साँगा चोकमा एक घण्टा- ‘पास नलिई हिँड्ने यात्रु, गाली खाने प्रहरी’

समय : साँझ ४ बजे,

सिरसिरे चिसो बतासको वेग बढ्दै थियो। मौसम चिसो भए पनि वातावरण तातो थियो। भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा चोकमा सवारीको चाप र रिसको राप थियो। सशस्त्र प्रहरी, महानगरीय ट्राफिक प्रहरी र नेपाली सेना सबै यात्रुको गाली र रिसको तातो खेप्दै थिए। सवारी चालक अनि यात्रुहरु प्रहरीको खप्की भेट्दै थिए।

लकडाउनको समयमा उपत्यका छिर्ने र छोड्नेलाई प्रहरी एक–एक गरी कागजपत्र माग्दै थियो, यात्राको वैध कारण थाहा पाउन ।

धुलिखेल अस्पतालको बस सिटभरि मान्छे बोकेर भक्तपरतर्फ जान आयो। साँगा प्रहरी चेकपोस्टमा खटिएको प्रहरीले बसभित्र भएका यात्रुहरुको परिचय पत्र हेर्न भन्दै बस रोके। तीनजना प्रहरी जवान बसभित्र छिरे र पाँचजना यात्रुहरुलाई बाहिर निकाले ।

बस बाहिर निस्कनेहरुमध्ये तीनजना नेवार समुदायका थिए, एकजनाको घर भक्तपुर नगरपालिका, एकजनाको घर धोबिघाट त, अर्कोको कलंकी चोक। बाँकी दुई मधेसी समुदायका। ती मध्ये एकको हातमा कपडाको पोको थियो। साँगामा झरेपछि ती दुई एकैछिनमा कता गए, कसैले पत्तो पाएन। तीनजना बाटोमा उभिइरहे ।

एकजना जो आफूले आफूलाई धुलिखेल अस्पतालको गाडी चालक बताउँथे, उनी बेस्सरी चर्किरहेका थिए। प्रहरीलाई ठूल्ठूलो स्वरमा गाली गरिरहेका उनी भन्दै थिए, ‘तरकारीको गाडीमा लुकेर आउनेलाई रोक्न सकेन, हामीलाई चाहिँ जान दिएन।’

उनका अनुसार, २५ गतेदेखि उनले चलाउने गाडीको पासको मिति सकियो, थप्न भ्याइसकेको छैन। बिहान पनि उनी अस्पतालकै बसमा धुलिखेल पुगेका थिए। फर्कँदा उनलाई प्रहरीले ओराल्यो।

उनीसँगै ओर्लेका कर्णरत्न सिलाकार आफू काठमाडौँ विश्वविद्यालयमा विद्यार्थीलाई फर्निचरको काम सिकाउने’ बताउँदै थिए। उनको हातमा गाडी नम्बर लेखिएको चिट थियो। उनी र दानबहादुर महर्जन काठमाडौँ विश्वविद्यालयमा ६ वर्षदेखि कार्यरत छन्। प्रहरी उनीहरुसँग पास माग्दै थियो, उनीहरु प्रहरीलाई चिट देखाउँदै थिए। चिटमा बसको नम्बर लेखिएको थियो, ‘कलेजले हामीलाई यही बसमा आउनु भनेर बताएको थियो। हामी त्यसरी नै आएका हौँ।’

डिटिसीमा काम गर्ने उनीहरु कलेजले बोलाएरमात्र आएका थिए। पौने ८ बजे बिहान गएका थिए। लकडाउन भएदेखि कलेजमा गएका थिएनन्। कलेजमा प्रोजेक्टमा काम गर्ने भएकोले पास नभएको र लिन आउने साधन नभएको उनीहरु बताउँदै थिए। दानबहादुरले प्रहरीलाई आफ्नो डाइरेक्टरसँग फोनमा बोल्न लगाए। त्यसपछि प्रहरीले भने, ‘यहीँ बस्नुस्, अर्को कुनै बसमा मिल्यो भने पठाइदिन्छौँ।’

उनीहरुलाई गन्तव्यमा पुर्‍याउने गाडी छुटिसकेको थियो, अरु गाडीहरु मान्छे लिएर जाने खालका थिएनन्। सीमाको दुवैतर्फ खटिएका प्रहरी सवारी साधनको पास हेर्दै, कहाँ जाने भनेर सोध्दैमा व्यस्त थिए। उनीहरु बाटोमा अलपत्र।

कलेजको डाइरेक्टरसँग कुराकानी भएपछि दानबहादुरलाई भनेछन्, ‘आज समय छैन, भोलि कार्ड बनाइदिन्छौँ। आज मिलाएर जानुस्।’

उनीहरुलाई पास नभए हिँड्न हुन्न भन्ने थाहा थियो तर कार्यलयले बोलाएपछि उनीहरुसँग विकल्प थिएन। अस्पतालको गाडी आयो, चढे। कलेजमा १० दिन जतिको काम छ।

कसरी घर जानुहुन्छ भनेर सोध्दा उनले जवाफ दिए, ‘खै?’

