बुद्ध दर्शन कुनै बोझ होइन, एक जीवन पद्धति

मानिसका दुःख पनि अनेक हुन्छन्। सुख र दुःखको परिभाषा पनि विचित्रकै छ। हुन त आइन्स्टिनपछि सबै कुरा सापेक्ष हुन् भनी पाएको उधारो ज्ञानको दम्भले मानिसलाई स्वयंको बोध र चेतको प्रयोग गर्न दिन्न। उधारो लिएको धनले मात्रै सकस दिने होइन, उधारो ज्ञानले पनि व्यक्तिको चरित्र र व्यक्तित्वमा हीनता एवं परनिर्भरताको छनक दिइरहन्छ।

सुख-दुःख सापेक्ष हुन् भनी संसारका कति जना प्राणीले यीप्रति समभाव राख्न सक्छन्? उपदेश दिने कुरामा त जो पनि अत्यन्त प्रवीण हुन्छ तर त्यही परिस्थिति आफूमाथि आइपर्दा उधारो ज्ञान र कुनै श्रमबिना अर्जिएको संयम आवरण छताछुल्ल हुन्छ।

बुद्ध भन्नु हुन्छ, संसार दुखमय छ। उहाँको अनुभवमा सापेक्षता महत्व राख्दैन। सुख र दुःख व्यावहारिकजन्य परिस्थिति हुन्। कुनै परिस्थितिलाई सुख भन्न मस्तिष्क प्रशिक्षित भएको छ र कुनै परिस्थितिलाई दुःख उद्घोष गर्ने प्रशिक्षण पाएको छ मस्तिष्कले। बुद्ध परिस्थिति केलाएर सुखवर्ग र दुःखवर्ग छुट्याउनमा अभिरुचि राख्नु हुन्न।

उहाँ समग्र र मूलको निरूपण गर्नुहुन्छ। सबै परिस्थितिको मूल अर्थात संसार, छोटकरीमा जन्म नै दुःख हो भन्ने निष्कर्षमा पुग्छ उहाँको बुद्धचेतना। सुख र दुःखको अभावमा होइन, दुबै परिस्थितिको गहन र व्यापक भोगाई उपरान्त प्राप्त निष्पत्ति हो बुद्धको र यस्ता निष्पत्ति मूल सिद्धान्त ( म्याट्रिक्स ) हुन्छन्।

सिद्धान्तलाई आत्मसात गर्न बुद्धचेत नै चाहिन्छ, यसभन्दा निम्नतर चेत ( जुनसुकै स्तरको भए पनि ) सिद्धांतको व्याख्या/अपव्याख्या, समर्थन/विरोध गर्नमै सम्पूर्ण ऊर्जा निवेश गरिरहेका हुन्छन्।

सिद्धान्तलाई बारम्बार सिद्ध गर्ने आवश्यकता पर्दैन। सिद्धान्त सार्वभौम हुन्छ र जुन सार्वभौम छैन त्यो सिद्धान्त (म्याट्रिक्स) नै होइन। सिद्धान्त सबैले अनावरण गरिरहनु पर्दैन।

हामी सबैलाई थाहा छ कणमा (एटम) आकर्षण शक्ति हुन्छ, प्रत्येक कणले अर्को कणलाई आकर्षित गरिरहेको (आफूतिर तानिरहेको) हुन्छ। कणहरुको महासंयोजन पृथ्वीमा ( अन्य ग्रह ,नक्षत्र /पिण्डमा पनि) कणहरुको यही शक्ति गुरुत्वाकर्षणका रूपमा घनीभूत हुन्छ। पृथ्वीको मात्रै होइन, सम्पूर्ण ब्रह्माण्डमै कति अणु छन् भन्ने अनुमानित हिसाब आधुनिक विज्ञानले सम्पन्न गरिसकेको छ। अणुको संरचना ज्ञान पनि आधुनिक विज्ञानको संज्ञानमा आइसकेको छ। अणुलाई ऊर्जामा रूपान्तरित गर्ने कला-कौशल पनि विज्ञानले हात पारिसकेको छ। बुद्धको समयमा यो ज्ञान प्रकट थियो कि थिएन भन्नेबारे केही भन्न सकिदैँन। तर बुद्ध मात्रै होइन, शंकराचार्य र उपनिषद्का तमाम ऋषिका आप्त वचन पढ्दा स्पष्ट हुन्छ- स्पष्ट शब्दमा अभिव्यक्त गर्न नसके पनि यी सबै जनालाई अणुको रहस्यधर्मिताबारे थाहा थियो। ‘ब्रह्म सत्यम जगत मिथ्या’, ‘जोई पिंड सोइ ब्रह्माण्डे’ भन्ने अभिव्यक्ति प्रेमिकाको मुखको तुलना चन्द्रमासँग गरे जस्तो क्षणिक र सतही कुरा होइन।

