सातदोबाटो क्षेत्रको चक्रपथका दुई किनार अहिले निलो रंगमा रंगिएको छ ज्याकाराण्डा फूलका कारण । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा अहिले निलो–बैजनी रंगको ज्याकाराण्डा फुलेको छ । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
फाेटो फिचर

ढपक्कै फूल्यो ज्याकाराण्डा, मौसम बैजनी

फेरि एकपटक काठमाडौँ शहरका विभिन्न क्षेत्र बैजनी–नीरो रंगमा रंगिएका छन् । रहेक वसन्तजस्तै यो पटक पनि फुलेका छन् काठमाडौँका सडक छेउमा नीलो रंगका मसिना फूलहरु।

अधिकांशले ‘शिरिषको फूल’ भनेर बुझ्ने गरेको यो नीलो फूलको वास्तविक नाम हो–ज्याकारान्डा । नीलो रंगको ज्याकारान्डा ढपक्कै फूलेका छन् दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदबार, सातदोबाटो, गौशालासहितका क्षेत्रमा ।

विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छ । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ ।

अहिले काठमाडौँ आसपासमा फूलेको यो फूल ज्याकारान्डा मिमोसिफोलिया प्रजातिको हो । यसको पात र शिरिषको फूलको पात उस्ताउस्तै भएकोले गर्दा यसलाई नीलो शिरिष पनि भनिन्छ । तर यिनीहरुमा समानान्तर देखिने भनेको पात मात्रै हुन्, दुवैका पात मसिना हुन्छन् ।

ज्याकारान्डा रैथाने नभई आगन्तुक अर्थात पाहुना फूल हो । यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट नेपाल आइपुगेको बताइन्छ । दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ ।

बैजनी–नीलो रंगको फूल यो वर्ष विगतमा भन्दा अझ गाढा देखिएको छ, कारण लकडाउनका कारण बजार सुनसान छ । सुनसान शहरमा ज्याकारान्डाले केही समय रंग भर्छ । झरेका फूलहरुले बाटो पनि रंगिन छ । मौसमै बैजनी छ ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा फूलेका ज्याकारान्डाको बैजानी–नीलो रंग केही तस्बिरमा समेटेकी छन् ।