अन्तर्वार्ता

‘रेष्टुरेन्ट व्यवसाय पहिलेकै अवस्थामा फर्काउन लकडाउनपछि आन्तरिक पर्यटनमा जोड दिनुपर्छ’

कोरोना भाइरसकाे जाेखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउनको घाेषणा गर्‍याे। लकडाउनका कारण डेढ महिनादेखि उद्याेगधन्दा, कलकारखाना, व्यापार व्यवसाय ठप्प छन्।

लकडाउनका कारण हाेटल तथा रेष्टुरेन्ट व्यवसायसमेत बन्द भएका छन्। अहिलेको अवस्था बढ्दै गए यस क्षेत्रमा कार्यरत कैयाैँ व्यक्तिहरुले राेजगारी गुमाउन सक्ने जाेखिम छ।

कोरोना भाइरसको प्रकोपले रेष्टुरेन्ट व्यवसायमा परेकाे असर र भावी याेजनाका बारेमा हामीले रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपालका अध्यक्ष अर्निको राजभण्डारीसँग कुराकानी गरेका छाैँ। प्रस्तुत छ,  उक्त कुराकानीको सम्पादित अंशः

अहिलेको अवस्थामा रेष्टुरेन्ट व्यवसाय  ठप्प छ, लकडाउनपछि कुन रुपमा व्यवसाय संचालन गर्ने योजना छ ?

लकडाउनका कारण होटल तथा रेष्टुरेन्ट व्यवसाय ठप्प छन्। सरकारले लकडाउन थपेको थप्यै छ। अहिले रेष्टुरेन्ट खोले पनि चल्दैनन्। त्यसैले लकडाउन खुलेपछि हामीले रेष्टुरेन्टमा नेपालमा नै उत्पादन भएका वस्तुहरुको प्रयोग गर्ने गरी रेष्टुरेन्ट संचालनमा ल्याउने सोचिरहेका छौँ।

यसो गर्दा नेपालमा उत्पादन भएका वस्तुहरुको खपत नेपालमा नै हुने भयो र आयात घट्ने भयो। यसो गर्दा नेपालीहरुले नै पैसा पाउने भए। रोजगारीको पनि सिर्जना हुन्छ।

रेष्टुरेन्ट व्यवसायलाई पहिलकै अवस्थामा फर्काउन के गर्नुपर्ला?

रेष्टुरेन्ट व्यवसायलाई सन्तुलनमा ल्याउने मुख्य कुरा भनेको आन्तरिक पर्यटनमा जोड दिनुपर्छ। चाडपर्व, छुट्टीमा देश बाहिर घुम्न जानेहरुले आफ्नै देश घुम्नु पर्‍यो।

सरकारले पनि आन्तरिक पर्यटनमा जोड दिन राम्रो नीति ल्याउनु पर्‍यो। यसो गर्दा देशको पैसा देशभित्रै रह्यो। एक दुई वर्ष भए पनि स्वदेशका लाई स्वदेशमा नै घुम्न प्रोत्साहन गर्ने हो भने रेष्टरेन्टले पुनर्जीवन पाउँछ। देशको अर्थतन्त्रमा पनि फाइदा पुग्छ।

रेष्टुरेन्ट व्यवसायमा आश्रित कामदारहरुकाे बारेमा के साेच्नुभएको छ? 

मुलुकभर करिब दर्ता भएका ३५ सय रेष्टुरेन्ट रहेका छन्। जसमा पत्यक्ष रुपमा लगभग ६५ हजारभन्दा बढी कामदार रहेका छन्। हामीले उनीहरुलाई लकडाउन भएपनि जसोतसो गरेर चैत महिनाको तलब दियौँ। तर लकडाउन भएको पनि एक महिनाभन्दा बढी भइसक्यो।

आगामी दिनहरुमा कठिन छ। तर पनि हामीले उनीहरुको आवश्यकतालाई हेरेर पेश्कीका रुपमा दिइरहेका छौँ। समस्यामा परेकाहरुलाई पेश्कीका रुपमा ५–१० हजार रुपैयाँ दिइरहेका छौँ। तर पूरा तलब दिएका छैनौँ। उनीहरुलाई कामबाट पनि निकालेका छैनौँ।

तर यो समस्या केवल लगानीकर्ताको मात्र होइन। हामी सबैको हो। त्यसैले एकलाई मात्र भार पर्ने गरी काम गरिनु हुँदैन। सरकारले पनि सहयोग गर्नुपर्छ। अहिले अप्ठेरो परिस्थितिमा श्रमिकहरुले पनि दुई चार पैसा छोडे, रोजगारदाता तथा सरकारले पनि सहयोग गरे हाम्रा र श्रमिकहरुका समस्या पनि समाधान हुन्छन्।

