मनोज बाबु पनेरु

सधैँ यस्तो किन हुन्छ?

इतिहास शिरोमणी, बाबुराम आचार्यले, ‘अब फेरि यस्तो कहिले नहोस् लेखि छाडेर जानु भयो । भारदारबीचका दाउपेच र धोकाधडीले कसरी देशलाई घाटा भयो भन्ने उदाहरणको संगालो हो, उक्त पुस्तक । ‘कहिले नहोस्’ भने इतिहास शिरोमणीको कामना। भारदारलाई राजनीतिक दलमा फेरेका नेपाली जनताको कामना पनि ‘यस्तो नहोस्’ भन्ने नै हो । ‘यस्तो’ भने सधैँ भइरहेछ ।

कुनै पनि व्यवहार र मनस्थिति जब एक व्यक्तिमा मात्र निहित नरहेर धेरैमा फैलिन्छ त्यसलाई प्रवृत्तिको रुपमा बुझ्ने–बुझाउने गरिन्छ । ओली प्रवृत्तिको व्याख्या र त्यसका परिणाम बारेको विचार–विमर्श हाल चल्तीको बुद्घी–बिलास हो । देश त सधैँझैँ पशुपतिनाथले चलाएकै छन् । हुनलाई प्रधानमन्त्रीको कुर्सीमा चरो मुसो नै चढाए पनि देश चलेको अनुभव हामीसँग उपलब्ध नै हो ।

डा. बाबुराम भट्टराइले सामाजिक सञ्जालमा ओली प्रवृत्तिलाई केही मिथकिए तथा ऐतिहासिक बिम्बमा प्रस्तुत गदैँ यस्ता प्रवृत्तिलाई इतिहासबाट छिटो बिदा गरौं भनेर अपिल पनि गर्नुभएको थियो । उहाँको अपिललाई हाल अपिल कै रुपमा लिउँ ।

प्रधानमन्त्री ओलीलाई, सजाय, सुलह वा क्षमादानको रस्साकस्सीलाई नेकपाको पछिल्लो सचिवालय बैठकले हाललाई दुई कुर्सी मुनिको कार्पेटले छोपेको देखिन्छ । पुत्पुताउँदै स्थायी कमिटीको बैठकसम्म टु बि कन्टिन्युड नै रहला । अरु बाहिरकाले जती कने पनि परिणाम निक्लने भने नेकपा भित्रैबाट नै हो । त्यसैले मौन आवलोकमान चित्त लगाउनु नै स्वस्थकर रहला । यही शून्य समयको मौकामा डा. बाबुराम भट्टराइको निष्कर्षलाई रिफरेन्समा राखेर प्रवृत्तिको थप व्याख्या गरि हेरौँ ।

भष्मासुर प्रवृत्ति

भष्मासुर प्रवृत्तिको उत्सर्ग आफ्नै शीरमा हात राख्नु हो । वाचाल उखाने स्वभाव र विपक्षी प्रतिको छुद्र शब्द चयन तथा आत्मा प्रशंसाको भोकमा प्रधानमन्त्री ओलीले विचरण गर्ने अहम र घमण्ड बीचको नो म्यान्स ल्यान्ड, आफ्नै शीर छाम्न पुर्‍याउने मार्ग चित्र भित्र अवश्य पर्छ । कान्तिपुरको लेखमा उत्तमबाबु श्रेष्ठले डनिङ–क्रुगर इफेक्टको आलोकमा ओली प्रवृत्तिको यो आयामलाई अझ व्याख्या गर्नु भएको छ ।

आजको स्पेश–टाइम सम्म भष्मासुरे भन्दा धन्धुकारी प्रवृत्ति प्रधानमन्त्री ओलीका लागि अझ राम्रोसँग गुड फिट होला । अध्यादेशको धन्धुकारी हात डा. बाबुराम, उपेन्द्र लगायतको शीरमा पर्न खोजिएको सत्य हाल छताछुल्ल छ ।

पत्रकार भुषण दाहालको सामाजिक सञ्जालमा प्रस्तुत जिज्ञासा ‘औषधी सहयोगको बाहाना बोकेर आएको विमानमा सवार मित्रहरु को थिए र अध्यादेश काण्डको पटाक्षेपमा उनीहरुको सुत्रधारीय भूमिका के हो’ भने कतै हल्लै नगरी हरायो । यि–यस्ता टाइपका जिज्ञासा–घटनाले माथि उल्लेखित लगायतहरुलाई सधैँ खेदिरहनु–घेरिरहनु भने सामान्य नै हो ।

