नेपालगञ्जमा जारी निषेधाज्ञा दैनिक चार घण्टा खुकुलो पारिने

नेपालगञ्ज– स्थानीय प्रशासनले सर्वपक्षीय बैठक बसाएर तीन दिनदेखि लाग्दै आएको निषेधाज्ञालाई दैनिक चार घण्टा खुकुलो पार्ने निर्णय गरेको छ।

अत्यावश्यक सामान खरिदका लागि नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा खुकुलो पारिएको हो। प्रशासनले शुक्रबारदेखि बिहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले हरेक दिन बिहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म अत्यावश्यक सामान खरिद र आपूर्तिका लागि निस्किन दिइने बताए।

‘सवारीसाधन पूर्णरुपमा निषेध गरिएको छ। पैदल हिँडेर तोकिएको समयमा सर्वसाधारणले अत्यावश्यक सामान खरिद गर्न सक्छन्’, प्रजिअ खड्काले भने, ‘चार घण्टा बाहेक घर बाहिर निस्किन पाइँदैन।’

नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले नै तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो। उक्त समय आज राती सकिँदैछ।

यसैबीच बाँकेमा बिहीबार ४८ जनाको स्वाव संकलन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको हाे।

खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५/५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक/एक जनाको स्वाव संकलन गरिएको छ। सुर्खेतरोडस्थित गुरुद्वारा अगाडिबाट ३० जनाको स्वाव लिइएको छ।

नेपालगञ्जमा बुधबार संकलन गरिएको एक सय ३६ वटा स्वावको रिपोर्ट आइसकेको छैन। सबै स्याम्पलको परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालले रिपाेर्ट नेगेटिभ आएमा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजिटिभ आउँदा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने गरेको छ।

 

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्