पत्रकारितामा मेरो ‘चर्को प्रोफेसन्यालिज्म’

शीर्षकमात्र पढ्दा घमण्डी सुनिन सक्छु। यो मेरो दाबी होइन। ममाथि लागेको आरोप हो। एक प्रसंगमा ममाथि एक पत्रकार साथीले मलाई यस्तो आरोप लगाएपछि निकै घोत्लिएँ आत्मसमीक्षामा। शब्दार्थ खोज्न थालेँ, ‘चर्को प्रोफेसन्यालिज्मको।’ अर्थ सकारात्मक नै फेला पारेँ।

उनले लगाएको आरोप जस्तो सुन्दा वा पढ्दा त्यसको नकारात्मक सन्देश त्यो शब्दले वहन गर्दैन भन्नेमा म निश्चिन्त भएँ। साथीले लगाएको आरोप मेरो उज्ज्वल भविष्यको संकेत पनि रहेछ भन्ने मनमनै लाग्यो। चिन्तित भइनँ। उनले उपमा दिँदाको नेगेटिभ कोनोटेसन देखेरचाहिँ एकप्रकारले उदेक लाग्यो।

फोकटको उपमा म पत्रकार भएर चिनिन थालेदेखि नै पाइ नै रहेछु, ‘धुरन्धर, घागडान, वरिष्ठ’ आदि इत्यादि। यस्ता रोचक र गम्भीर प्रसंग अरु पनि लहरै छन्।

चर्चा रोचक प्रसंगको गरौं। आरोपमा प्रयुक्त ‘प्रोफेसन्यालिज्म’ को उपमा मैले कुनै विषयमा उधुम मच्चाउने रिपोर्टिङ गरेर वा स्कुप मारेर पाएको थिइनँ। एउटा सामान्य घटना जसलाई अन्य पत्रकारभन्दा एक पाइलो पहिले सार्वजनिक गरेको हो। घटना घटेको वर्ष बित्यो।

जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटनमा ‘सरकारी निकायको अधिकारी हुँ’ भन्दै ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरी लगिँदै थियो। वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरी जिल्ला कार्यालय नल्याउँदासम्म म परिसरमै कुरिरहेको थिएँ। आधा घन्टापछि वडाका प्रहरीले भ्यानमा हालेर दोषीलाई त्यहाँ ल्याई पुर्‍यायो। म उनीहरुसँगै पछिपछि लागें। मुद्दा शाखामा प्रारम्भिक बयानसहित घटनाका दोषीलाई बुझाए। मुद्दा शाखाको रीत सबै नियाली उनीहरुसँगै फर्कें।

जाडोयाम अनि साँझको समय। ५ बज्दानबज्दै नयाँबजारस्थित कार्यालय पुगें। घटना सामान्य नै थियो तर सोही दिन नलेखी नहुने पनि। छोटो समाचार कोरें। घटनासँग सम्बन्धित २ तस्बिर थिए। ती तस्बिरमात्र थिएनन्, तस्बिरमै तथ्य थियो। समाचारसहित तस्बिर मेल गरें।

तत्कालीन समयमा देशसञ्चार डटकमका लागि पोखरा संवाददाता थिएँ। बाइलाइनसहित छापियो। २ तस्बिरको कोलाजमा देशसञ्चार अकिंत लोगो थियो। ढुक्क भएँ, अब यो तस्बिर मेरो र संस्थाको मात्र हुने भयो। समाचार तानतुन पारेर तलमाथि गरे पनि तस्बिरचाहिँ तान्न मिल्ने छैन। त्यस्तै तथ्य समेटिएका तस्बिर मागेर लिनेभन्दा तानेरै हक जताउने रोग विद्यमान छ। भुक्तभोगी थिएँ। त्यसैकारण पनि लोगोले सुरक्षित राख्ला भन्ने मलाई विश्वास भयो।

