कथा

किरनको आर्ट

नाम किरनकुमार । काम पेन्टर । बसाइ अनामनगर । उमेर ४० । श्रीमती एक थान । सन्तान अनेक (साँचो हाल्न बिर्सिएका र सम्झिल्याएका समेत) । पूर्व जिल्ला सर्लाही । सम्झन योग्य घटनाः मध्यान्हमा लुंगी बेरेर खटियामा घुरेर सुतेको । अग्नेय जालीम लोसनले ठिक पारेको लुतो । प्रहरी हल्दार पिताले गाउँलेबाट पाएको चरम सम्मान ।

किरनसँग भन्नलाई, सम्झनलाई धेरै कुराहरु छैनन् । सम्झना उनको पेशा होइन । उनी आफैले लेखेका टेबल, भित्तादेखि गाडी मोटरसाइकलका नम्बरप्लेट बाहकहरु मध्ये धेरैजना मरिसके होलान् । कोही अंगभंग होलान् । कोही काम सुचारु गरिरहेका होलान् । उनीसँग नेपाली राजनीतिक दलका झोले कार्यकर्ताहरु धेरै आउँछन् । सबैको काम तूल लेखन, भित्तालेखन, पर्चा छपाइ, रबर स्ट्याम्प आदि निर्माणका लागि धाउँछन् । चिल्लो रंगमा ठूलो आवाजमा गर्जेर अर्डर गर्छन् । एडभान्स रकम माग्दा अलि कालो रंग ओढेर झुक्छन् । जब अर्डर दिएको काम पुरै फत्ते हुन्छ, तब दिनुपर्ने बाँकी रकम निकाल्न जाँतोले छोपिएको खल्ती जसरी बडो भारीमनले हातमा नोट निकाल्छन् । तयारी सामग्रीमा केही खोट खोज्छन् । कुनै सम्बन्ध जोड्ने उपाय खोज्छन् । रकम घटाउने निहुँमा दिमाग ठोकेर केहीबेर अलमलमा पर्छन् । तर चर्को सूर्यकिरणका सामु उनीहरु निरीह बनेर बाँकी पैसा बुझाउने बाहेक अरु कुनै उपाय हुँदैन । उनको ढाबामा काम दिएर, लिएर भाग्नेहरुको सूची निकै लामो छ । मानौं मन्दिर वा अन्य कुनै सार्वजनिक भवन निर्माणका लागि टाँगिने सहयोगदाताको सूची भन्दा निकै लामो छ । यदि उनी फोटोग्राफर हुन्थे त ती सबैको तस्बिर उल्टो बनाएर पसलको दाँयाबाँया राख्थे तर उनी परे पेन्टर । त्यसैले उनीहरुको नाम र अनुहार दिमागमा हुलेर हरेक दिन नयाँ ग्राहकको नेमप्लेट लेखिरहेका हुन्छन् । किरणका रंगहरु हरेक दिन फेरिन्छन् हरेक रात जोडिन्छन् । कार्ल मार्क्सले ब्याख्या गरेको प्रतिनिधि श्रमिकको भेषमा निरन्तर पसिना बगाइरहेका छन्, मार्क्स युगीन लुतो साम्य पार्न एकहातले कन्याइरहेका छन्, अर्को हातले बुर्जुवा वाइन पिइरहेका छन् । किरन मार्क्स होइन, उस्तै दारी भएका अत्तरवाला अवतारी ओशोलाई गुरु मान्छन् । अझ धेरै श्रद्धा गरेर सद्गुरु भन्छन् तर त्यो नाम विशाल हिन्दुस्तानका बाबा नामका कौरवशाली गुरुहरुले नामको गरिमा र ओहोदालाई ध्वस्त पारिसकेकाछन् । उनी सद्गुरु र अन्य गुरुको सम्मानमा हरेक बिहान अगरबत्ती बालिइरहेका भेटिन्छन् । काम निखारेर हरेक साँझ ढोग गरेर पर्दा लगाउँछन् ।

