१३ झेन प्रसंगहरु

झेन (जेन) का कोआनहरुमा अर्थ खोज्नु समयको बर्बादी मात्रै हो। नदीको सरीताको ध्वनिलाई भाषामा व्यक्त कसरी गर्ने? झेन-कोआनले हम्मरको काम गर्छ र मस्तिष्कमा ठोक्छन्। झनझनाहट पैदा गर्छन्। वोध प्राप्त गरियो भने बिजुली-पानी (बिजुलीपानी ?!!) को बिलको टुक्रा पनि झेन-कोआन हुनसक्छ। जुनसुकै गीतहरु पनि, आकाशको गड्याङगुडुङ पनि भजन र प्रार्थना हुनसक्छ ।

आज त झरी परिरहेको छ । हुनसक्छ, हिजोको जस्तो नीलो आकाश र सेता वादलहरु देखेपछि नै नागार्जूनमा ‘शून्य’ को वोध भएको। बलेसीमा खसिरहेका थोपाहरु मधूर संगीतको गुञ्जाहट मानसपटलको पर्दामा ठोक्किरहेको र भित्र गहिराइमा नि:शब्दता छाइरहेको।

यसैबीच केही झेन-कोआनहरुको याद आयो। आज बुद्धजयन्ती हो । र,चण्डीपूर्णिमा पनि।

(१)

एउटा केटो ध्यानपछि गुरूकहाँ गयो, “गुरू! आज बडो सकस भयो, खुट्टा कटकटी खाइरहेछ। ढाड दुखिरहेछ।”

गुरू –”ठिकै छ । यो जानेछ ।”

केटो केही दिनपछि फेरि गुरूकहाँ पुग्यो । “गुरू ! मनमाआनन्द छाउन थाल्यो ।”

गुरू – ” ठिकै छ । यो पनि जानेछ । ”

(२)

एक भिक्षुले सोधे, “निर्वाण प्राप्त योगी संसारमा कसरी फर्कन्छ ?”

योगी, ” फुटेको ऐनाले प्रतिबिम्व देखाउन सक्दैन । खसेको फूल फेरि हाँगामा फर्कन सक्दैन ।”

(३)

जन्मनुभन्दा अघि तिम्रो वास्तविक अनुहार के थियो ?

(४)

एक हातले ताली बज्छ ? यदि बज्छ भने यसको ध्वनि कस्तो हुन्छ ?

(५)

एकदिन बन्जन बजार घुमिरहेको बेला उसको कानमा एक आवाज ठोक्कियो । एकजना मासुपसलमा भनिरहेको थियो, “मलाई सबैभन्दा राम्रो मासु देऊ ।” मासु पसलेले भन्यो, “तपाइँ यहाँ त्यस्तो एक टुक्रा पनि पाउनुहुन्न, जुन नराम्रो होस् ।” बञ्जनले वोध प्राप्त गर्‍यो ।

(६)

एकदिन मञ्जुश्री ठोकाबाहिरै उभ्भिइहेको देखेपछि बुद्धले बोलाउनुभयो, ‘मञ्जुश्री! भित्रै आऊ न। किन बाहिरै बसिरहेको?”

मञ्जुश्री, “आज मैले आफूलाई बाहिर पाएकै छैन । म भित्र किन आऊँ?”

(७)

झरी परिरहेको थियो, आजको जस्तै असिनापानी पनि। छानो चुहिरहेको थियो । झेनगुरूले दुई भिक्षुलाई पानी थाप्न केही ल्याऊ भनेर अह्राए। एउटाले बाल्टिन ल्यायो र अर्कोले डोको । बाल्टिन ल्याउनेले झपार खायो, अर्कोले स्याब्बासी पायो।

(८)

चेलो बाहिर पिँढीमा बसिरहेको थियो । गुरूले सोधे कि घर किन नगएको । चेलोले जवाफ दियो, अँध्यारो छ । गुरूले मैनबत्ती बालेर दिए । चेलोले हातमा जसै समायो, गुरूले फुकेर निभाइदिए । चेलोले वोध प्राप्त गर्‍यो, गुरूको पाऊमा ढोग्यो ।

(९)

हावाको रंग कस्तो हुन्छ ?

