भूमेस्थानमा पूजा आराधना गरी उँभौली पर्व मनाईँदै

फाइल तस्बिर

काठमाडौँ – हरेक वर्ष किराँत–राई समुदायले मनाउने उँभौली पर्व बिहीबार देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमाबाट चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेसी झरेका मानिस बिहीबारदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले बताए । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यस कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बिच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महिनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधि मात्र पूरा गर्ने तयारी गरिएको हो । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् ।

यसैबिच राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका सांस्कृतिक पर्वले प्रकृति र वातावरणको संरक्षण गर्दै दीगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नाका साथै हाम्रो देशको सांस्कृतिक विविधतालाई कायम राखी समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पु–याउँछ भन्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्