कोरोना भाइरसको असर

आफ्नै गाउँमा पसिना बगाउन तयार यी युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त?

कुनै बेला गाउँमै बस्नु पर्दा भाग्यले ठगेको भन्थे युवाहरु। कुटोकोदाली गर्नु या पुर्खाको पेशा अंगाल्नु पर्दा धेरै युवाले दिक्दारी ठाने।

सम्पति बेचेर, ऋण लिएर र बीचमै पढाई छोडेर शहर या विदेश हानिए। गाउँ उराठ बन्यो। घर छोडेका छोरोछोरीको सम्झनामा वृद्धवृद्धाहरुको आँखा ओभानो भएन। श्रमबिना धेरै खेतहरु बाँझो रहे।

सोचेजस्तो काम नपाएपनि विदेशबाट गाउँ फर्कन तयार भएनन् युवाहरु। बरु बिरानो ठाउँमा जस्तोसुकै परिश्रम गर्न तयार भए। कैयौँ युवाले विदेशमै प्राण त्याग गर्नुपर्‍यो। बाकसमा कैयौँको निर्जीव शरीर मात्र स्वदेश फर्कियो। कैयौँ युवा रोगग्रस्त बनेर आफ्नो देशको सहारा खोज्दै आए।

तर समयले परिवर्तनका संकेतहरु देखाउन थालेको छ। कोरोना भाइरस कारण बनेको छ त्यसको। रोजीरोटी मात्रै होइन विदेशमा उनीहरुको जीवनलाई संकटमा धकेल्यो। अन्तिम सहारा घर र गाउँ देखे।

ज्यान बचाउन पैदलै हिँडेर, बस या ट्रकमा कोचिएर, नदीमा पौडिएर यस्तैयस्तै अनेक उपायसहित गाउँ पसे उनीहरु। त्यो क्रम जारी छ।

तर गाउँ पुगिसकेका युवाहरु के गर्दैछन् त यतिबेला? शहरका आफन्तहरु पनि सोच्दै छन्। कतै निराश त छैनन् गाउँमा उनीहरु?

गाउँ छिरेका युवा आफ्नो मात्रै होइन, परिवार र समुदायको उत्साहको केन्द्र बन्न पुगेका छन्, धेरै वर्षपछि। पहिले छोडेर गएको खेतहरुलाई आफ्नै हातले सुमसुम्याउन थालेका छन्। खेतीकिसानी उनीहरुको भरोसाको पेशा बन्न थालेको छ। त्यसमा भविष्य देख्न थालेका छन्।

झाँगाझोलीको उत्साह


केही दिन अघि यात्राका क्रममा सिन्धुलीस्थित झाँगाझोली, रातामाटा तीन बोहोरेबारको सकडमै दाउरा लिएर हिँडिरहेका एक युवालाई देखेपछि हामी रोकिन्छौँ। भारको बोझमा पनि हँसिलो देखिन्छन् उनी।

राजकुमार श्रेष्ठ/ सबै तस्बीरहरु रविन आचार्य /देशसञ्चार

कोरोना भाइरसका कारण चैत्र एक गते मलेसियबाट फर्किएका उनमा बेग्लै उत्साह देखिन्छ। मलेसियास्थित एक कम्पनीमा ‘कनस्ट्रक्सन’ को काममा पाँच वर्ष बिताएका ३२ वर्षीय राजकुमार श्रेष्ठले अब फर्केर विदेश नजाने अठोट गरेका छन्।

राजकुमार श्रेष्ठ

उनी भन्छन्,‘ अब विदेश गइँदैन। जे–जे गर्ने हो अब गाउँमै गर्ने हो। पैसा मात्रै ठूलो हैन रहेछ जीवनमा।’ खेतीकिसानीलाई आफ्नो मुख्य पेशा बनाउने उनको योजना छ।
विदेशको सुविधा भन्दा गाउँको उकाली–ओराली प्यारो लागेको छ। तुलना गर्दा परिश्रमको मात्रा र समय तलमाथि होला। तर गाउँको हावापानी, खाना र बसाई धेरै स्वस्थकर छ उनका लागि।

झाँगाझोलीमा राजकुमार यस्ता एक्ला युवा हैनन् जो विदेशबाट फर्केर खेतबारीमा पसिना चुहाँउदै छन्।

मल बाेग्दा झरेका पसिना


राजकुमारसँग बिदा भएर अघि बढ्दै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालीका तीनमा अर्का एक युवा मल खन्दै गरेको देखिन्छन्। पसिना आइरहेको थियो उनको शरीरमा। उनीसँग कुरा गर्ने हाम्रो कौतुहलता बढ्छ।

अनिल श्रेष्ठ

२२ वर्षीय अनिल श्रेष्ठ दुबई पुगेर केही वर्ष त्यहाँ होटलमा र फर्केर छ वर्षदेखि ललितपुरस्थित जावलाखेलको एक रेस्टुरेन्टमा ‘कुक’को रुपमा काम गर्दै थिए। तर कोरोना भाइरसका कारण घर आउन बाध्य भए उनी।