(१०)

झेनगुरू ढलौटको ढिक्का जोखिरहेका थिए । चेलो नजिकै आइपुग्यो । सोध्यो, ” बुद्धत्व के हो?”

गुरु, ” यो ढलौटको ढिक्का १५ किलोको छ । ”

(११)

गुम्बाको माथि फर्फराइहेको झण्डा देखेर दुई चेला विवाद गर्दै थिए ।

एउटा – ” झण्डा हल्लिरहेको छ ।”

अर्को – ” हावा हल्लिरहेको छ ।”

विवाद थामिएन । बीचमा गुरू आइपुगे ।

गुरू – ” न त झण्डा हल्लिरहेको छ, न त हावा नै । केवल तिमीहरुको मन हल्लिरहेको छ ।”

(१२)

एक वयस्क र एक जवान चेला गुम्बातिर फर्कदै थिए । ठूलो पानी परेर रोकिएकोले खोलो बढेको थियो । एउटी सुन्दरी खोला तर्न नसकेर सहयोग मागिरहेकी थिई । वयस्कले मद्दत गर्नेबारे विचार गर्‍यो । तर रोक्कियो । सोच्यो, “यदि मैले यति सुन्दरी केटीलाई छोएँ भने मेरो शील पालना भङ्ग हुनेछ । यो केटोले गुम्बामा गुरू सामुन्ने गएर भनिदिनेछ र मेरो अन्य चेलाहरुको अगाडि मेरो बेइज्जत हुनेछ । म मुख देखाउन लायक रहने छैन ।”

त्यो चेलो धर्मरायो । अर्को जवान केटो अघि सर्‍यो । चुपचाप च्याप्प समातेर काँधमा हाल्यो र खोलोपारी छाडिदियो । बाटोमा वयस्कले भन्यो, ” तैँले शील भङ्ग गरिस् । म गुरूलाई भनिदिनेछु । तैले सजाय पाउँनेछस् । ”

जवान – ” अरे ! कुन केटीको कुरा गरेको ? त्यसलाई त मैले नदीको किनारमै छोडिसकेँ । तपाइँ त अझै दिमागमै बोकेर हिँडिरहनु भएको रहेछ ।”

(१३)

झेनगुरूले चेलाहरुलाई भने, “यदि कसैले मरो हत्त्या गरिहाल्यो भने त्यसको बदला तिमीहरु चेलाहरुले लिनु पर्दछ, उसको पनि हत्त्या गरिदिनुपर्छ । तर तिमीहरुले उसको हत्त्या गर्दा पूर्ण होशमा रहेर मात्र गर्नू । यदि वेहोशीमा गर्‍यौ भने पाप लाग्नेछ ।”

केहि महिनापछि एउटा शत्रुले गुरूको हत्त्या गरेर भाग्यो । त्यसको बदला लिन चेलाहरुले त्यसलाई खोजिरहे । एकदिन एउटा चेलोले देख्यो र भाला लिई लखेटिरह्यो । एउटा गुफै झगाडि पुगेपछि त्यो शत्रु थाकेर लड्यो । चेलोले भाला ताकेर धारिलो टुप्पो उसको छातीमा पुर्याइसकेको थियो । भाला तानेर आफैतिर खिच्यो । शत्रु अचम्ममा पर्‍यो र सोध्यो, ” तैंले चाहेको भए मेरो ज्यान लिन सक्थिस् तर छोडिस् किन ?”

चेलोले भन्यो, ” मेरो गुरूले मार्नै परेपनि होशमा मात्र मार्नू भन्ने आदेश दिनुभएको छ । भाला ताक्दा सम्म म पूर्ण होशमा थिएँ । टुप्पोले छातीमा छुनै लाग्दा मलाई क्रोधले घेर्‍यो र वेहोशीले समातिहाल्यो ।  अहिले तँ बाँचिस् जा । कुनैदिन म तलाइँ होशपूर्वर्क मार्नेछु । ”

प्रस्तुति: रविन्द्र आनन्द

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्