स्पेनका शीर्ष दुई लिगका पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण

लियोनल मेस्सीसहितका बार्सिलोनाका खेलाडीहरु झण्डै दुई महिनापछि शुक्रबारदेखि प्रशिक्षणमा फर्किएका छन्।

कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको स्पेनिस लिगा लिगासहितका लिगमा यो सिजनका बाँकी खेलहरु सुरु गर्ने तयारी भइरहेका बेला पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ला लिगाका शीर्ष दुई लिगका पाँच खेलाडीमा कोभिड–१९ पुष्टि भएको हो । पाँचै खेलाडीमा संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । नाम सार्वजनिक नगरिएका पाँचै खेलाडीलाई आइसोलेशनमा राखिएको छ ।

संक्रमित खेलाडीहरुको नियमित परीक्षण हुने र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेलाडीहरु प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ ।

कोरोना भाइरसका कारण रोकिएको लिग सुरु गर्नका लागि सबै खेलाडीहरुको परीक्षण हुँदा शीर्ष दुई लिगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो । स्पेनिस लिगका खेलाडीहरु हाल व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

आउँदो जुनमा बन्द रंगशालमा खेल गर्ने गरी तयारी भइरहेको छ । स्पेनमा कोरोना भाइरसका कारण २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने दुई लाख २४ हजार भन्दा बढी संक्रमित छन् ।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्