ओशोको तस्विर र शिबपुरी बाबा, योगानन्द, युक्तेश्वर गिरी, लाहिडी महाशय, विवेकानन्द, रामकृष्ण परमहंश, सन्त कबिर, मिरा, कृष्णमुर्ति आदि बुद्ध पुरुषका तस्विरले उनको ढाबाको शोभा बढाएको छ । उनी पृथक ठाँटका सक्कली कलाकारका रुपमा शहरमा परिचित छन् । टाँगिएका तस्विरबारे सोध्ने जोकोहीलाई डल्ले प्रवचनद्धारा शान्त पार्छन् र भन्छन्- तपाईँले यहाँ मेरो ढाबाको भित्तामा देखिरहेको तस्विर मेरो अन्तस:मनको भित्तामा पनि छ, कृपया तपाईँ त्यसलाई देख्न सक्नुहुने छैन । ग्राहक अलमलमा पर्छ र जे कामले आएको हो त्यसतर्फ कुरा अघि बढाउँछ । ओशोमार्फत परिचय भएका सबै गुरुहरुप्रति उनको श्रद्धा छ । ओशोको सिफारिसलाई शिरोपर गर्दै उनी आफ्नो कर्ममा लीन भइरहेका छन् । त्यो ध्यानको बस्तीमा उनीलाई सधैँ हरियो देख्न सकिन्छ ।

धेरै वर्ष पहिले नेपाल यातायातको अन्तिम सिटमा भेटिएका थिए उनी । उनको कुनै गन्तब्य थिएन मेरो गन्तब्य बसको अन्तिम स्टप थियो । त्यसरी हामी परिचित भएका थियौं । परिचय भएपछि घण्टाभरमा युगौँ पुराना साथी बन्यौँ, अन्तरंगी कुरा छाट्यौँ र पो उनले बताएँ- आफू निस्केर यसरी उद्देश्यहीन यात्रा गर्नुको रहस्य । अकारण घुमघामा निस्कने उनको क्रमिक भाग रहेछ । कहिले सप्ता त कहिले महिनामा उनी यसरी नै निस्कने रहेछन् । पशुपति प्रिय थलो, बालकदासदेखि तान्त्रिक गुरुहरुका भोकको नास गर्न उनी जाने रहेछन् ।

किरण परेका सबै भूभाग ओवाना भएका छन्, कलुषित आत्माहरु विकिरण भन्दै भागिरहेका छन् । भिजिटिङ कार्ड बोकेर वा रंगिन लेटरप्याडमा छाप हान्ने भाडाको कोठामा उधारो टेबलकुर्सी राखेर फुर्ती गर्नेहरुदेखि असली श्रमिकहरुसम्म उज्याला भएका छन् । अफिस कार्यालयहरुको रौनक बढेको छ । बिभिन्न उमेरका साथीहरु हर्षले उम्लेका छन् । एकसरो गाढा रातो रंगको बस्त्रमा उनी के डेरा के ढाबा गरिरहेका हुन्छन् । बाघको जुँगा उखेल्न बजार निस्कदा बखत यदाकदा पुतली हेर्ने लोभले उत्तरतर्फको यात्रामा बरालिन्छन् । दशकौं पहिलेको तिब्बत राज्य अचेल चीनले कब्जा गरेको छ । दलाई लामा दलित भेषमा धर्मशालामा आराम गरिरहेका छन् । चीन सरकार किरनको पदचापदेखि सशंकित हुन्छ र क्रान्तिकारी भिक्षु ठानेर अपराधको पूर्जी हातमा थमाउँछ । किरन केवल हाँसिरहन्छन्, भन्छन्, ‘म भन्ते होइन भतुवा हो । बज्रयोेगीनीमा भात खान हिँडेको !’ चीन सरकार जिल पर्छ । चीनले नचिनेको चिलले चिलेको तालू लिएर उनी हाँस्दै तीन थाल भातको बज्र प्रहार गरी वेटरलाई चिन्तित बनाउँछन् । भातको आवाज अबेरगरी आउँछ । शहर कुकुर, बिरालो, सुँगुरका पाठा, खरायो, मुसा पालीरहेको शौखिनज्वरो सरेर किरनमा पर्छ ।

उनी झिना मसिना जुँगादारीको सेवासुश्रुषामा गम्भिर भई लागेका छन् । कामको सिलसिलामा इनामेलको बिषाक्त गन्ध सुँघेर बिर्सन्छन् । कहिले ऐना अँध्यारो भएर शोखको ख्याल गर्नबाट चुक्छन्। आगन्तुकलाई बिर्सेपनि आफैलाई नर्बिसने उनको अचुक बानीले बनतर्फको गमन सजिलो बनाएको छ । शहरमा भट्किएका आत्माहरुको सेवाउपचारमा दन्त चिकित्सकसहित काँडाहितको आत्मसुरक्षा कवचसहित फिल्डमा कयौँ पटक ओर्लिए, थचारिए । मिलेका दाँत लिएर ट्याम्के भुँडीसित लय मिलाइरहेका छन् । किरनका मस्त कथाहरु सुन्ने श्रावकहरु अनामनगरमा कैयौ छन् । उनको उपस्थिति जहाँ जहाँ हुन्छ त्यहाँ उनका कथाले गहन छाप पार्छन् ।

