कविता

फिर्ता गरा लिम्पियाधुरा, बरु मेरो बली चढाइदे

लक्षीराम आचार्य

नालायक बरु मेरो शीर
छिनालेर लैजा
दिन सक्दैन मेरा हिमालहरु
बरु मेरो मुटु, कलेजो लैजा
तर सुम्पिन तयार छैन म
ब्रहमदेव, प्याराताल,लालबोझी सुस्ताहरु

बरु लैजा टुक्राटुक्रा पारी
मेरा हात खुट्टाहरु
तर सुम्पिन सक्दैन म
विश्वलाई चिन्न सक्ने
मेरा स्वाभिमानी न्यायका आँखाहरु…

कति सहन सक्छु र अब त
उती बेला मेरो देश भूकम्पले
थिच्चिएको मौका पारिस्
अहिले कोरोना ले कैदी बनाएको बेला
फेरि ब्यास, गुन्जी हुँदै लिपुलेक को
मेरो शरीर लाई चिरेर
आफू परेढ खेल्ने दुस्साहस गर्दैछस् विस्तारवादी…

तर किन निरीह बन्यो
मेरो देश को बहादुर सरकार ?
म सोध्दैछु उसलाई पनि
पूर्वको माने भञ्ज्याङ्बाट
ठिङ्ग पश्चिम फर्किएर..
मन दौड्दैछ नयाँ मोडमा
हिल्सा,लोमान्थाङ्ग र किमाथांका
के गर्दैछ भनेर
अनि चौतर्फी मेरा सीमारेखाहरु
जङ्गे पिल्लरसङ्ग बोल्दैछन् कि छैनन्?

बोल्नु पर्छ मेरो सरकार
मैले सोधेको प्रश्नमा
खोल्नु पर्छ सबै
के हुँदैछ मेरो देशको सीमानामा ??

सक्दैनस् भने मेरो सरकार
लिपुलेक कालापानीमा
मलाई लगेर उभ्याइदे
फिर्ता गरा लिम्पियाधुरा
बरु मेरो बलि चढाईदे…

(लेखक राष्ट्रिय जनमोर्चा कैलालीका पूर्व अध्यक्ष हुन् ।)

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्