ध भयो भने अलि सस्तो पर्छ। एकै पटक धेरै नमूनाहरु परीक्षण गर्न सकिन्छ । तर यसले अलि बढी समय लिन्छ । पिसिआरले ३∕४ घण्टामा नतिजा दिन्छ भने इलाइजाले१४∕१५ घण्टा लाग्छ । मानिस तथा पशुपन्छीमा र बाली बिरुवामा लाग्ने अरु भाइरसलगायतका रोगहरुको लागि इलाइजा प्रविधि उपलब्ध छन् । बाली विरुवामा लाग्ने भाइरस रोगहरु पहिचान गर्न हाम्रो प्रयोगशालामा म आफैँले इलाइजा गर्ने र सिकाउने गरेको छु ।

भारतमा संक्रमितको संख्या बढिरहेको छ । त्यसको साथसाथै मृत्यु हुनेहरुको संख्या पनि दिनदिनै बढ्दैछ । यो लेख तयार गर्दासम्म संक्रमितको संख्या ४० हजार र मृत्यु हुनेहरुको संख्या १३ सय नाघिसकेको छ । नेपाल र भारतबीच सीमा खुल्ला छ। आवतजावत हुने सबैभन्दा बढी त्यहीँबाट हो। त्यस्तै हवाइमार्ग खुलेपछि अन्य मुलुकबाट पनि आउँछन् नै। यसरी आउने सबैलाई अनिबार्य क्वारन्टीनमा राखेर शुरुमा एकपटक र रोगको लक्षण नदेखाए पनि तिनलाई छोड्नुअघि दोस्रो टेस्ट अनिवार्य गर्नुपर्ने हुन्छ । त्यसरी टेस्ट गर्दा पोजिटिभ पाइएकाहरुलाई आइसोलेसन वा अस्पताल भर्ना गरि पिसिआर टेस्ट गर्नुपर्छ। पिसिआरमा पनि पोजिटिभ आए नेगेटिभ नआएसम्म छोड्नु भएन। किनकि पिसिआर नेगेटिभ आएपछि बल्ल भाइरस निख्रियो भन्ने पक्का हुन्छ । यसको अतिरिक्त अहिलेसम्म पाइएका र देखिएका जोखिमयुक्त ठाउँ र क्षेत्र–विशेषमा परीक्षणको दायरा बढाउनुपर्छ ।

यसरी यो रोगसँग लड्न अनिवार्य क्वारन्टीन, आइसोलेसन र कोरोना अस्पतालको जरुरी तबसम्म आवश्यक पर्छ जबसम्म यसको विरुद्ध खोप र औषधि उपलब्ध हुँदैन। खोप चाँडै उपलब्ध हुने आशा गर्न सकिन्छ । खासगरी चीन र अमेरिका, जर्मनी, बेलायतलगायतका देशमा यसको लागि भरमग्दुर प्रयास भइरहेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको टोलीले गएको ३ महिनामा बनाएको खोप युरोपमै पहिलो पटक मानिसमा परीक्षण शुरु भइसकेको छ । खासमा को पहिला हुने भनेर होड चलिरहेको छ । किनकि जो पहिला भयो उसले थुप्रै पैसा कमाउने छ । चीनमा कुनै खोप पहिलो चरणको परीक्षणमा सफल भएर दोस्रो चरणको परीक्षण गइसकेको समाचार पनि आएको छ । अपुष्ट समाचारअनुसार त चीनले कोरोनाभाइरसको प्रकोपलाई कम गर्न सफल हुनुमा परम्परागत औषधि (ट्रेडिसनल मेडिसिन) को सफल प्रयोग पनि मुख्य हो भनिन्छ । नेपालमा पनि यसको संभावना धेरै छ । भर्खरै अमेरिकामा इबोलाभाइरसको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ औषधि कोरोनाभाइरसको उपचारका लागि सिफारिस गरिएको छ । यो औषधि सेवन गराउँदा बिरामी चाँडै निको भएको पाइयो । सही खोप र औषधि उपलब्ध भएपछि त यो कोरोना अरु सामान्य रुघाखोकी सरह बनिहाल्छ।

बैशाख २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्