साँगामा त्यतिबेला जो जो थिए, उनीहरु कसैलाई थाहा थिएन के गर्ने के नगर्ने ?

प्रहरीलाई जिम्मेवारी छ, अति आवश्यक बाहेक अन्य सवारी साधनलाई यात्रा गर्न नदिनु। महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांक अनुसार सवारी साधन लकडाउन खुकुलो भएपछि बाटोमा गुड्ने सवारी साधनको सङ्ख्या र यात्रुको संख्या बढेको छ। केही सवारी साधन र यात्रुहरु यही सिमा भएर कार्यालयको काममा आउने जाने गरेका छन्। केही संख्या दोहोरिएका छन्।

वैशाख २७ गते २ हजार २० जना मानिसहरु, मोटरसाइकल ३२४, सानो गाडी भ्यान ३००, ट्रक टिपर ९७ ओटा उपत्यका भित्रिएका छन्। यस्तै २८ गते ४२३ मोटसाइकल, साना गाडि ५७८, ठूलो गाडि १४१ र मानिसहरु २४२ जना उपत्यका भित्रिएका छन्।

यस्तै २७ गते मोटरसाइकल २०४, साना गाडि ३०४, ठूलो गाडि १३१ र मानिस २१२९ जना उपत्यका छोडेर बाहिर गएका छन्। यस्तै २८ गते उपत्यका छोड्ने मोटरसाईकल ५८५ छ, साना गाडि ५०४, ठूलो गाडि १६९ र मानिस १९२७ जना छन्। २७ र २८ गते बिहान ४ देखि १० बजेभन्दा पछाडि आउने सामान बोकेका गाडिले उपत्यका छोड्न र भित्रन पाएनन्।

प्रहरी एक–एक व्यक्तिसँग ‘डिल’ गर्दै थियो, यात्रुलाई जसरी हुन्छ गन्तव्यमा पुग्नु थियो। पास नलिई आउनेहरु, जो अरुको मोटरसाइकलमा लिफ्ट मागेर आएका थिए, गाडीमा चढेर, ट्रकको पछाडि बसेर आएका थिए, उनीहरु प्रहरीलाई आफ्नो अप्ठ्यारा बताउँदै थिए। प्रहरीले भनेको नमानेपछि ‘सोमत नभएका’, ‘कस्ता हुन्छन्’, ‘बेइमानी’ भन्दै मुरमुरिएर बाटो छेउमा बसिरहेका थिए। अनुहार रातो बनाएर बसेका थिए।

बाटोको छेउमा अलपत्र परेका यात्रुलाई कोरोना संक्रमणको जोखिमले रोकिएको भन्दा पनि ‘प्रहरीले जान दिएन’ भन्नेमा रिस थियो। उनीहरु कसरी हुन्छ प्रहरीको आँखा छल्ने दाउ कसेर बसेका थिए।

आइतबार साँझ सीमामा सूर्यविनायक नगरपालिकाको उपमेयर जुना बस्नेत पनि पुगेकी थिइन्। उनी महानगरीय प्रहरी वित्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिँदै थिइन्, ‘सवारी साधनको चालकहरु एकै मानिस हुन् कि हैनन् भनेर ख्याल गर्नुपर्छ। विशेषगरी सामान बोक्ने गाडीहरु, तरकारी बोकेर आउने गाडिमा मानिसहरु लुकेर आइरहेको हुन सक्छन्।’

उपमेयर आफै केही समय सिमामा सवारी साधन रोक्दै सोध्दै थिइन्। उपमेयर, वडा अध्यक्षहरु लगायत एक झुण्ड नेतृत्वकर्ताहरु प्रहरीसँगै सवारी साधनलाई सोधपुछमा लागेपछि बाटोको छेउमा दृश्य हेर्नेहरु पनि देखिए। प्रहरी सामान बोकेका गाडीहरुलाई पनि ‘बिहान मात्र सामान ढुवानी गर्न पाइने’ भन्दै फर्काउदै थियो। सवारी चालक मन नलागी नलागी गाडी फर्काउदै थिए।