उनले भोगेको, उनले सुनाएको एउटा कथाको ढाँचा यस्तो थियो,
… म काम कामले थचारिएपछि ढाबा खुल्लै राखेर निस्कने गर्छु । त्यो दिन म बागबजार जान टेम्पो चढेको थिए । बागबजार निक जाँदैथिए त्यो मलाई थाहा थिएन तर ट्याम्पो ड्राइभरलाई पाउनुपर्ने भाडा ताजा बनाएर हातमा राखेको थिए । साँघुरो ठेलमेलको टेम्पोको बसाइमा लहरको पल्लो कुनामा बसेकी एक अधवैशे युवतीले डाइभरलाई नपुग्ने भएपछि मलाई भाडा थमाएकी थिइन् । त आइमाई अग्निशमन केन्द्रमा काम गर्ने जस्तो गाजल लगाएकी, रातो रंगकी लबलबालब लालगुलाब थिइन् । मैले उनको पैसा बुझेर खल्तीमा हाले । आइमाईले हाँस्दै भनिन्- ‘त्यो पैसा तपाईँलाई होइन ड्राइभरलाई, तपाईँले दिने पैसा पछि दिउँला !’ मैले भनेँ, ‘म त उधारोमा काम गर्दैन म्याडम, आज नगद भोलि उधारो !’ जवाफमा उनी हाँस्दै भनिन्, ‘उत्रिएपछि कुरा गरौँला अनि दिउँला !’

म अचम्ममा परें, के नगद के उधारो यहाँ नारायणको अवतार उत्रिन भ्याइसक्यो । कस्तो ऐँठनवाला बात भइगयो । चिनेको मिनेटभरमा उखुको बारी फँडानी गरेर गुड खान पाइने भइयो भनी मिठाइवाला गुदगुदी खेलाइरहँदा टेम्पोको अन्तिम स्टेशन आयो । सबैजना ओर्लिए, उनी पनि हाते ब्यागलाई काँधमा बोक्दै ओर्लिन् । म आफ्नो चोगा मिलाउदै उत्रिएको दृष्य उनी हेरिरहेकी थिइन्। झर्ने बित्तिकै उनले मेरो हात च्याप्प समाइन् र भनिन्– ‘आउनुहोस् तपाइसँगको हिसाब त गर्नै बाँकी छ !’ म कालो निलो भएँ, श्वास रोकियो र अब के हुने हो ? भन्नेमा फँसे । तर उनले, ‘किन आत्तिएको, खै आउनोस् मैले चिनेको होटल छ । बागबजार बसपार्कको गल्लीमा त्यही जाऔं अनि कुरा गरौँला । हाम्रो बाँकी हिसाब पनि गरौँला । जे छ त्यही गरौँला !’