केही घन्टामै मेरो होसियारी र विश्वास फेल खायो। प्रविधि र निशुल्क पाउने सफ्टवेयरको प्रयोगबाट ती साथीले मेरो अग्रतालाई रुचाएनन्। लोगो मेटाए। समाचार तोडमोड पारे। फिल्डमा स्वयं पुगेर खबर ल्याएको झैं बनाए। आफ्नो अनलाइनमा पोस्ट गरिहाले। म छक्क परेँ। मुर्मुरिएँ।

अर्थोक पिर थिएन। श्रमको सम्मान नगर्दा मेरो पारो तात्यो उनीप्रति। जुन पत्रकारिताको आचार संहिता विपरीत पनि हो। मन शान्त बनाउनु थियो। त्यसको विकल्प सिधै उनलाई फोन गरेर झ्याँको झार्ने र मेरो तस्बिर किन चोरिस् भन्ने। वा अनुरोध गरेर फोटो हटाऊ भन्ने।

‘हामीमा यस्तो चल्थ्यो, तिमीसँग नचल्ने रहेछ। चर्को प्रोफेसन्यालिज्म भो, समय भए आफैं लेख्थें।’ उनीसँगको फेसबुक मेसेन्जरको च्याट कहिलेकाहिँ दोर्‍याएर पढ्दा एक्ले फिस्स हाँस्छु। र मनमनै भन्छु —ए है चर्काे प्रोफेस्न्यालिज्म।

फिल्डमा खटिने र दैनिकजसो समाचार लेख्नेहरु उनको यस्तो प्रवृत्तिदेखि आजित थिए। समाचार हुबहु तानिएका घटना त्यसअघि पनि भइरहेकै थिए। तर पनि चुप थिएँ। न ऊ मुर्ख थियो न म दैव। घटना सामान्य नै किन नहोस्। पत्रकारितामै दशक बिताएको हवाला दिने व्यक्तिबाटै भइरहेको गलत अभ्यासलाई रोक्ने निष्कर्षमा पुगें। तस्बिरको लोगो मेटाएर उसले आफ्नो सञ्चार संस्थाको लोगो राखेकोमा मेरो मूलतः आपत्ति थियो। ‘कपी पेस्ट’कै मुद्दामा बोल्न मन नहुँदा नहुँदै भनिहालें।

निरीहता मनमै गुम्स्याउन नसकेपछि साथीमाझ आपत्ति दर्शाएँ। आपत्तिमात्र के दर्शाएको थिएँ साथीले फलाक्न थाले। उल्टै आफ्नो बखान गरे। अन्तिममा माफी त मागे तर पनि आफ्नो ढिपी छाडेनन्। मसँगको प्रसंग यत्तिकैमा टुंगिएन। उनले भने, ‘हामीमा यस्तो चल्थ्यो, तिमीसँग नचल्ने रहेछ। चर्को प्रोफेसन्यालिज्म भो, समय भए आफैं लेख्थें।’ उनीसँगको फेसबुक मेसेन्जरको च्याट कहिलेकाहिँ दोर्‍याएर पढ्दा एक्ले फिस्स हाँस्छु। र मनमनै भन्छु —ए है चर्काे प्रोफेस्न्यालिज्म।

त्यतिबेला एक मन त लागेको थियो–जो चोर उसकै ठूलो स्वर भन्दै जोडका तोड गरौं। अर्को मन सोचें फगत आफूलाई साधु नै बनाउन खोजे पनि उसले कम्तीमा मसँग सुटुक्कै भए पनि ‘माफी’ त माग्यो।

