कविता

हामीबाट छुटिरहेछ आफ्नै आयु

छाँयाबाट मान्छे छुटेसरि

शीतबाट रात छुटेसरि

बगरबाट नदी छुटेसरि

क्षितिजबाट धर्ति छुटेसरि

शिरबाट बाआमाकाे हात छुटेसरि

धुनबाट बाँसुरी छुटेसरि

बर्सेनि छुटिरहेछन्

एउटा-एउटा गर्दै अंकहरू।

 

बिजगणितका

जाेड, घटाउ गुणन, भाग

अप्सनल म्याथका

अल्फा, बिटा

नबुझ्नेले पनि बुझिदिन्छ सजिलै

हामीबाट छुटिरहेकाे

समयका पदचापमात्र नभई

आआफ्नै आयु रहेछ

जिजिविषा रहेछ।

प्रत्येक नयाँ वर्षले

छाेट्याउँदै लाँदाे रहेछ

जगतसँगकाे मिलनकाे पल।

 

क्यालेन्डरबाट जतिपटक

नयाँ वर्षका पाना

पल्टाउँदै लान्छ ऋतुले

त्यत्ति नै प्रियजनकाे स्मृतिबाट

धूमिल हुँदै जान्छ छुटिजानेकाे छायाँचित्र।

बैशाख २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्