हिँडेर घर जाने अझै रोकिएनन्, ‘सिन्धुपाल्चोकबाट सल्यान’

साँगाबाट भक्तपुरतर्फ आउँदा देब्रेतर्फ सडक किनारमा सामान टन्न भरिएका व्यागहरु लडिरहेका थिए। छ जना छेवैमा भएको ढुंगामा टुसुक्क बसेका थिए भने दुई युवा छेवैमा उभिएर सडकको रमिता हेरिरहेका थिए।

यो ८ जनाको टोली सिन्धुपाल्चोकबाट हिँडेर साँगा आइपुगेको थियो। सनिबार बिहान ४ बजे हिडेका उनीहरुले जिरो किलोमा रात बिताए, अनि हिड्दै हिड्दै साँगासम्म आइपुगे। झोलामा केही पोका खानेकुरा छन्, बिचबिचमा मौका मिलाएर खाँदै हिँडिरहेका छन्। प्रहरीले सोधपुछ गर्दा थाहा भयो उनीहरु सल्यानसम्मको यात्रामा निस्केका रहेछन्।

यो टोली भूकम्प पीडितको घर बनाउने काममा व्यस्त थिए। सुरुमा लकडाउन हुन्छ भन्ने थाहा भएन, पछि १८ गते खोल्ने भनेर थाहा भयो। गाउँमा गाडी आएको थियो त्यो गाडीले लगेन। २५ गते खुल्ने भनिएको लकडाउन नखुलेपछि उनीहरु जेठ तीन गतेलाई कुर्न सकेनन्।
टोलीका एक परियारलाई लाग्छ, यहाँ आएपछि त केही होला नी !

देवराज परियार सहितको टोली कामको शिलशिलामा माघमा सल्यान छोडेर आएको हो। लकडाउन हुने हल्ला हुने बित्तिकै घर जाम भन्दा साहूले ‘सिमेन्ट खत्तम हुन्छ, सक्काएर जाऊ’ भने। सिमेन्ट सक्कियो तर गोजि भरिएन। देवराज भन्छन्, ‘साहूले हिसाब पछि गरौला भनेर बाटो खर्च दिएर पठाएको छ।’ पास मिलाइदिन्छु भनेर काममा राखे, पछि बनेन भने। हातमा माक्स थमाइदिए र घर जाउ भने।

यति लामो यात्रा तय गर्दा उनीहरुले धेरै जनप्रतिनिधिहरुसँग कुराकानी भइरकेको छ तर सबैले आश्वासन मात्र दिएका छन्। काम गर्ने जिल्ला, वडाका वडाध्यक्ष, घर भएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष, सांसद टेक बहादुर बस्नेतसँग पनि फोनमा कुरा भयो। सबैको उस्तै आश्वासन ‘हामी कुरा मिलाउन खोज्छौ, तपाईहरु जसरी सकिन्छ आउँदै गर्नुस्। गाडि मिलाएर आउँनुस्, समस्या परे फोन गर्नुस्।’ आफ्नै वडाअध्यक्षले भने मुखै फोरेर भने, ‘जस्तो जस्तो हुन्छ मिलाएर आउनुस्, हामी त्यहाँ भएको भए केही गथ्यौँ।’

टोलीका एक युवा गोपाल नेपाली भन्छन्, ‘घरमा हिँडेर भएपनि आउनू, गाउँमा खेती गरी खाउँला बरु।’ तर गोपाललाई कसरी पुग्ने केही थाहा छैन। २१ वर्षको गोपाल १८ वर्षको हुँदा भारत गए, त्यसपछि नेपालमै घरको भित्ता उकासिरहेका उनी अब आफ्नो घर जान खोज्दैथे। उनकी सानी छोरी पनि छिन्। साहुको आश्वासन लिएर फर्किदैछन्।

केही दिन अगाडि भक्तपुर जगातिमा उपत्यकाबाट आफ्नो घर फर्कने मानिसको लर्को थियो। महानगरीय प्रहरी वृत्त जगातिका अनुसार अहिले यो संख्या एकदमै कम भएको छ, फाट्ट फुट्टमात्रै भेटिन्छन् उनीहरुलाई प्रहरीले बाटो पर्ने सवारी साधनमा पठाइदिने गरेका छन्।

पहिलो पल्ट पुग्नेलाई अस्तव्यस्त लाग्ने यो ठाउँ, यहाँ काम गर्ने प्रहरी र यात्रा गर्ने यात्रुलाई नौलो होइन। यस्ता हन्डर उनीहरु छिनछिनमा खाइरहन्छन्।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू