महामारीसँगै विश्वमा घृणा तथा जेनोफोबिया बढ्दै छ: राष्ट्रसंघ महासचिव

कोरोना भाइरसको महामारीसँगै विश्वमा पछिल्लो समय ‘घृणा र जेनोफोबिया (विदेशीलाई नरुचाउने वा विदेशी विरोधी भावना)’ को तीव्र ‘सुनामी’ आएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चिन्ता व्यक्त गरेका छन् ।
महामारीसँगै विश्वका विभिन्न क्षेत्रमा विदेशी–विरोधी, यहूदी विरोधी षडयन्त्रयुक्त सिद्धान्तहरु बिस्तार भइरहेको तथा मुस्लिम समुदायमाथि हुने आक्रमण बढेको देखिएको महासचिव गुट्रेसले बताएका छन् ।
उनले भनेका छन्, ‘कोभिड–१९ ले हामी को हौँ, कहाँ बस्छौँ वा हाम्रो विश्वास या आस्था के हो भन्ने चिन्दैन । र पनि महामारीसँगै घृणा र जेनोफोबियासँगै निश्चित समुदायमाथिका आक्रमणको सुनामी नै आएको छ ।’
उनले अघि भनेका छन्, ‘त्यसैले म अपिल गर्न चाहन्छु कि विश्वभर घृणायुक्त अभिव्यक्ति बन्द गरियोस् । यो समय एकताको हो । विभाजनको होइन ।’
गुटरेस घृणा तथा जेनोफोबियाका घटनाका उदहारण दिएनन् । तर विश्वका विभिन्न क्षेत्रमा महामारीलाई लिएर यस्ता घटना भाइरहेका छन् ।
भारतमा पछिल्लो समय मुस्लिम विरोधी गतिविधि वा इस्लामोफोबिया बढ्दै गएको देखिएको छ । दिल्लीको तब्लीगी मस्जिद जमातीहरुमा धेरै संक्रमण देखिएपछि भारतमा इस्लामोफोबिया बढेको हो ।
बेलायतमा सिंगापुरका एक विद्यार्थीमाथि कुटपिट भएको थियो भने चीनको ग्वान्झाउमा अफ्रिकनमाथि दुर्व्यवहार भएको थियो ।
यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई वुहान भाइरस वा चिनियाँ भाइरस भनेर घृणा भाव जगाएको चीनको आरोप छ ।
इजरायलमा गरिएको एक अनुसन्धानमा कोरोना भाइरसको संकटसँगै विश्वभर यहूदी विरोधी भावना बढेको देखिएको छ । यही परिवेशलाई लिएर संयुक्त राष्ट्रसंघका महासचिवले सम्बोधन गरी चिन्ता जताएका हुन् ।
#COVID19 does not care who we are, where we live, or what we believe.
Yet the pandemic continues to unleash a tsunami of hate and xenophobia, scapegoating and scare-mongering.
That’s why I’m appealing for an all-out effort to end hate speech globally. pic.twitter.com/ojh957xhQq
— António Guterres (@antonioguterres) May 8, 2020