उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

मोरङ– उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ११० पुगेको छ।

विराटनगरस्थित कोशी अस्पतालका अनुसार शनिबार बेलुका थप १ जना महिलामा कोभिड १९ पोजेटिभ देखिएको हो।

यसअघि शनिबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो। एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो।

उदयपुर त्रियुगा नगरपालिका ३ स्थित भुल्के क्षेत्रबाट २ सय ३७ वटा स्वाबको नमूना ल्याइएकोमा ४ जनामा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालकी नि.मेसु डा.संगीता मिश्राले जानकारी दिइन्। उनका अनुसार सबै संक्रमितको अवस्था सामान्य छ।

यससँगै केन्द्रमा कुल २१ जना संक्रमितको उपचार भइरहेको कोशी अस्पतालले जनाएको छ। यसअघि केन्द्रमा उदयपुरका १४ जना, झापाका २ जना र भोजपुरबाट १ जनाको उपचार भइरहेको थियो।

नयाँ ४ जनामा पोजेटिभ देखिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। जसमा ६ महिला र बाँकी पुरुष छन्।

कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत संक्रमितमध्ये निको भएका ६ भारतीयसहित १४ जनालाई रानीस्थित मदरसाको क्वारेन्टाइनमा राखिएको छ। अन्य १४ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ।

शनिबार नै पर्साका एक र कपिलबस्तुका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

बैशाख २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्