कणमा आकर्षण शक्ति छ। कणहरुको महामिलनले संयोजित पृथ्वीमा गुरुत्वाकर्षण शक्ति छ यो तथ्य (म्याट्रिक्स) कुनै एक जनाले अनावृत गरे पुग्छ। पृथ्वीका प्रत्येक मानिसले गुरुत्वाकर्षण सिद्धांतको ‘स्माल जी’ र ‘क्यापिटल जी’ को विवेचना गरिरहनु पर्दैन। गुरुत्वाकर्षण सार्वभौम सिद्धान्त हो। ब्रह्माण्डमा जहाँ पनि कण अथवा पिण्ड छन्, त्यहाँ यो शक्ति कार्यरत छ र जहाँ कणको पूर्ण अभाव छ त्यहाँ पनि ‘ग्रेभिटेशनल फ़ोर्स’ रुपी लहरको रूपमा यसको उपस्थिति छ।

बुद्धको अभिव्यक्ति दुःख छ, काव्यात्मक अथवा दार्शनिक विवेचन होइन, बुद्धले बुझेको जगतसार (म्याट्रिक्स) हो। गुरुत्वाकर्षणझैँ यो ब्रह्माण्डभरि व्याप्त छ। मानिस जसलाई सुख भन्छन्, त्यो गुरुत्वाकर्षणको क्षीण अवस्था अथवा परिस्थिति हो। मूलतः जसरी कुनै बिन्दुमा दुइवटा पिण्डका परस्पर विरोधी गुरुत्वाकर्षण शक्तिले एक अर्काको शक्तिलाइ निष्प्रभावी बनाउँछन्। यस्तो बिन्दुमा कुनै पनि पिण्डको गुरुत्वाकर्षण प्रभावी हुन पाउँदैन। सुख पनि त्यस्तै दुई समान दुःखको मध्यावस्था हो। वास्तवमा सुख भनिने त्यो अवस्था दुई दुःख मध्ये को ‘दुःखको सामर्थ्यहीन’ अवस्था हो, जसलाई अज्ञानीजनले सुख ठान्छन् तर बुद्धचेतका लागि यो फगत दुःखको गौणअवस्था हो। बुद्धका लागि सुखको अस्तित्व नै छैन।

अध्यात्म ‘स्ट्रिंग थ्योरी’ हो ,बुद्ध ‘क्वांटम लेभल’का अन्वेषक हुन्। भनौँ आधुनिक नील बोर, म्याक्स प्लान्क। बुद्ध विषयक लेख्न एक जीवन नै पर्याप्त हुन्न,एउटा लेखमा के नै लेख्न सकिन्छ। ओशोले कतै भनेका छन् अहिलेसम्मको विश्वमा बुद्धको त्यति बढी उपयोगिता छैन तर जसरी जसरी हामी समय चक्रमा गति गर्दै अगाडि बढ्छौँ, बुद्धको उपयोगिता बढ्दै जान्छ।

”बुद्ध” धर्म, दर्शन वा शास्त्रीय बोझ होइनन्, जीवन पद्धति हुन्। सम्यक अनुसरण गरे जो कोहीको जीवनमा बुद्धसँग घटित भएको  ‘त्यो दुर्लभ आकस्मिकता’ घटित हुनसक्छ। बुद्धले आफ्नो जीवनकालमा सम्यक भन्ने शब्द अति नै प्रयोग गर्नु भयो किनकि उहाँलाई ‘होमो सेपियन्स’ को स्वभाव र प्रवृतिबारे गहिरो समझ थियो। यो प्राणी एउटा अतिबाट अर्को अतिमा सुगमता साथ जान त सक्छ तर दुई गुरुत्वाकर्षण (दुःख) मध्यमा यसलाई टिक्न गाह्रो हुन्छ। यो विदित भएर नै उहाँले सम्यक र माध्यमकारिताको आजन्म प्रचार गरिरहनु भयो।

फुर्सद, ‘मुड’ र जाँगर चालेको खण्डमा कुनै दिन ‘एन्ट्रोपी’ र भगवद गीताको पुरुषोत्तम योग नामक १५ औँ अध्यायको पहिलो श्लोक-

ऊर्ध्वमूलमधः शाखमश्वत्थं प्राहुरव्ययम्‌।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्‌ ।।
बीचको सामञ्जस्यबारे लेख्ने छु। पतन विश्वको स्वभाव हो। कृष्ण यसलाई उल्टो वृक्ष भन्नु हुन्छ। गत गुरु पूर्णिमाका अवसरमा मेरा ‘केमेस्ट्री’ माड़साप राजबहादुर वर्मासँग भेट्दा उहाँले भन्नु भयो- अध्यात्म जस्तो राजपथमा हिँडिरहेका तिमी किन विज्ञानमा अल्झेको? चेतनाको यात्री पदार्थमा किन अल्झेको?