फिल्डमा खटिनेहरुसँग सहयोग आदानप्रदान हुन्छ। तर, फिल्डमै नदेखिने कुर्सीको धाक लगाउने त्यस्ता साथीसँग मेरो विधागत सम्बन्ध सिवाय केही हुँदैन। सर्पले सर्पको खुट्टा देख्छ भन्ने भनाइ छ। फिल्डमा खटिने पत्रकारको मेहनत स्वयं घस्रिने पत्रकारको पाइलालाई मात्र पत्तो हुन्छ। ती मित्रले बौद्धिक चोरीमात्र गरेनन्, उल्टै आफ्नो करियरकै नमुना लाज ‘हामीमा यस्तो चल्थ्यो’ मेरो सामु पसारे। जुन पत्रकारितामा आफ्नै क्षमतामा भविष्य देख्ने म जस्ताका लागि गम्भीर भएर सोच्न बाध्य पार्थ्यो। डेस्कबाटै तानतुन पार्ने प्रवृत्तिमाथि जसरी म विनम्रतापूर्वक खनिन पुगें। लिस्टमा सम्बन्ध चिएिको एकजनाको नाम दर्ता भयो। त्यसपछि अरुसँग सम्बन्ध चिसो बनाएर ग्राफ बढाउने पक्षमा थिइनँ।

सम्झेसम्म राशिफल हेर्छु। संयोग वा मिलेजस्तो भ्रम ममा अझै छ। ‘धेरै बोल्दा आलोचित हुने सम्भावना’ यस्तै उस्तै राशिफलले दिने सुझाव सम्झेसम्म पालना पनि गर्छु।

कुराकानीकै क्रममा मुखबाट फुत्किनै लागेको तर्क रोक्नाले समय बर्बाद नभएको महसुस हुन्छ आज पनि मलाई। अनि मुख जुधाउनै नपरोस् भन्ने चाहना यसरी नै पलाउँछ बेलाबेला र बिर्सेको बेला हराउँछ। राशिफलको सुझाव बिर्सिएरै पोखरामा ‘वरिष्ठ पत्रकार’ भनेर चिनिने एक पत्रिकाका उच्च तहका व्यक्तिसँगै तँ तँ र म म नै चल्यो। मुद्दा उही थियो, ‘कपी पेस्ट।’

पोखरा १८ वडा कार्यालयको सिफारिसमा तिब्बती शरणार्थीले कास्की प्रशासनबाट नागरिकता हत्याएका थिए। त्यस घटनामा मुख्य दोषी ठहर (प्रशासनबाट) भएका वडाका जनप्रतिनिधिसहित प्रशासनका कर्मचारी गरी १४ जना तानिएका थिए। यस घटनाको सुरुआतदेखि नै मैले समाचार कोरिरहेको थिएँ। त्यसकै फलोअप समाचार देशसञ्चार डटकमबाट चोरेर हुबहु ती ‘वष्ठि पत्रकार’ले आफ्नो पत्रिकाको प्रथम पृष्ठमा छापे।

उनको मनोदशाको हालत माथिकै पात्रसँग मिल्दोजुल्दो मात्र होइन त्योभन्दा बढ्ता थियो। त्यसबारे पनि म सहकर्मीबाटै जानकार थिएँ। मेरा एक सहकर्मीलाई न्याय खोज्न अदालत जाऊ भनिसकेका ती ‘वरिष्ठ पत्रकार’को मप्रतिको रवाफ हो भन्ने लाग्यो। सहन सकिनँ। म अशान्त भएँ। उनले भनेका थिए, ‘मलाई थाहा भएन, सम्पादकले सबै कुराको जिम्मा लिन सक्दैन ।’

मैले काम गरिरहेको समाधान दैनिकमा त सम्पादक रामकृष्ण ज्ञवालीले सबै जिम्मा लिने गरेको देखे भोगेको मलाई उनको जवाफ ताज्जबु लाग्यो। फेरि विश्वविद्यालयमा पनि पत्रकारिताका गुरु दीपक के श्रेष्ठले पत्रिकामा छापिएका सबै सामग्रीको जिम्मा सम्पादकले लिन्छ भनेर पढाउनु भएको थियो। ती पत्रकार भने त्यति जवाफ दिएरमात्रै रोकिएनन्। उनले त डाँकोले टिप्दै भने, ‘पोखरा आएर ठूला कुरा गर्ने ?’ अर्को अचम्म लाग्यो— म रैथाने पोखरेली र उनीचाहिँ झन् आगन्तुक थिए। के भन्न खोजेका हुन् बुझिनँ। भर्खरै बाइलाइन देख्दै गरेर होला उनले मलाई आप्रवासी ठानेछन्।