हामी दुई मुस्लिमको होटलमा छिर्यौं । बहाल लिन घर मालिक काउन्टरमा बसेका थिए । घर साहु र होटलवालाबीच तातात्तो कुरा भइरहेको थियो । हामी पुगेपछि उनले कोठाको चाबी दिँदै नरम बोलीमा स्वागत गरे । एडभान्स पर्दैन- भोलि दिनुस् न, खाना ताजा छ, पछि हिसाब भइहाल्छ नि भने । हामी दुबैजना अधवैशे थियौँ । त्यसैले पनि होला भेट्नेहरुले शंका गर्ने ठाउँ थिएन । कोठामा पुग्ने बित्तिकै महिला निकै परिचित भावमा झ्यालको पर्दा लगाउन भन्छिन् । म हतार हतार बाथरुममा छिरेँ र मौनमा बसे । मनमा डर डसिइरहेको थियो । तर सोचेँ मेरो खल्तीमा भएको पैसाले होटलमा तिर्न त पुग्छ तर ढाबा जो खुल्लै छ त्यसलाई कसरी बन्द गर्ने हो । रातभरी त बस्न सकिँदैन । अब जे होला सो सहुँला भनेर बाहिर निस्केको त दृष्य अपरम्पार छ । महामहिम महिला सर्वागं भइ विस्तरामा लडिरहेकी छिन् । अस्थायी साधन हातमा लिएर स्वागतका लागी अधर फैलाइरहेकी छिन् । मैले पनि सहर्ष स्वीकार गरेर पेटिकोट उर्फ रोब उघारेर समर्पणभावमा लिन भएँ। निमेषभरको छतकुल्लीमा सरिक भएर बिहान गर्न बिर्सेको सक्रिय ध्यान सम्झिएँ । म ओछ्यानमा लडिरहेको थिएँ, उनी बाथरुममा छिरिन् । उनी आइन् म पुन बाथरुममा प्रवेश गरे र स्नान सहित ताजगी भरी फेरि कर्म प्राप्तिका लागि हाजिर भए । तर उनले लुगा लाइवरी मेकअप गरिरहेकी थिइन् । कलेजी रंगको लिपिस्टीक उनका मोटा ओठमा मयुरको कल्की जसरी बसेको थियो, भालेको सिउर जस्तो । गज्जबको बसाइ थियो र म स्खलीत भइसकेको थिएँ पहिलोचोटी नै जतिबेला उनले टेम्पोमा तातो नोट हातमा थमाएकी थिइन् । उनको अव्यक्त निमन्त्रणा र मेरो अञ्जान स्वीकृति कसरी व्यवहारमा उत्रनसक्यो अचम्म लागिरहेको थियो । म पनि लुगा लाउन थालेँ । उनले भनिन्, ‘ल अब हाम्रो हिसाबकिताव पुरा भयो । मलाई तपाईँको नाम के हो भनी सोध्नु पनि छैन, फोन  माग्ने कुरै नगरौँ। अब तपाईँ कता हिडेको मान्छे हो त्यता लाग्नुस् म पनि आफ्नो कामतर्फ लाग्छु । म पहिले निस्कन्छु र तल काउन्टरमा क्यास तिरेर जान्छु । तपाईँ केही छिनमा निस्कनु भए हुन्छ । श्रमदानका लागि तपाईँलाई हृदयदेखि धन्यवाद, यो आनन्दका लागि धन्यवाद । शायद अब कहिल्यै हामी भेटिनेछैनौ !’ भनेर उनी बिदा भइन । म हेरेको हेर्यै भए । यो कस्तो आत्मा हो जसको साक्षात्कार मध्यान्हमा पसिना निकाल्दै गर्नुपरेको छ ।

अखबार हेर्ने पढ्ने धेरैले सोचेका थिए- किरनको ढाबा अब बन्द भयो होला किनकी उनी त राजनीतिक धन्दामा छाएका छन् । तर छिमेकीहरु, परिचित पाठकहरु त्यतिबेला विस्मित परेँ जब अर्को बिहानै किरन रातो रोबमा माला सहित साबिकको भाव लिएर हल्लँदै हल्लँदै ढोका खोल्न आइपुगे

शहरमा आएदेखि धेरै आत्माहरुसँग परिचित भएको छु । ज्योतिषको विश्वास नलागेर नाम कैयौँपल्ट नाम फेरेर सहवासको तातो वाफ जरैदेखि लिएँ तर यसखाले भड्किएको आत्मा पहिलो र अन्तिम थियो । अहिले पनि ती आइमाई को होलिन्, कहाँ छिन् होला भन्ने कौतुहल लागिरहन्छ । शहरमा चल्ने टेम्पोको संख्या पातलो भएकोछ । जति छन् ती पनि रुट बदलेर, सिमेन्टको बिज्ञापन टाँसेर रुप फेरेर हिँडिरहेका हुन्छन् । तीनमा ती महिलालाई कहाँ खोजौं ?

किरनले ती महिलाबारेको कथा धेरैलाई सुनाएका थिए । बैंशमा सुनेका लोकगायक बस्नेत कुमारले त म्यारिज खेल्दाखेल्दै संगीत भरिदिएका थिए ।

दुउउउधिलो रसीइइइलो घोगामा, किरा मार्ने किरन चोगामा
रातो रिबन खोल्यो कसले, लाली जोबन लुट्यो जसले
हा बरि लैं हा बरि लैं, मार्यो बज्येले, ठोक्यो बज्जेले ।

