वीरगञ्जको फ्रन्टलाइनमै खटिएकी छन् पाशुपती जैसवाल

फाइल तस्बिर।

सेतो रंगको गाडी आएर टक्क अडियो।  उनी थर्मल गन लिन गइन्।

भारत बिहारको नम्बर प्लेट भएको गाडीको पछाडी तरकारीका बोरा थिए। ड्राइभरले ढोका खोले। सेतो सर्ट र खैरो पाइन्ट लगाएका उनी अगाडि बढे। खुट्टामा चप्पल अनि मुखमा कालो मास्क थियो उनको। सानो काठको बुथतिर उनी लम्किए।

तीनतिरबाट प्लाइले घेरेर एकतर्फ अलिकति सिसा लगाइएको छ। सिसामा सानो प्वाल। ड्राइभरले सिसा नजिकै अनुहार लगे। भित्रबाट उनले गनले तापक्रम जाँचिन्। सबै ठिक भएको इसारा उनले भित्रबाट गरिन्। ड्राइभर गाडीतिर लागे, उनी बुथबाट बाहिर निस्किइन्।

काम अलि गाह्राे छ। तर गर्नु छ पाशपती जैसवाललाई। डर पनि छ तर त्यो भन्दा धेरै सतर्क छिन् उनी। हरेक दिन नगरे पनि हुन्थ्यो भन्ने परिवारको आग्रहले उनलाई जिम्मेवारीबाट पछाडि हटाउँदैन।

‘परिवारले त भनिहाल्छ नि,’ उनी भन्छिन्, ‘तर म जिम्मेवारीबाट पन्छिनु हुँदैन। चाहिएको बेला म पछाडि हटेँ भने कसरी स्वास्थ्यकर्मी हुनसक्छु?’

उनी वीरगञ्जकी स्थानीय, महानगरको १६ नम्बर वडामा उनको घर छ। भारतसँगको सीमाना नजिकै पर्छ उनको घर। स्थानीय स्वास्थ्य चौकीकी अनमी हुन् उनी।

थोरै डर, धेरै सतर्क अनि जिम्मेवारी बाकेर उनी हरेक दिन घरबाट निस्किन्छन् परिवार सम्झँदै। सीमामा भारतबाट आउने चालक तथा सहचालकको तापक्रम नाप्ने जिम्मेवारी उनको छ। पीपीई, थर्मल गन, मास्क, फेस सिल्ड लगायतका सामग्री उनकाे साथमा हुन्छन्।

नेपाल–भारत सीमाको वीरगञ्ज–रक्सौल नाका। मितेरी पुलपारी रक्सौल वारि वीरगञ्ज। सबै शान्त। अवस्था सामान्य भएको भए यो शान्त हुने थिएन। सयौँ गाडी, हजारौ मानिस यो बाटो हुँदै ओहोर दोहोर गरिरहन्थे। पाशपती जैसवाललाई मतलव पनि हुने थिएन। उनी अफिस वा घरमा हुने थिइन्।

तर अवस्था त्यस्तो छैन। कोरोना भाइरसले मानिसहरुलाई सताएको छ। सीमामा बसेर नेपाल आउने हरेक मान्छेमा उनको नजर हुन्छ। हरेक दिन भारतबाट सामान ल्याएर नेपाल आउने गाडी चालकको उनले स्वास्थ्य जाँच गर्छिन् उनी। आफ्नो स्वाथ्यको जोखिम मोलेर।

सीमानाको मितेरी पुलभन्दा लगभग २ सय मिटर वर प्रहरी चौकी छ दाँयातर्फ। चौकीको कम्पाउण्डमा जोडिएको दुईवटा सटर भएको साना भवन छ। भवनमा लेखिएको छ ‘हेल्प डेस्क’। अगाडि बसिरहेकी भेटिन्छिन् जैसवाल। एकजना प्रहरी, एक जना सशस्त्र पीपीई लगाई हातमा वाकीटाकी बाकेर उभिएका छन्। जो उनलाई साथ दिन्छन्।

चौकीको गेट अगाडि रुखको छहारीमा छ बुथ। आधुनिक हैन, स्थानीय तहमै प्लाइ र सिसा जोडेर बनाइएको हो बुथ। यही भित्रबाट उनले तापक्रम जाँच्ने गर्छिन्।

