अरुले देख्दा पागल हुन्छ तर ऊ परमात्मा भइसकेको हुन्छ

धर्म शब्द ‘धृ’ धातुबाट बनेको छ र यसको अर्थ हो धारण गर्नु। अब प्रश्न छ– के धारण गर्ने ? धर्मै शब्द अध्यात्मको अर्थमा, कुनै पनि सम्प्रदायमा आधारित मान्यता, विधि र प्रचलनहरुको प्रसंगमा, राम्रा गुण र आचरण – व्यवहारको सन्दर्भमा, साधना पद्धतिको सन्दर्भमा र कुनै पेशा– व्यवसायको कार्य उद्देश्यको स्वच्छताको प्रसंगमा पनि प्रयुक्त हुन्छ।

गीतोक्त वर्णनमा अवतार कार्यलाई धर्म – संस्थापनार्थ भनिएको छ। धर्मको आन्तरिक तथा अन्तर्मुखी कार्य जुन सुक्ष्म छ र वाह्य विधिविधान जो स्थुल तथा दृष्यवान छ- यी दुवै पक्षहरुलाई बुझ्न जरुरी छ।

एउटा व्यापक पूर्वीय दर्शन र यी धारणा अनुसार धर्म केवल शुभ, उचित, सदाचार, न्याय तथा आचार– व्यवहार नीति मात्र होइन र यसले मानवको अन्य प्राणीहरुका साथ, प्रकृतिसँग र इश्वर भने र बुझिने– मानिने परम सत्ता तथा दिव्यतासँगका सम्बन्धलाई ख्याल गर्नु, स्थापित गर्नु र नियमन गर्ने आदि सबै कार्यलाई धर्म मानिएको छ। वास्तवमा ती विषयहरुको नियमक तत्व नै धर्म तत्व हो। धर्मले जगतका सबै रुप र तीनका कर्महरुद्वारा आन्तरिक र वाह्य जीवनका आकारहरु र जगतमा स्थापित भएका सबै प्रकारका पारस्परिक सम्बन्धहरुलाई सम्यक व्यवस्थामा आवद्ध गराएर धर्मले आफूलाई सिद्ध गर्छ अर्थात यो धर्म भयो भनेर देखाउँछ।

अर्थात, विधान र व्यवहारहरुलाई सत्य र यथार्थमा स्थापित गराइरहन्छ र त्यसैले मानव जातिको विकास, उत्थान, सभ्यता अघि बढेको छ, सफल भएका छन्। स्पष्टसँग भन्नु पर्दा धर्मले हाम्रा सबै आन्तरिक र बाहिरी क्रियाकलापहरुलाई धारण गराइरहन्छ। धर्म यस्तो विधान हो जसले गुप्त रुपमा मानवका, प्राणीका र प्रकृतिका कार्य – कर्मको विधान गर्छ र नियमित गर्छ। विश्वको धर्म छ, राष्ट्र, समाज, परिवार र व्यक्ति विशेषको आआफ्नो दायरा र वृत्ति अनुसारको धर्म हुन्छ।

अध्यात्मको दृष्किोणबाट धर्म यस्तो माध्यम, विधान, कारक वा तत्व हो जसले भागवत पवित्रता, विशालता, ज्योति, स्वतन्त्रता, शक्ति, बल, आनन्द, प्रेम, शुभ्र, एकता र सौन्दर्यलाई आधिकारिक रुपमा प्राप्त गराउने, अनुभव गराउने गर्छ।

धर्म सभ्यताको आत्मा पनि हो, किनकि सच्चा धर्म – सत्यमा आधारित हुन्छ र नीति – व्यवहारबाट परिस्कृत र प्रमाणित हुँदै जान्छ र निरन्तरको प्रयोगबाट सिद्ध भई निम्न र तल्लो स्तरका शक्तिको प्रभावलाई हटाउन वा न्यूनीकरण गर्न धर्मले मद्दत गर्छ। धर्मको अभ्यासबाट प्रज्ञा पनि जाग्छ र त्यो भनेको आविष्कारको मार्ग पनि हो, विकास र सन्तुनलको मार्ग हो।

धर्मले ईश्वरको कुरा गर्छ, गड वा भगवान वा अल्लाह भनेर प्रार्थना र पुकार गर्छ त्यो चाहिँ अन्तस: चेतनामा जगाउने सर्वोत्कृष्ट अनुभूति वा अनुभव नै हो। साकार र निराकार रुपमा विषय चेतनाको स्तरसँग सम्बन्धित अनुभूतिका विषय हुन्। ब्रम्ह, आत्मा र परमात्मा पनि चेतनाका उच्च अनुभूति हुन्। बासुदेव श्री कृष्णलाई सच्चितानन्द भनिएको अस्तित्व, चेतना र आनन्दलाई सामूहिक रुपमा अनुभूति गरिएको हो। ईश्वर सत्य, प्रेम, सौन्दर्य, सदाचार, निर्भयता, जीवात्माको प्रकाशको मूल हो। धर्मले ईश्वरका यिनै तत्वलाई अनुभव गराउन सहायता गराउने हुँदा मानिस मानव हुन्छ, दानव र प्रेत हुने वृत्तिमा लाग्दैन।

धर्म र विज्ञानको स्रोत एउटै हो। वैज्ञानिकमा पनि सत्यको पहिला अनुभूति हुन्छ, अनुभव हुन्छ। उपनिषदका मन्त्रद्रष्टा ऋषि र विज्ञानका सूत्र – फर्मुलाका आविष्कारहरुको चित्तको अवस्था करिब समान भएर नै सत्य उद्घाटित हुन्छ। सत्यको अनुभव गहिरो हुँदै गएपछि सतही बुद्धि क्षीण हुन्छ, त्यसबेला व्यक्ति अपौरुषेय हुन्छ र ऊ एक्लै आनन्दित हुन्छ अनि मुस्कुराउँछ। अरुले देख्दा पागल देख्छन् तर ऊ परमात्मा भैसकेको हुन्छ।

बैशाख ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्