काठमाडौँ – लकडानउनका बिच पनि लिपुलेक–कालापानी क्षेत्रमा भारतले सडक बनाएको विरोधमा युवा–विद्यार्थीले प्रदर्शन गरे ।

माइतीघरमा युवा–विद्यार्थीहरुले शनिबार दिउँसो भारतले नेपाली भूमि मिचेका तथा नेपाल सरकार त्यसप्रति मौन रहेको विरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘सरकार…सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ सहितका नारा लेखिएका कालो ब्यानर बोकेका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न खोजे पनि उनीहरुले प्रदर्शन गरे ।

केही बेरमै प्रहरीले पक्राउ गरेर भ्यानमा हाल्यो । प्रदर्शनकारीहरु भने नेपाली भूमि मिचिएको विरोध गरिरहेका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु गरिएको भए पनि भारतले बाटो बनाएपछि युवा–विरोधमा उत्रिएका हुन् ।

सीमा बचाउन अभियान अन्तर्गत कालो पट्टी बाँधेका प्रदर्शनकारीहरुले ‘नेपाल सरकार सीमा जोड, भारत सरकार सीमा छोड’ सहितका नारा लगाएका थिए । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले प्रदर्शनको तस्बिर खिचेकी छन् ।