किरनले कहेका किन्नरीका कथा निकै छन् । लामा छन्, छोटो छन् । किन्नरीहरु जसरी जीवनमा उनिन आए उसैगरी लोप भएका गएका थिए । एकसिंगे गैडाको गोदाइले थला परे कि, पाटेबाघको घुराइले डराए । मध्यरातमा झोला चप्पल बोकेर हराएका किन्नरीलाई किरन जब बिहानमा ओछ्यानमा खोज्थे तब रमाइलो दन्तमन्जनले एकरात, एकदिनका किन्नरीलाई कुल्ला गरी फाल्थे ।
किरनको छायाँ परेका दुई दृष्यहरु अमर बनेर सूर्यदेवको आगमनभन्दा पहिले अखबारमा प्रकाशित थिए । पहिलो उनले थालेको राजनीतिक यात्रामा लागेर उनी होटल याक एण्ड यतिको बाह्दलीय मिलेमतोको साझा स्टेजमा सुटबुट सहित महामहिम नेताहरुसँगै विराजमान भएका थिए त्यो पनि आम जनतादलको प्रतिनिधित्व गरेर ।

अखबार हेर्ने पढ्ने धेरैले सोचेका थिए- किरनको ढाबा अब बन्द भयो होला किनकी उनी त राजनीतिक धन्दामा छाएका छन् । तर छिमेकीहरु, परिचित पाठकहरु त्यतिबेला विस्मित परेँ जब अर्को बिहानै किरन रातो रोबमा माला सहित साबिकको भाव लिएर हल्लँदै हल्लँदै ढोका खोल्न आइपुगे। जवाफ माग्ने आँखालाई उनले भनिदिएँ, ‘भाइ यो सब नाटक हो । सम्झिलेऊ म जर्ज बनार्ड शा को नाटकवाला काल्पनिक पात्र !’

अर्को दृष्य थियो । पहिलो प्रहरमा काम खुल्दै थियो, किरन धुपबत्ती बाल्दै थिए । अकस्मात मैलो झोला बोकेको ग्राहक अप्रसांगिक कुरा लिएर विवादमा ओर्लन आएको थियो । किरनले शान्तपूर्वक सम्झाउन खोज्दा नमानेपछि जवाफमा खुर्पा सप्रेम भेट टक्राउनखोज्दा ग्राहक जीवनबचाउका लागि झोला समातेर दौडिरहेकोथियो । सिंहदरबार बैधखानामा ग्राहकले ओखती पाएपछि दिन ढलेको थियो अनिमात्र किरन शान्त भएका थिए ।

ओशोका परम शिष्य किरनको ओशोप्रेम अगाध छ । बालसुलभता साँधेको फोटो मालामा झुण्डाएर छिमेकमा रोब रवाफ सहित हल्लीरहने उनको देवआन्नदकालिन् स्टाइल हो । भन्छन्, ‘म देवआनन्द भन्दा बिनोद खन्नाको फ्यान बढी हुँ !’ पछि रहस्य खन्दा पत्ता लाग्यो, बिनोद खन्ना र किरन सहोदर गुरुभाई रहेछन् । एकजना एक्टर बिनोद खन्नाको भेषमा कसरी प्रशिद्धीको हिमशिखर र ताता चर्मगुफा ओढेर बम्बई नगरीको रिलका डिब्बामा भरियो र हरायो । स्वामी बिनोद भारती आवरणमा आत्माको सुक्ष्म गीत सुन्यो र ब्रह्माण्डमा बिलय भयो । यता किरन प्राचिन नेपाल उपत्यकाबासी बनि धोबिखोला किनारमा आफ्नो प्रतिती हेरेर हाँसीरहेकाछन्, गुरुलाई धोबी बनाएर आफूभित्रको मनमैलालाई ध्यानको साबुनले धोइपखाली सुकाइरहेछन् । छिमेकी अम्बरगीत पनि सुन्न भ्याउछन्, दुइ ढुंगालाई तरुल बनाएर बिचमा भाला समातेर बसेको अम्बरगीतको शिरमा ठडिएको नेपाली ढाकाटोपी ३०० बर्ष पुरानो शाहयुग सम्हालेर एकता नेपाल अठ्याएर धोबिखोलामा स्नान गरिरहेकोछ ।

पुरानो नदी नयाँ खोला बन्दासम्म उही रित र बेग नरहने रहेछ । विगतको होर्डिङबोर्डका खुइलिँदै गरेका अक्षर हेरेर किरन खल्ती छाम्छन् । मनमनै गम्छन्, अलिक पर जानु छ, एक कप चिया पिउनु छ । कोही भाग्यमानी छन् भने लिलाअवतारमा कथा कहनु छ ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्