धनगढी– लकडाउनको मौका छोपेर कैलाली र कञ्चनपुरमा काठ तस्करी बढेको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा लकडाउन जारी गरेका बेला कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा काठकाे चोरी तस्करी बढेको हाे।

वन डिभिजन कार्यालय र सामुदायिक वनहरूको निष्क्रियताको मौका छोप्दै अवैध रुपमा काठ कटानी तथा तस्करी बढेकाे हाे।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी बृद्धि हुँदै गएकोले नियन्त्रण प्रयास बढाइएको बताए।

‘लकडाउनपछि कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करी गरिएको एक सय ५० क्यूफिट काठ बरामद गरिएको छ’, उनले भने, ‘विभिन्न सामुदायिक वनहरूबाट समेत ५० देखि ६० क्यूफिट काठ बरामद गरिएको छ।’

अहिले वन क्षेत्रमा हुनसक्ने चोरी सिकारीलाई दृष्टिगत गर्दै गस्ती टोलीसमेत परिचालन गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अवस्थीले बताए।

कैलालीमा डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने विभिन्न वनहरूबाट अवैध रुपमा काठ कटानी र तस्करी भइरहेको बताइएकाे छ।

पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतका वनहरूबाट लकडाउनपछि ६ सय क्यूफिटभन्दा बढी काठ बरामद गरिएको छ। लकडाउनमा स्थानीयबासीसहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकोले काठ तस्करी बढेको वनकर्मीहरूको भनाइ छ।

अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला यो अवधिमा भने झनै बढेको देखिएको छ। वनले ठूलो क्षेत्रफल ओगटेको कैलालीमा झनै तस्करी बढेको छ  तर पनि वन क्षेत्र संरक्षणमा संक्रियताका साथ लागेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले दावी गरे।

‘लकडाउनको समयमा चोरी तस्करी नहोला भन्ने सोचेका थियौँ’, उनले भने, ‘वन कर्मचारीसँगै स्थानीयको पनि आवातजावत रोकिए पनि कतिपय स्थानबाट काठ तस्करी भइरहेको छ।’

विभिन्न ठाउँबाट तस्करी हुन लागेको काठ पनि बरामद गरेको उनले बताए। वन कार्यालयहरूले नियमित रुपमा निगरानीसँगै गस्ती गरिरहेको दावी गरेको छ।

डिभिजन वन कार्यालय धनगढीले समेत लकडाउनकै अवधिभर १५ सय क्यूफिट काठ बरामद र आठ जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताए।

लुकाइ राखेको काठ बरामद


कैलालीको घोडाघोडी नगरपालिकामा लुकाई राखेको सालको गोलिया र काठ बरामद गरिएको छ। घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ स्थित माघी सामुदायिक वन उपभोक्ता समूहको सीमा क्षेत्रबाट ती गोलिया बरामद गरिएको जनाइएको छ।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय प्रमुख समीर थापा नेतृत्वको गस्ती टोलीले सोमबार राती सो काठ लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको बताइएको छ।

डिभिजन वन कार्यालय पहलमानपुरका अनुसार पाँच वटा सालको गोलिया ६३.९३ क्यूफिट र आठ वटा चिरान गरिएको कडी ३.२८ क्यूफिट काठ बरामद गरिएको छ। बरामद गरिएको गोलियासहितको काठ सम्बन्धित सामुदायिक वन समूहका अध्यक्ष र स्थानीयको रोहवरमा सामुदायिक वनको जिम्मेवारीमा राखिएको डिभिजन वन कार्यालय प्रमुख थापाले बताए।

माघी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धि प्रकाश चौधरीले फर्निचर निर्माणका लागि डिलाशैनी कृषि समूहले वन उपभोक्ता समितिसँग सो काठ माग गरेको बताए।

दराज र कुर्सी लगायत अन्य फर्निचर सामान निर्माणका लागि काठ उपलब्ध गराइदिन कृषि समूहले माग गरेपछि समितिमा सोबारे निर्णय भएको अध्यक्ष चौधरीले बताए।

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्