वीरगञ्ज महानगरपालिकाले गत वर्ष फागुनबाट नै यो हेल्प डेस्क सञ्चालन गरेको हो जब कोरोना भाइरस चीनबाट सुरु भएर विश्वभरी फैलँदै थियो। स्थानीय स्वास्थ्य चौकीमा काम गर्ने उनी कार्यालयमा आग्रह गर्थिन् आफूलाई पठाउन। तर उनको त्यो इच्छा केहीपछि पुरा भयो। उनी चैत महिनाबाट यहाँ खटिएकी छिन्।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले नाका सिल गरेको छ। मानिसहरुको आवत जावत ठप्प छ। तर अत्यावश्यक खाद्यान्न, तरकारी, नुन, तेलका गाडीहरु आइरहेका छन्।

हप्ताको तीन दिन दुई सिफ्ट गरेर गाडीहरु नेपाल आउने गरेका छन् । ती दिनमा करिब दुई सय गाडीहरु नेपाल भित्रिइरहेका छन्।

ती गाडीमा पारीबाट आउनेहरुले संक्रमण नेपालमा नल्याउन् भन्नेमा उनी सतर्क छिन्। तापक्रम नाप्ने र देखिएमा आइसोलेसनका लागि खबर गर्ने उनको जिम्मेवारी हो। ‘तर भगवानको कृपाले मैले जाँचेकोमध्ये अहिलेसम्म कसैलाई त्यस्तो देखिएको छैन, आइसोलेसनमा राख्नु परेको छैन,’ हाँस्दै उनले भनिन्।

तर यता उनी बस्ने महानगरभित्र भने संक्रमण देखिएको छ। सुरुमा तीन जना मात्र देखिएको थियो, सतर्कता अपनाएको थियौँ, अहिले दिनदिनै बढ्दै छ, डर बढ्दै गएको छ,’ उनले भनिन् । आफैँ संक्रमित हुन्छु कि भन्ने डर उनमा छ। उनी संक्रमित भएमा उनको परिवार पनि संक्रमित हुनेछ। उनका छोराछोरी संक्रमित हुनेछन्।

‘तर सबै जना डराएमा को अगाडि आउने, हेल्थ डेस्क कस्ले हेर्ने?’ उनले भनिन्। सतर्क रहने हो त्रासमा रहने होइन् भन्न उनी भ्याइहाल्छिन्। जे पर्छ, पर्छ डटेरै गर्ने हो भन्दै गर्दा मुस्कुराएको मास्क लगाए पनि उनको आँखाले बताउँथ्यो।

लकडाउनको पूर्ण पालना सबैले गर्नुपर्ने उनको सुझाव छ। वडा नम्बर २ र ३ जस्तै अन्य वडाहरु पनि सिल गर्नुपर्ने उनको सुझाव छ। सिल गरेमा अन्य समुदायमा संक्रमण फैलने छैन, उनले भनिन्। संक्रमण धेरै देखिएपछि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ र ३ सिल गरिएको छ जुन घण्टाघर हुँदै सिमा नाका पुग्ने सिधा अनि मुख्य बाटोमा पर्छ।‘सावधानी त अपनाएका छौँ,’ उनले भनिन्, ‘तर यहीँ टेस्ट गर्ने व्यवस्था भएको भए राम्रो हुने थियो। ज्वरो नापेर भन्दा पनि टेस्ट गर्नु ढुक्कको उपाय हो। तत्काल टेस्टमा पोजेटिभ आएमा आइसोलेसन वा फर्काउन सकिन्थ्यो नेगेटिभ आएमा छोड्न सकिन्थ्यो,’ उनले भनिन्।

२५ वर्ष भयो उनी स्वास्थ्य पेसामा लागेको। उनले कहिल्यै यस्तो आपत देखिनन्। मान्छेको मनमा त्रास देखिनन्। एउटा मान्छे अर्को मान्छे देखेर डराउनु पर्ने अवस्थाको साक्षी उनी नजिकबाट बनेकी छिन्।

भिडियाे:

उनको हरेक दिन यही नाकामा बित्छ। सावधानी पूर्वक आउँछिन्, दिनभर चेकजाँचमा व्यस्त हुन्छिन् अनि सावधानीपूर्वक बेलुका घर पुग्छिन् । ‘घरमा जाने बित्तिकै सुरुमा बाथरुम पस्छु,’ उनले भनिन्, ‘अहिले लगाएको लुगा सबै फाल्छु, नुहाउँछु अनि अरु काम गर्छु।’

अनि छोराछोरीलाई अँगालोमा हाल्न पाउँछिन्। परिवारसँगै बसेर खाना खान्छिन्।

बैशाख २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्