हिटलर प्रवृत्ति

व्यक्तिगत विरोधाभाषहरुका बग्रेल्ती उदाहरणबीच ओली प्रवृत्तिलाई हिटलर प्रवृत्तिसँग दाजिनुका प्रर्याप्त कारणहरु छन् । व्यक्तिगत विरोधाभाषहरुमा, जनजाती तप्कामा पर्ने सुवास नेम्वाङ्ग लगायतको दह्रो साथ, मधेसका हितैषी सिके राउतको अवतरण, उपेन्द्र यादवको धेरै मन्त्रालयको अनुभव कमाएको सत्ता सहयात्रा, राजेन्द्र महतोको सकृयतामा भएको राष्ट्रियसभाको चुनावी तालमेल तथा अध्यादेशको आव्हानमा पार्टी फुटाउन भनेर नेपथ्यमा उचालिएका ७–८ जोर समाजवादी खुट्टाहरु, यि–यस्तै विरोधाभाषी उदाहरणहरु हुन् ।

हुनलाई माओवादी र एमाले एकतामा सँगै उचाल्न तम्तयार डा. बाबुराम भट्टराइको नयाँ शक्ति भरित हात यो प्रवृत्ति नचिनेरै थियो त ? यी प्रत्येक व्यक्तिगत विरोधाभाषको अपरिहार्यतालाई छुट्टा–छुट्टै व्याख्यान भित्र अटाउन नसकिने भने होइन । जुनै दूधले नैलाए पनि ओली प्रवृत्तिको आंसिक हिट्लरिय समानान्तरतालाई नकार्नु भने लठईत हनुमाने शैली हो । अंशिक किन भने मुलत यो मनोविज्ञानको तहमा रहेको सबै खस–बाहुन नेताहरुको आम प्रवृत्ति हो ।

कुनै पनि व्यवहार र मनस्थिति जब एक व्यक्तिमा मात्र निहित नरहेर धेरैमा फैलिन्छ त्यसलाई प्रवृत्तिको रुपमा बुझ्ने–बुझाउने गरिन्छ । ओली प्रवृत्तिको व्याख्या र त्यसका परिणाम बारेको विचार–विमर्श हाल चल्तीको बुद्घी–बिलास हो । देश त सधैँझैँ पशुपतिनाथले चलाएकै छन् । हुनलाई प्रधानमन्त्रीको कुर्सीमा चरो मुसो नै चढाए पनि देश चलेको अनुभव हामीसँग उपलब्ध नै हो ।

स्टालिन प्रवृत्ति

डा. बाबुराम भट्टराइले प्रष्ट्याउनु भएझैँ स्टालिन प्रवृक्तिको मुख्य आयाम राज्यका सम्पूर्ण अंगको शक्ति, सत्ताको कार्यकारीले एकलौटी प्रयोग गर्नु हो । हाल के हो नखुट्टिए पनि पूर्व जात एउटै रहेका डा. बाबुराम भट्टरालाई यो प्रवृत्तिमा निहित सैद्धान्तिक सौन्दर्यताको मायावी व्याख्या पक्कै थाहा होला । दैनिक व्यवहारमा जात ढाटेको ठहरिए पनि लगातारको सुगा–रटाइ स्कुलिङ्गले बाम भनिने नेतृत्वमा भएको स्टालिन प्रवृत्ति प्रतिको मोहबाट पक्कै पनि प्रधानमन्त्री ओली अक्षुतो नहोलान् । स्टालिन प्रवृत्तिको ऐनामा ओलीको अनुहार देखिनु भने सत्तामा पुग्ने–पुगेका उपलब्ध विकल्पहरुको अनुहार पनि देखिनु हो कि ?

चाउचेस्कु प्रवृत्ति

निकोलाई चाउचेस्कुको रोमानियाको सत्तारोहण स्टालिनको समाजवाद (कम्युनिष्ट नामको सत्ता) निर्यात गर्ने शितकालिन कुटनीतिको हिस्सा थियो । कम्युनिष्ट नामको सत्ताको स्थापनाको लहर जुन रफ्तारमा पूर्वी युरोपका देशहरुमा फैलिएको थियो सोभियत टेकोको पतनसँगै ति त्यहीँ रफ्तारमा गर्ल्यम–गुर्लुम भए ।