मैले भने, माड़साप विज्ञान नबुझेसम्म अध्यात्म पथमा हिँड्नु अन्धाहरुको हाथी स्पर्श मात्रै हो। र पदार्थ नबुझेसम्म चेतना र पदार्थको फरक र अन्तरनिर्भरता स्पष्ट हुन्न। संसार र निर्वाण एक अर्कासँग आश्रित छन्, संसार नभए निर्वाणको अर्थ रहन्न। यसमा पनि संसार प्राथमिक हो, निर्वाण संसारको ‘बाई प्रोडक्ट’ हो। र संसार बुझ्न विज्ञान बुझ्नु आवशयक छ। हो, जति जति मेरो विज्ञानको जानकारी बढ्दै छ त्यति मात्रामा नै म धर्मशास्त्र बुझ्न समर्थ हुँदै गईरहेको छु । बुद्ध मेरा लागि चीवर धारण गरेका भिक्षु होइनन् महान तत्ववेत्ता वैज्ञानिक हुन्, मनोवेत्ता हुन्, चिकित्सक हुन्। बुद्धको अप्रीतम साहित्यबाट एउटा प्रसंगको उल्लेख गर्नु प्रासंगिक होला –

एउटा आगन्तुकले आएर बुद्धसँग अनेकन प्रश्न गर्न थाल्यो। उहाँले भन्नु भयो, म तिम्रा सबै प्रश्नको जबाब दिन्छु तर मेरो एउटा शर्त छ। तिमीले त्यो कुटीमा गएर एक वर्षसम्म मौन धारण गरेर बस्नुपर्छ, तिम्रो सबै व्यवस्था अन्य भिक्षुले गरिदिन्छन्। एक वर्षपछि म तिम्रा सबै प्रश्नको चित्तबुझ्दो जबाब दिन्छु। आगन्तुक बुद्धको भनाइअनुसार एक वर्षको मौन धारण गर्न तत्पर भयो। ऊ कुटीतिर जान लाग्दा अर्को कुटीबाहिर बसेको भिक्षुले जोड़ले हाँस्ने उपक्रम गर्न थाल्यो। आगन्तुक अचम्भित भयो, उसले सोध्यो- तपाईँ किन हाँस्नु भएको?

हाँस्ने भिक्षुले भन्यो- बुद्ध छलिया हुन्, धोखेबाज हुन्। तिमीले जे सोध्नु छ अहिले नै सोधिहाल। एक वर्ष मौन बसेपछि तिमीसँग कुनै प्रश्न नै शेष रहदैननं। म पनि तिमीजस्तै प्रश्नको पोको बोकिआएको थिएँ, बुद्धको चक्करमा लागेर मेरा सबै प्रश्न तिरोहित भए। मलाई थाहा छ तिमीसँग पनि यसै घटनाको पुनरावृत्ति हुन्छ। तिमी बुद्धलाई करुणावान नठान, यी मनलाइ नै शिकार बनाई समाप्त पारी दिने कुशल शिकारी हुन्।

अध्यात्म ‘स्ट्रिंग थ्योरी’ हो ,बुद्ध ‘क्वांटम लेभल’का अन्वेषक हुन्। भनौँ आधुनिक नील बोर, म्याक्स प्लान्क। बुद्ध विषयक लेख्न एक जीवन नै पर्याप्त हुन्न,एउटा लेखमा के नै लेख्न सकिन्छ। ओशोले कतै भनेका छन् अहिलेसम्मको विश्वमा बुद्धको त्यति बढी उपयोगिता छैन तर जसरी जसरी हामी समय चक्रमा गति गर्दै अगाडि बढ्छौँ, बुद्धको उपयोगिता बढ्दै जान्छ।

विश्व शीघ्र नै कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मा ठूलो छलाङ लगाउन गइरहेको छ। कोरोना आक्रमणले गर्दा अब विज्ञानको सारा ‘फोकस’ यसैमा केन्द्रित हुन्छ। एक दशकभित्र नै मानिसका सारा काम -काज रोबोटको जिम्मा हुन्छन्। यस क्षेत्रमा ३० वर्षमा हुने विकास (२०५० सम्म अनुमान गरिएको) अब खुम्चेर १० वर्षमै सम्पादित हुन्छ। अहिलेको जस्तो ‘लकडाउन’ होइन ,मानिस सदाका लागि ‘लकडाउन’मा बस्न बाध्य हुन्छ। त्यो बेला ध्यान नगर्ने मानिससँग आत्महत्या गर्ने बाहेक अर्को विकल्प रहँदैन। बुद्धले देखाएको ध्यानको उपयोगिता प्रमाणित हुन धेरै पर्खिराख्नु पर्दैन।

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्