मेस्सीसहितका खेलाडी प्रशिक्षणमा फर्किए

लियोनल मेस्सी र बार्सिलोनाका उनका साथी खेलाडीहरु शुक्रबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

लिग आयोजक ला लिगाले खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि परीक्षण गरेपछि उनीहरु व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्ये एक स्पेन सरकारले संक्रमण नियन्त्रणमा आउने क्रम जारी रहेपछि लकडाउन खुकुलो पार्दै लगेको छ ।

सोही क्रममा रोकिएको लिग सुरु गर्नका लागि व्यक्तिगत प्रशिक्षण थालिएको हो । आउँदो जुनमा बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना नै ला लिगा फुटबलको यो सिजनका बाँकी खेलहरु गर्ने तयारी छ ।

ला लिगा सुरु गर्नका लागि चार चरणका रणनीति छन् । पहिलो चरणमा तालिमका लागि तयारी, त्यसपछि व्यक्तिगत प्रशिक्षण, समूहगत प्रशिक्षण र एकीकृत टिम प्रशिक्षण हुने छ ।

जर्मन बुण्डेस लिगा फुटबल यहि मे १६ देखि सुरु हुने निश्चित भइसकेको छ र ला लिगाले पनि तयारी तीव्र बनाएको हो ।

त्यसका लागि खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गर्नु भन्दा दुई दिन पहिला परीक्षण गर्नु पर्छ । यस्तै प्रशिक्षणमा सहयोग गर्ने क्लोचिङ्ग स्टाफ र क्लबका कामदारको पनि परीक्षण गरिन्छ । संक्रमण देखिने व्यक्ति र उसको सम्पर्कमा आएका व्यक्ति आइसोलेशनमा बस्नु पर्छ । संक्रमण नदेखिएका खेलाडीले व्यक्तिगत प्रशिक्षण गर्न पाउने छन् ।

तेस्रो चरणमा टिमका खेलाडीले ८ जनाको समूहमा बाँडेर प्रशिक्षण गराइने छ । चौथो चरणमा पूर्ण टिमको पूर्ण प्रशिक्षण गर्ने तयारी रहेको छ ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्