सप्तस्वरको ट्युनिङ्ग नमिलेपनि, ओली शक्तिको उदय, पपुलरिजमको फैलावाटसँगै भएको हो । यसमा विश्व त के छिमेककै कम्युनिष्ट आन्दोलनको प्रत्यक्ष–अप्रत्यक्ष सहयोग छैन । चीनको छ, भनिएको सहयोग कम्युनिष्टहरुको अन्तराष्ट्रिय सत्ता विस्तारमा होइन स्थायी प्रकृतिको सत्ता प्रारुपसँग चीन सत्ताले राख्ने  कम्फर्ट फिलिङ्गमात्र हो ।

राज्य सत्ताको आडमा भएका आर्थिक चलखेलका काण्डहरुमा ओली स्वयम् वा आसेपासे परजिवीहरुको सहभागिताकाको कानुनी बैधता हालसम्म ‘आरोपित’ हो । आम बुझाइ भने ‘दोषी’ हो । आर्कान्त भनिएको नेपाली समाजको भ्रष्टाचारप्रतिको इम्युनिटी भने साच्चै नै उदेक लाग्दो छ । कमिसन लाइनमा नपर्नेहरुको गिडगिडाहट वा खान नपाउनेहरुको दोषारोपण भनेर अर्थ्याइनु आर्कान्तता बीच सकारात्मक रहने प्रयास हो ।

डोर बहादुर विष्टले ठर्‍याएकाे भाग्यवादी नेपाली समाज, सायद पुँजि को अभाव रहेको अर्थ–राजनीतिको अवस्थिति थियो । हालको आडम्बरवादी नेपाली समाज भने दलालीबाट आर्जित पुँजिकाे बोलवाल रहेको अर्थ–राजनीतिक अवस्थिति होला । यस्तो समाजमा भ्रष्टाचारका नाममा हुने विरोध, भष्टचारीलाई किरा परोस् भन्ने टिसर्ट पहिरनमा वा सामाजिक संजालमा भष्टाचार विरोधी बोध–गम्भीर स्टास लेख्नु मै सीमित रहन्छ । सर्पले आफ्नै खुट्टा देख्छ भनेझैँ प्रकारान्तले जो–जस्ले यो अगुवाइ गर्नु पर्ने हुन्छ उनैले चोरको खुट्टा काट् भनेको सुनेसँगै आफ्नो खुट्टो तान्नु पर्ने हुन आउँछ ।

कसैको एक गल्तीको प्रतिरक्षामा अरुका दुई गल्ती देखाएर चोखिन खोज्नु तार्किकता होला तर यस्ता तर्क बीचको वाद–विवादबाट तत्व बोध नुहुने भने हुन्छ । अरुले पनि गल्ती गरेका छन् त्यसैले प्रधानमन्त्री ओलीले गरेको गल्ती, अ–गल्ती हो भन्ने तर्क गर्नु पनि त्यही तार्किकताको पुनरावृत्ति हो।

के यि यस्ता प्रवृत्तिहरु प्रधानमन्त्री ओली मात्रैको बपौती हुन् त ? ओली फोबियाको पट्टी खोलेर हेर्ने हो भने, माथि उल्लेखित प्रवृत्तिहरु हामीसँग उपलब्ध सबै नेताहरुमा भएको साझा गुण हो। सत्तामा हुँदा र नहुँदा मात्रात्मक फरक भने रहन्छ ।क लाई हटाएर ख ल्याउने खुजिली प्रयासले देशको अवस्थितिमा (सत्ताको प्ररुपमा) गुणात्मक परिवर्तन नहुने पक्का हो।

नेता भनेको कुनै जनसंख्याको मात्र नभएर त्यो जनसंख्याले बोक्ने मनोविज्ञान र संस्कारको प्रतिनिधि पात्र हो । विजय कुमारका भावमा भन्दा, हाम्रो औकात अनुसारका नेता । निरन्तर खबरदारीले उधुम–उल्का गरिहाल्न रोक्ने हो, आम अपेक्षा विपरित हुने सत्ताको संवैधानिक प्रयोग भने चरो–मुसो नै सत्तामा भएपनि रोक्न नसकिने रहेछ । क्षमताले भन्दा प्रकारान्तरताले स्थापित ओली निर्विकल्पता, राम्रो नहोला तर हाम्रो हालको नियती भने पक्कै हो । यो निष्कर्ष, आशावादी (अप्टिमिस्टीक) नभए पनि सम्भाव्य (पोसिबिलिष्ट) रहने प्रयास भने हो । (अप्टिमिस्ट र पोसिबिलिष्ट बीचको भेद हान्स रोस्लिङ्गको फ्याक्टफुलनेस पुस्तकामा उल्लेख–ब्याख्या भएको छ ।)

