फाइल तस्बिर

झापा – देशभर जारी बन्दाबन्दी झापामा केही खुकुलो बनाउने निर्णय भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको आयोजनामा शुक्रबार भएको छलफलमा न्यूनतम मापदण्ड पूरा गरि पसलहरू चार घण्टा खुलाउने निर्णय गरेको हो ।

सर्वपक्षीय बैठकमा जिल्लाका बजारमा रहेका खाद्यान्न, मल, विउविजन, हार्डवेयर, इट्टा विक्री केन्द्र, बैङ्क तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसलहरू बिहान ८ बजे देखि दिउँसो १२ बजेसम्म सङ्घीय सरकारले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

सरकारले शुक्रबारदेखि ४४ प्रकार उद्योग सञ्चालन गर्ने अनुमति दिएसँगै त्यसलाई जिल्लामा कार्यान्वयन गर्ने, गराउने विषयमा बैठक बसेर यस्तो निर्णय गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

उद्योगहरूले कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने, काम गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क र हात धुने व्यवस्था अनिवार्य मिलाउनु पर्ने, कर्मचारी तथा मजदुरहरूलाई अनिवार्य परिचय–पत्र दिएको हुनुपर्ने र ढुवानीका साधन चालक र सह–चालकको अनिवार्य परिचय–पत्र हुनुपर्ने निर्णय गरिएको छ।

त्यस्तै खाद्यान्न, औद्योगिक उत्पादन र कृषि प्रयोजनका ढुवानीका साधनहरूको हकमा पास आवश्यक नपर्ने र त्यस्ता सवारी साधनका चालक र सह–चालक बाहेक अन्यलाई यात्रा गराइएको पाइएमा कानुनी कारबाही हुने बैठकले निर्णय गरेको छ।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्