आखिरमा त्यस्तासँग के मुख लगाउनु भन्ने भयो। आफै भुत्भुताएँ। आफ्नै न्युजरुमका सहकर्मीसामु गुनासो पोखें। तमाम् भुइँमान्छेका कथा सार्वजनिक गर्ने र न्यायको पैरवी गर्न टोपलिने मलाई कताकता आफैं अन्यायमा परेको महसुस भयो। तुलना गर्न लायक नै नभए पनि ती ‘वरिष्ठ पत्रकार’सँग आफूले मान्ने अग्रजहरु केशवशरण लामिछाने र भरत कोइरालासँग दाँजें। उहाँहरुमध्ये एकलाई नदेखाई सुरुआती दिनमा मेरा न्युज कहिल्यै छापिएनन्, स्कुपै मार्दा होस्, फिचर होस् या कुनै हार्डन्युज। उहाँहरु पनि म जस्तै काठमाडौंको अर्को मिडियामा आवद्ध। तर मेरो न्युज हूबहू त के एक वाक्य पनि सारेर पठाएको पाइनँ।

कहिलेकाहिँ आफैं भन्थे, ‘गुरुहरुको पत्रिकामा पनि जान्छ यो न्युज त।’ तर अहँ उहाँहरु यति जड कि सामुन्ने नै ह्यान्डफ्री गरी स्रोतसँग सोधेर लेखेको समाचार पाए पनि आफैंले फेरि सोधेर मात्रै आफ्नै भाषा र शैलीमा नलेखी नछाड्ने। अनि सधैं भन्ने, ‘एक वाक्य पनि अरुको समाचारबाट लिनु हुन्न।’ बरु मेरोजस्तै अनुभव उहाँको पनि रहेछ।

अनलाइनमा आएपछि ती वरिष्ठले हूबहू प्रथम पृष्ठको प्रथम न्युज बनाएको उहाँहरुबाट सुनेँ। यस्ता थुप्रैले घटनाले भुक्तमान बनाएपछि ताण्डव न्युज डटकम सुरु गर्दा सम्पादक अर्जुन गिरी र मैले मोतो मिलायौं–अनलाइनका प्रत्येक समाचारको पुछारमा समाचार साभार नगर्न अनुरोधको सूचना राख्ने। ताण्डवमा त्यो श्रृखंला आजसम्म जारी छ ।

साताअघि विश्व प्रेस स्वतन्त्रता दिवस मनायौं। चिनेका प्रेसकर्मीको लेख पढें। उनीहरुको एउटै आशय थियो – ‘सरकारबाट प्रेस स्वतन्त्रता जोगाऔं ।’ मलाई चाहिँ लेख्न मन लागेको थियो– ‘पत्रकारबाट समाचार जोगाऔं ।’ पत्रकारबाट समाचार कसरी र किन जोगाउने भनेर गरेको व्याख्यान स्टाटस बारमा पोस्याइसकेर पनि रिमुभ गरें। मेरो आशय तिनै पात्र र प्रवृत्तिप्रति इंगित थियो। जसले समाचार आफैंले लेख्नुपर्छ, अर्काको चोर्नु हुन्नभन्ने कमनसेन्स राख्दैनन्।

तिनलाई अर्काको साथमा, घरमा वा कार्यालयमा या अन्त कतै भएको भएको चिज चोर्नु र समाचार चोर्नु उस्तै हो भन्ने कहिले समझ आउला ? बौद्धिक चोरी त झन् ठूलो चोरी हो भन्ने थाहा नभएका मित्रहरु नै पत्रकारिता जस्तो बौद्धिक पेसामा हुँदा यो पेसाको उचाइ र गरिमा कसरी अग्लो होला र खै ? केही लाइनले सबै अर्थ राख्छ भन्ने लागेन। त्यसैले रिमुभ स्टाटसको लङफर्म यो ब्लग कोरियो।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्