राजनैतिक प्रहसन

हालको राजनैतिक प्रहसनमा भने नैतिकताको खोज र आत्माआलोचनको मागमा हिट देखिन्छ । नैतिकता सापेक्ष व्यवहार हो । पूर्ण नैतिकता प्लेटोको दार्शनिक राजा–नेतामा खोजे भेटिएला । हाम्रो भूगोलमा प्रचलित मिथकमा आदर्श मानिएका राम वा असल मानिएका कृष्ण दुवैले नैतिकताको प्रर्दशन, लोकको माग भन्दा आफ्नो अवस्था अनुकुल गरेका छन् ।

आदर्श वा असल नैतिकवानको पुनर्व्याख्यामा रामायण र महाभारतका कथा–पात्रहरुको विनिर्माण लेखिए र अझै लेखिँदैछन् । सम्पादकीयमा, विश्लेषकको विचारमा वा नेता वाणीको रुपमा मिडिया हेडलाइन बाइटमा देखिने नैतिकताको खोज, आजको राजनैतिक बजारमा वितरित मुख्य बस्तु हो ।

अध्यादेश काण्डको हारमा निराश ठानिएका प्रधानमन्त्री ओली, किमकर्तव्य बिमुढ ठानिएका कार्यकारी अध्यक्ष प्रचण्ड र आक्रोशित ठानिएका प्रमुख प्रतिपक्षी नेता शेर बहादुर देउवासहितको सामूहिक तस्बिरमा (अध्यादेश फिर्त पछिको भेट) देखिएको मन्द–मुस्कानले भने नैतिकताको यो खोजको दोहोलो काडेको छ ।

यो मुस्कान पछिको गुह्य रहस्य नैतिकताको सापेक्षताको बोध संलग्न तीनै नेतामा भएको प्रमाण हो ।आम साधारणमा रहेको नैतिकवान नेताको अपेक्षा भने परापूर्व कालदेखि हालसम्म पनि पुरा हुन नसकेको जिजिबिषा हो । हुन त आफैमा (समाजमा) प्रचलित नरहेको नैतिकता खोज्नु भनेको घरमा हराएको सियो बाहिर ल्याम्पपोस्टको उज्यालोमा खोज्नु जस्तै हो ।

को खराब को असल भन्ने टुंगो सायद मृत्यु पछि मात्र गर्न सकिएला, जब कर्ता कुनै नयाँ कर्म गर्न नसक्ने अवस्थितिमा पुग्छ । रङ्ग फेरिहिरहने चलायमान कर्ताका हकमा भने प्रतृक्रिया दिनै भ्याइ–नभ्याइ हुने रहेछ ।

पछिल्लो नेकपा सचिवालयको बैठक पछि, आत्माआलोचनाको माग भने केही हदसम्म प्रप्य भएझैँ देखिन्छ । आत्मालोचना नेपाली राजनीतिको यस्तो कडी हो जो कर्ता स्वयम्को आत्माले नमाने पनि अरुले मानिदिन पर्ने कुरो रहँदै आएको छ ।

निशाना चुकेपछि फिर्ता थुतिएको अध्यादेशलाई पार्टीको (नेकपाको) भागमा परेको आत्मालोचना भनेर गरिँदै गरेको स्यालहुइँया यसैको प्रमाण थियो । खोलिएका सत्ताका पत्ताहरुमा वामदेव गौतमको अनुहार, माधव नेपालको इगोकको सम्बोधन वा कुर्सी मिलानको बिम्बमा, सबैले आत्मालोचनाको सितलता महशुस गरेहोलान् ।

आत्माआलोचनाको दूधले नुहाएर शुद्ध भएका नेतृत्वलाई एउटा साझा प्रश्न भने छ । यो ओली प्रवृत्तिको हार हो वा कन्भेन्सनका लगि ओली प्रवृत्ति भनिएता पनि यो हामी उपलब्ध नेतृत्वको साझा गुण हो, सत्तामा हुँदा र नहुँदाको मात्रात्मक फरक भने रहन्छ भन्ने स्वीकारयुत्ती हो ? उत्तर भने सम्बन्धीतले आफ्नै ऐनाअगाडि भए पनि दिन्छन् कि । दर्शनशात्र नै नभएका पात्रहरुका बीच गणितका वा केमेष्ट्री मिलाउन गरिएको दौडधुपको नतिजा मन्त्रीपरिषद विस्तार वा लाभका पद हेरफेरमा देखिँदा फेरि पनि निराश नहुन गर्न सकिने भनेको अपेक्षाको यर्थाथिकरण मात्रै हो ।

सामाजिक सञ्जालमा स्थायीत्व जोगाउनका लागि हुट्टिट्याउ खुट्टा ठड्याने जुझारु कार्यकर्ताहरु मनतातो पानीले नुहाएर फुर्के भए होलान् । प्रतीतर्क सहितपरिवर्तनकालागि कन्ने जुझारु कार्यकर्ताहरु भने चिसो पानीले केही काल ठिहिरिने देखिन्छन् । आम जनता भनिनेको भागमा यस्तो प्रहसनबाट न चिची हात लाग्ने हो न पापा । मिडियामा षडयन्त्रको सिद्धान्त कोरल्नका लागि भने चिनियाँ राजुदूतको सकृयताको अगोपनिय तथ्य उपलब्ध नै छ ।

हुइन्–हुइन् सिचुएसन माने भयो । प्रमुख विपक्षीले (काङ्ग्रेस) भने सँगै फिर्ता आएको जोडी अध्यादेशलाई नै आत्माआलोचना ठह¥याए जस्तो छ । संवैधानिक भागभण्डामा प्रमुख प्रतिपक्षीको पुरानै शक्ति कायम रहने विश्वासमा होला हाल शेरबहादुर देउवा शान्त नै देखिनुहुन्छ । संसदबाट चुनिएका प्रधानमन्त्री संसदबाटै निकालिने हो भन्ने सैद्धान्तिक व्याख्या स्वीकारेर हो वा उपलब्ध संसद संख्याको सीमितमा बुझेर हो, काङ्ग्रेसले कुरेको भनेको आगामी चुनाव नै हो ।

‘नेकपाको सरकार, सरकार होइन काण्डकार’को कथ्य सबलिकरण मै आफ्नो चित्त टिकाएको देखिन्छ । डा. बाबुराम भट्टराई लगाएतका ‘जसपा’, टिमको भागमा भने हाल आत्माआलोचना परेको देखिँदैन । ‘जसपा’का आम कार्यकर्ता दुखित–द्रबित (प्रहार भो भनेर), आक्रोशित (आन्तरिक दरार–चर च्यात्ने प्रयास भो भनेर) तथा हर्षित (बिद्धुतिय रफ्तारमा एकता भो भनेर) कुन भाव प्रधान हो भनेर खुट्याउन आन्तरिक चिन्तनमा होलान् । नेता डा. बाबुराम भट्टराई भने आफ्ना सांसदको अपहरण प्रयासले अक्रोशित हुनुहुन्छ ।

अपहरणकारीलाई कानुनी कारबाही गराउन उहाँले देखाएको तत्परता र उर्जा प्रयोग निरपेक्ष रुपमा प्रशंसनिय कार्य नै हो । सापेक्षतामा हेर्दा भने, व्याख्या नै पो के आवश्यक छ र । माओवादी जनसरकार प्रमुख, माओवादी प्रधानमन्त्री, नयाँ शक्तिका पुरानै नेता, समाजवादीमा थपिएका नेता, हुँदै हाल जसपामा नेताबीच हराएका नेता, उहाँको उकालो यात्रा हो कि ओरालो यात्रा हो ? यो विज्ञताको आडमा भन्दा कमन सेन्सको बलमा खोजिनु पर्ने उत्तर हो ।

समग्रमा, आत्माआलोचनाको भाग नपाएर डा. बाबुराम भट्टराइ लगायत ‘जसपा’को दुखेको चित्त उपसभामुख चयनको दौरान बुझिने हो कि बल्झिने हो पर्खिने कुरो रह्यो । अन्त्यमा आफू भन्दा कस्ले नै पो धेर जानेको हुन्छ र । आफू भने जस्ताको–जस्तै रहेर अरु सबैको परिवर्तन गर्नु जो छ । त्यसैले होला सधैँ यस्तो हुन्छ । सिस्टम परिवर्तनको चिल्चिलाहट र प्रधानमन्त्री फेरि बस्ने काउसो बोकेको राजनैतिक प्रवृत्ति धरेर कोरोनाले थिल्थिलिरहेको जनजिविका र अर्थतन्त्र भने कहिलेसम्म पो थेग्ने हो ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्