अर्थ समितिमा सहकारी अगुवाले सुनाए किसानका समस्या

काठमाडौँ – लकडाउनका कारण किसानले उत्पादन गरेको सामग्री कालिमाटी तरकारी बजारमा बिक्री गर्न नसकिएको साना किसान सहकारी संगठनहरुले बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको सोमबारको बैठकमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले किसानले उत्पादन गरेको कृषि उपज कालिमाटी तरकारी बजारमा बिक्री गर्न नसकेको गुनासो गरेका हुन् । उनले कालिमाटी तरकारी बजारमा ८ बजे भित्र बिक्री गर्न नसके किसानले आफ्नो तरकारी घर फिर्ता गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘काठमाडौँमा हामी आफैले गाडी ल्याएर पनि बिक्री वितरण गरिराखेका छौं । तर ८ बजे भित्र बिक्री गर्न सकेन भने फर्काएर घर लैजानुपर्ने अवस्था छ । यहाँ सहकारीका किसानले ल्याएर डोको विसाउने ठाउँ छैन ।’

लकडाउनले तरकारी बिक्री नभएपछि किसानले सबै सित्तैमा दिनुपर्ने अवस्था आएको समेत अध्यक्ष पाठकले बताए । किसानले दुःख गरेर उत्पादन गरेका उपज बजारसम्म ल्याएर कमसेकम मूल्य पाउने वातावरण सिर्जना गर्ने विषयमा छलफल चलाउन समितिलाई आग्रह गरे ।

तरकारी तथा फलफुल संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानद्धारा सञ्चालित सहकारीको पहुँच नभएको बताए । आफूहरुले सरकारसँग माग राखेपछि ९ प्रतिशत स्टल पाउने सहमति भए पनि त्यहिँका व्यापारीले कब्जा रहेको उनले बताए । उनले कालिमाटीमा ठाउँपाउन नसकेपछि आफूहरु अन्यत्र ठाउँ खोज्न बाध्य भएको समेत बताए ।

कृषि क्षेत्रको विकासका लागि प्रत्येक प्रदेशमा आधुनिक बहुउद्देशीय नर्सरी कम्तिमा एउटा बनाउनै पर्ने अध्यक्ष पाठकले बताए । किसानलाई सबैभन्दा पहिला गुणस्तरीय बीउको समस्या हुने भएकाले त्यसको समाधानका लागि प्रत्येक प्रदेशमा एक–एक बीउ उत्पादन गर्ने नर्सरी आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले लकडाउनका कारण सबै कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति भएको बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि वित्तीय क्षेत्रमा सहकारीको भूमिका अझै बढेकाले यस क्षेत्रलाई पनि सहयोग चाहिने बताए ।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू