समीक्षाको उपचारका लागि अमेरिकाबाट टिमाई फुटबल क्लबको सहयोग

विराटनगर – गत वैशाख १२ गते आँखामा चोट लगेर घाइते भएकी उदयपुर बेलका नगरपालिकाकी समीक्षा रानाको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

रानाको उपचारका लागि अमेरिकास्थित टिमाई फुटबल क्लबले २ लाख २५ हजार नेपाली रुपैयाँ उपलब्ध गराएको अखिल नेपाल फुटबल संघ एन्फाको सहायक महासचिव बसन्त अर्यालले जानकारी दिए।

झापाको भुटानी शरणार्थीहरुले अमेरिकामा खेल्दै आएको एफसीबाट १९ जना खेलाडी तथा पदाधिकारीले सो रकम सहयोग गरेको अर्यालले जानकारी दिए।

बिहीबार पीडित राना परिवारलाई टिमाई एफसीबाट प्राप्त एकमुष्ट रकमसहित कुल ४ लाख २६ हजार रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए।

एन्फाले पीडित समीक्षाको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरिसकेको बताएका अर्यालले भने, ‘चोटग्रस्त समीक्षाको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। उपलब्ध रकम उनको खानपानका लागि सहयोगी हुनेछ।’

काठमाडौंमा सम्पन्न क्वीक्स महिला फुटबल प्रतियोगितामा सहभागिता जनाएकी १६ वर्षीया समीक्षाको उपचारका लागि बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले समेत २६ हजार रुपैया सहयोग गरेको उनले जानकारी दिए।

महिला फुटबल प्रशिक्षक भगवती रानाका अनुसार टिमाई एफसीसंगै बेलबारी नक्सलबारी क्लब, चुलाचुली युवा स्पोर्टसले समेत आर्थिक सहयोग गरेको जानकारी दिइन्।

विराटनगर आँखा अस्पतालमा बैशाख १८ गते भर्ना गरिएकी समीक्षाको आँखाको इन्फेक्सनमा सुधार हुदै गएको प्रशिक्षक रानाले बताइन्।

अस्पतालले नियमित रुपमा चोटिल समीक्षाको चेकजाँच गर्दै आएको बताएकी रानाले इन्फेक्सन कम भएपछि कसरी उपचार पद्धति अघि बढाउने त्यसबारे प्रक्रिया बढ्ने जानकारी दिइन्।

गत बैशाख १२ गते घरको खेतमा काम गर्ने क्रममा समीक्षाको आँखामा चोट लागेको थियो। त्यसपछि धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पुगेकी समीक्षालाई कोरोनाको संकामा तीन दिन आइसोलेसनमा राखिएको राना परिवारले जनाएको छ।

तीनदिनपछि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि वीपीले आँखाको उपचारका लागि विराटनगर पठाएको थियो। यसबीच आँखामा इन्फेक्सन बढ्दै गएको पीडितका दाजु सनम मगरले गुनासो गरे।

यसअघि एन्फा, राष्ट्रिय महिला फुटबलका पदाधिकारी तथा खेलाडी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराट सांग्रिला क्लब लगायतले आर्थिक सहयोग गरेका छन्।

बैशाख २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्