लकडाउन घोषणाको अघिल्लो दिन चैत्र १० गते रात्री बस चढेर घर आइपुगेका अनिल वास्तवमा अति व्यस्त बनेका छन्। र, त्यसमा रमाइरहेका छन्।

अनील श्रेष्ठ र उनकी आमालाई सहयोग गर्दै

आमाबुवाले गर्ने हरेक काममा सहयोग गर्न उनी अघि बढ्छन। उनले भने,‘ रमाइलो लागिरहेको छ। जोश थपिएको छ। शहरको भरोसा भएन। जागिर निश्चित भएन।’ आफ्नै बारीमा आफूलाई पुग्ने उत्पादन गर्ने योजना छ अब उनको।

अवस्था सामान्य भयो भने मात्रै शहर जाने योजना छ उनको। नत्र गाउँमै खेतीकिसानी गरेर आफू र आफ्नो परिवार पाल्न सकिने आत्मविश्वास उनमा बढेको छ।

विद्यार्थीले सिकेको काम


कोरोना भाइरसको जोखिम बढेपछि स्कुल, क्याम्पस र विश्वविद्यालय एकाएक बन्द भए। अध्ययनका लागि शहरमा डेरा लिएर बस्ने विद्यार्थी सुरक्षित हुन गाउँ हानिए।

प्रविण रायमाझी । घरमा सहयोग गर्दै

यी विद्यार्थीको भविष्य के होला भन्ने चिन्ता एकातिर छ। तर गाउँ छिरेका अधिकांश यस्ता विद्यार्थी अभिभावका सहयोगी बनेका छन्। यसअघि कहिल्यै नगरेको काम पनि उनीहरु गर्दैछन्। आफ्नो भविष्य सुनिश्चित गर्ने चुनौति बढेको छ।

प्रविण रायमाझी

कपनस्थित मल्टिपल क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत काभ्रेपलाञ्चोक, रोशीका प्रविण रायमाझी त्यसका उदाहरण हुन्। तरकारी लगाउने, गाईबस्तुलाई घाँस काट्ने काम सिकिसकेका छन् उनले।

प्रविणकी आमा तारा शिक्षक हुन्। विद्यालय बन्द भएपछि उनले शहरबाट फर्किएका प्रविण र उनका भाइलाई काम मात्रै सिकाएकी छैनन्, पढ्नका लागि पनि त्यतिकै प्रेरित गरिरहेकी छन्।

सबैभन्दा ठूलो खुशी


तारा रायमाझी

सिन्धुली र काभ्रेका केही गाउँका यात्रा सम्पन्न गरेर फर्किँदै गर्दा काठमाडौँको कोटेश्वरमा साँझ पख एक युवती भेटिन्छिन्।

आफ्नो उद्दारको पर्खाईमा थिइन्, आफ्ना गाउँका वडा अध्यक्षले बसका लागि त्यहाँ कुर्न लगाएका थिए उनलाई। बारा चन्द्रपुरकी १५ वर्षीया सोनी तामाङ लामो लकडाउनले डेराभित्रै उकुसमुकुस भएकी थिइन्।

सोनी तामाङ

उनी भन्छिन् ,‘ गाउँमा जे गरेर पनि खान सकिन्छ। बस्न सकिन्छ। त्यो भन्दा ठूलो हाँस्न पाइँन्छ। खुशी हुन पाइन्छ, झोक्रिएर बस्नु मात्र पर्‍या छ।’

सोनीले गाउँ फर्किएपछि घरका सदस्यहरुलाई मकै गोड्ने, घरको काममा सहयोग गर्ने योजना बनाएको बताइन्। गाउँ पुगे/नपुगेकोबारे सम्पर्क गर्दा उनी भन्छिन्,‘ बल्ल आनन्द आयो। अब त स्कुल पनि गाउँमै पढ्छु होला।’

आशलाई सरकारले मलजल गर्ला त ?


बाध्यताका कारण भएपनि विभिन्न आशा र अपेक्षासहित गाउँ छिरेका र रमाएका युवालाई उनीहरुले भविष्य देखेको पेशामा कसरी टिकाउने? सरकारसँग के छ योजना ?

दिपक धिताल

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री युवराज खतिवडाले सोमबार बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरेका छन्।

कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्रलाई उकास्न गुमेको रोजगारीलाई पुनःस्थापित गर्नेमात्रै होइन कृषिलाई आधुनिकरण गर्ने योजना उनले सुनाए।

कृषिमन्त्री घनश्याम भुसाल गाउँ फर्केका युवालाई टिकाउन कृषि क्षेत्रमा विशेष कार्यक्रम लैजाने बताउँछन्।

सावित्रि श्रेष्ठ। घरमा सहयोग गर्दै

तर सरकारका योजना मात्रै सुनेका र व्यबहारमा त्यो महसुश गर्न नपाएका राजकुमार, अनिल, प्रविण र सोनी जस्ता युवाहरुको सहयोगको प्रतिक्षामा छन्।

विगत कैयौँ दशकसमम कृषि पेशाले सरकारबाट उपेक्षित महसुश गरेको मात्रै हैन, सम्मान र सामान्य लाभबाट बञ्चित भएको पृष्ठभूमिमा कोरोना भाइरसले उब्जाएको आशलाई सरकारले मलजल गर्ला त ?