छाउनी अस्पतालमा कोरोना संक्रमितका लागि तयार भयो सुविधासम्पन्न कक्ष

छाउनीस्थित सैनिक अस्पताल।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्लो केही समयदेखि नेपालमा पनि देखिन थालेको छ । केही दिनयता संक्रमितको संख्या थपिँदै गएका छन् ।

संक्रमण बिस्तार नहोस् भन्ने हेतुले लकडाउनसहितका सामाजिक दूरी कायम गर्ने उपायहरु लागु गरिएको छ । त्योसँगै कोही संक्रिमित भएमा उचारका लागि विभिन्न अस्पतालहरुलाई तयार गरिएका छन् ।

कोरोना भाइरसका संक्रमितको उपचारका लागि नेपाली सेनाको छाउनीस्थित अस्पताललाई विशेष रुपमा तयार पारिएको छ ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको गेटबाटै विशेष तयारी गरेको अनुभव हुन्छ । गेटमै सबैलाई हात अनिवार्य रुपमा धुने व्यवस्था गरिएको छ । त्यसपछि सबैको ज्वरो नापिन्छ । यदि कसैलाई ज्वरो आएको देखिएमा थप परीक्षणका लागि गेट नजिकै तयार अवस्थामा छ फिवर क्लिनिक, त्यहिँ पठाइन्छ । फिवर क्लिनिकमा बिरामीको यात्रा विवरण तथा स्वास्थ्य सम्बन्धी अरु जानकारी लिने र आवश्यकता अनुसार सोही क्लिनिकमा रहेको स्वाब कलेक्शन बुथबाट स्वाब लिइने महासेनानी डा. सुनिता पन्तले जानकारी दिइन् ।

स्वाब संकलन गरिएकाहरुलाई त्यसको रिपोर्ट नआएसम्मका लागि आइसोलेशन वार्डमा राखिने उनले बताइन् । संकलित स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा परीक्षण भएर रिपोर्ट आएपछि मात्रै थप उपचार वा डिस्चार्जबाट निर्णय हुने व्यवस्था गरिएको महासेनानी डा. पन्तले बताइन् ।

सैनिक अस्पतालमा कोभिड १९ को उपचार

छाउनी अस्पतालमा हाललाई कोभिड १९ का बिरामीको उपचार भएको छैन । तर परिआएमा कोभिड १९ का बिरामीको पनि उपचार गर्न सक्ने गरी अस्पताललाई तयार अवस्थामा राखिएको हो। त्यही प्रक्रिया स्वरुप अहिले त्यहाँको परिवेश कोरोना भाइरसका संक्रमितको उपचार गर्न सकिने खालको बनाइएको हो ।

संभावित कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालमा एक सयवटा बेडहरु तयारी अवस्थामा राखिएको डा. पन्तले जानकारी दिइन् । त्यसमध्ये ८० बेड आइसोलेशन हलमा छन् ।

कोरोना भाइरसका संक्रमितहरुलाई तीन समूहमा विभाजन गर्ने गरी तयारी छाउनी अस्पतालले गरेको छ । आइशोलेशन हलमा सामान्य र मध्यम तहका विरामी राख्ने गरी तयार गरिएको हो । आइसोलेशन हलमा रहने बिरामीका लागि पछाडिबाट बाटो बनाइएको छ र निगरानी गर्ने स्वास्थ्यकर्मीहरुका लागि सर्भिस रुम पनि छ ।

आइसोलेशन हलमा रहनेहरुलाई औषधि तथा खाना दिन र स्वास्थ्य सम्बन्धी आधारभूत परीक्षणका लागि रोबोटको प्रयोग गरिने सहसेनानी डा. प्रणय कार्कीले जानकारी दिए । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले प्रदान गरेको रोबोटले डाक्टरको निर्देशन अनुसार काम गर्छ ।

कोभिड १९ अरु सरुवा रोग जस्तो नरहेकाले सावधानी अपनाउने गरी हल तयार पारेको अस्पतालले जनाएको छ । बिरामीको सम्पर्कमा जाँदा पीपीई प्रयोग गर्ने र प्रयोग भएको पीपीईलाई सुरक्षित रुपमा डिस्इन्फेक्सन गर्नका लागि विशेष व्यवस्था गरिएको डा. कार्कीले बताए । त्यसका लागि वार्डमा पस्ने र निस्कने ढोका भिन्दा भिन्दै बनाइएको छ ।

पाको उमेरका तथा मधुमेह, उच्च रक्तचापसहितका बिरामीलाई कोरोना भाइरसको संक्रमण भएमा थप ख्याल गर्नु पर्ने भएकाले आइसोलेशन वार्डमा बिरामीको हाइ केयर गर्न सकिने गरी पनि तयारी भएको अस्पतालले जनाएको छ ।

आइसोलेशन वार्डको हाइ केयर युनिटमा दुईवटा हल छन्, जसमा १०–१० वटा बेड राखिएको छन् । यो युनिटमा हरदम पीपीई लगाएका स्वास्थ्यकर्मी उपलब्ध हुन्छन् ।

आइसोलेशन हलमा बिरामी र स्वास्थ्यकर्मीबिच सहज रुपमा सम्पर्प गर्नका लागि इनटरनेट, माइक लगायतको व्यवस्था छ ।

कस्तो छ आइसियु ?

छाउनी अस्पतालमा कोभिड १९ कै लागि भनेर २० वटा आइसियू बेड तयार गरिएको छ । आवश्यकता अनुसार आइसियूको हरेक गतिविधि मोनिटर गर्न सक्ने व्यवस्था मिलाइएको बताएकी डा. सुनिता पन्तले बिरामी ल्याउने प्रक्रियाबारे जानकारी दिँदै भनिन्, ‘बिरामी एम्बुलेशन वा आइसोलेशनबाट ल्याइए पनि आइसियू तल्लो भागसम्म गाडीले नै ल्याउन सक्ने गरी निर्माण गरिएको छ । त्यसपछि र्यापरको सहयोगमा बिरामीलाई एक तल्लामाथि लैजाने व्यवस्था छ ।’

आइसियू बिरामीलाई ल्याउने र स्वास्थ्यकर्मी आउने पनि दुई प्रकारको प्रवेश द्धारा बनाइएको सेनानी डा. चिरञ्जीवि पन्तले बताए । आइसियूमा बिरामीको सुविधा र स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा सेवा प्रदान गर्ने पूरा व्यवस्था गरिएको उनले बताए । आफूहरु आवश्यक परेमा कोभिड १९ का बिरामीको उपचारका लागि तयार रहेको उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्:

बैशाख २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्