नेपालगञ्जमा पछिल्लो पटक परीक्षण गरिएका ५६ वटा नमुनाको पीसीआर रिपोर्ट नेगेटिभ

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो पटक परीक्षण गरिएका ५६ वटा नमुनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

खजुरा र नेपालगञ्जका गरी ५६ वटा स्वाव परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार वैशाख २५ गते नेपालगञ्जमा ३० र खजुरामा १८ जनाको स्वाव संकलन गरिएको थियो।

खजुराको रनियापुर, सोनपुर र उढरापुरमा ५/५ जना, डीगाउँ, भण्डारिया र क्यान्सर अस्पतालका एक/एक जनाको स्वाव संकलन गरिएको थियो।

दुई हजार टेष्ट किट र एक हजार भीटीएम आएको बाँकेमा शनिबारदेखि द्रुत गतिमा स्वाब संकलन भइरहेको छ। २४ जना संक्रमित देखिएको नेपालगञ्जमा उनीहरुको सम्पर्कमा आएका व्यक्तिसँगै कोरोनाविरुद्धको अभियानमा निरन्तर फिल्ड खटिएका जनप्रतिनिधिहरुको स्वाब परीक्षण थालिएको छ।

शनिबार प्रदेश सांसद, नेपालगञ्जका मेयर, उपमेयरसहित आधा दर्जन वडाध्यक्षको स्वाब लिइएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्