हाम्रो कर्मचारीको १२ देखि ४० हजारसम्म तलब हुन्छ। हामीले कर बुझाएकै छौँ। पछि परिस्थिति राम्रो भए बढी पनि तिर्न सकिन्छ। तर अहिले सरकारले सहायता गर्नुपर्छ।

श्रमिकलाई मात्र तलब दिएन भन्ने कुरा राम्रो होइन। सबैलाई सहुलियत हुने गरी अगाडी जानुपर्छ।

अप्ठेरो परिस्थितिमा एक पक्षलाई मात्र लादेर होइन सबैलाई श्रमिक, व्यवसाय सरकार बराबर भएर अगाडी बढ्नुपर्छ। एक पक्षलाई मात्र लोड हुनेगरी पक्कै पनि सफल भइँदैन।

व्यवसायीहरुका मागप्रति सरकार सहमत भएन भने के गर्नुहुन्छ?

यो समस्या हाम्रो मात्र होइन सरकारको पनि हो। तर सरकारले यसमा जिम्मेवारीपूर्ण निर्णय लिनुपर्छ। यदि व्यवसायीले नै आफ्नो कलकारखाना बन्द गरे या हड्ताल गरे श्रमिकलाई तलब दिनुपर्ने कानूनमा नै उल्लेख छ। तर यो अवस्था हामीले पनि सिर्जना गरेको होइन।

यस विपतमा ३४ देखि ३५ प्रतिशत रोजगारदाताले, ३० देखि ३३ प्रतिशत श्रमिकले छोड्नुपर्छ र ३३ प्रतिशत नेपाल सरकारले सहयोग गर्नुपर्छ। होइन भने विभिन्न समस्याहरु उत्पन्न हुन्छन्।

राजश्वमा रेष्टुरेन्ट व्यवसायको योगदान कति छ?

रेष्टुरेन्टबाट दैनिक ७/८ करोडको कारोबार हुन्छ। त्यसमा हामीले दैनिक हिसाबले ९० लाखदेखि एक करोडसम्म राजस्व बुझाउँछौ।

अहिलेको अवस्थामा व्यवसायीको लगानी सुरक्षित होला त?

लकडाउन खुलिहाले पनि उपत्यकामा मात्र खोलेर, पोखरा मात्र खोलेर त्यहाँ आन्तरिक व्यापार गर्न सके केही हदसम्म व्यवसायीहरुलाई सहज हुन्छ। जुन ठाउँमा बढी जोखिम छ, त्यसको पहिचान गरी त्यहाँ कडा व्यवस्था गर्नुपर्छ।

तर जोखिम नभएको ठाउँमा भने केही खुकुलो बनाएर संचालनमा ल्याउनु पर्छ। धेरै राहत नपुगे पनि केही लगानीको सुरक्षा गर्न सकिन्छ होला। सबै अप्ठेरालाई पार गर्दै जानुपर्छ।

लकडाउनले  नयाँ व्यवसायीहरुलाई कस्ताे असर पारेको  छ?

सरकारले स्वरोजगारको योजना ल्यायो। विदेशका श्रमिकलाई पनि नेपाल फर्किन भन्यो। तर सरकारले के बुझ्नु पर्‍यो भने भर्खर व्यवसाय सुरु गरेका नयाँ व्यवसायीहरुले अरुसँग सर–सापटी तथा ऋण गरेर सुरु गरेका हुन्छन्। उनीहरुले बजारमा आफ्नो पकड जमाएका छैनन्।

अहिले सरकारले केही सहयोग नगरे नयाँ व्यवसायी हतोत्साही हुनेछन्। नयाँ व्यापार व्यवसाय नै गर्दैनन्। नयाँ मान्छेलाई व्यवसायप्रति घृणा हुने परिस्थिति सिर्जना नगर्न सरकारलाई आग्रह छ। सरकारले त्यसका लागि राम्रो वातावरण मिलाउनु पर्छ।

बेरोजगारीको समस्या बढेपछि त्यसले समाजमा पार्ने असर के हाेला?

अब हामीले श्रमिकको माग घट्ने देखेका छौँ। यदि यो समस्या केही समयमा नै ठिक हुन्छ भने त्यति क्षति नहोला। तर लामो समयसम्म रहने हो भने बेरोजगारी सिर्जना हुन्छ। धेरै बेरोजगार हुन्छन्। जसले भोकमरी, सामाजिक असमान्ता, अपराधिक क्रियाकलाप लगायतका समाजमा नकरात्मक असर पर्ने देखिन्छ।

बैशाख २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू