नेपाली चलचित्रको धूमिल भविष्य

नेपाली चलचित्रको धूमिल भविष्य
+
-

एउटा लामो काल खण्डसम्म सङ्कटग्रस्त बनेको नेपाली चलचित्र उद्योग एउटा क्रमभङ्गताको प्रतीक्षामा थियो। व्यावसायिक रूपमा सफल चलचित्रको खडेरी चलेका बेलामा केही सीमित चलचित्रबाहेक बाँकीले असफलताकै धरहरामा इँटा थपिरहेका थिए। अब त झन् यो  क्रमभङ्गताको प्रतीक्षाको घडी निकै लम्बिने निश्चितप्रायः छ। कोभिड-१९ को विश्वव्यापी प्रभाव र आर्थिक शिथिलताले चलचित्र  उद्योगलाई लामो समयसम्म पक्षाघात गराउने छ। विश्वका ठूला चलचित्र उद्योगहरू हलिउड र बलिउड (जसले गत वर्ष क्रमशः ७८६ र १८०० चलचित्र बनाएका थिए), अर्बौँ डलरको घाटा बेहोरिरहेका बेला नेपाली चलचित्र उद्योगले चुनौती र सङ्कटहरूको सामना गर्दै आफूलाई सम्हालेर नयाँ अवसरको निर्माण गर्ने दुस्साहस गर्ला त?

चुनौतीहरू के छन्?

विश्वका अग्रणी चलचित्र निर्माता, निर्देशक र वितरकहरूको हालै सम्पन्न भेलाले आउने दिनमा चलचित्र छायाङ्कन, निर्माण र प्रदर्शन निक्कै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन्। भाइरसको सङ्क्रमण निषेध गर्न छायाङ्कनदेखि प्रदर्शनसम्म सामाजिक दुरीको नियम पालन गर्नु पर्ने देखिन्छ। ठूला भिडभाड र जमघटका छायाङ्कन निषेधित हुने छन्। साठीभन्दा बढी उमेर भएका कलाकारलाई सङ्क्रमण र त्यसपछि हुने जोखिमका हिसाबले या त प्रतिबन्ध लगाइन्छ नभए उच्च सावधानी अपनाउन प्रेरित गर्नुपर्ने हुन्छ जसका कारण स्वाभाविक रूपमा कथाको आवश्यकताअनुसार कलाकारको छनोट र कास्ट असम्भव हुनेछ। छायाङ्कन स्थल सम्पूर्ण रूपमा सेनिटाइज गर्नुपर्ने, कलाकार, प्राविधिक र छायाङ्कन स्थलमा खटिएका सबै व्यक्तिहरूको अनिवार्य स्वास्थ्य बिमा गर्नु पर्ने नियमले चलचित्र निर्माणको खर्च निक्कै बढ्ने देखिन्छ। छायाङ्कन स्थलमा डाक्टर र नर्सको उपलब्धता अनिवार्य गरिएको छ। कम्तीमा पनि अहिलेको महामारीको अवस्था सामान्य वा अन्त्य नभई यसका लागि कठीन हुनेछ। निर्माण सम्पन्न भए पश्चात् पनि चलचित्रको प्रदर्शनमा कम चुनौती छैन। दुरी कायम गर्न हरेक व्यक्तिपछि एउटा सिट खालि गरेर दर्शक बस्दा हलवाला र निर्माता दुवैलाई आर्थिक नोक्सानी हुन्छ भने दर्शकहरूलाई टिकटको मूल्य महङ्गो पर्न जान्छ। यस्तो परिस्थितिमा सिनेमा क्षेत्रसँग सम्बन्धित सिनेकर्मीमाझ निराशा तरंगित हुनु स्वाभाविक हो।

वर्तमान अवस्था

सामान्य अवस्था भए यो एसईई र प्लस टुको बोर्ड परीक्षा सकिएर ठुलो संख्यामा युवा विद्यार्थी फुर्सदिला भई परीक्षाको तनाव बिर्सन मनोरञ्जनमा पैसा खर्च गर्ने समय हो।  यही समयलाई लक्षित गरेर केही चलचित्रहरू प्रदर्शनको तयारीमा थिए। केही ठूला बजेटका चलचित्रहरूको प्रदर्शन मिति पनि तोकिसकिएको थियो। करोडौँ लगानी गरिएका युवा लक्षित चलचित्र प्रेम गीत-३, म यस्तो गित गाउँछु-२, चपली हाइट-३ र अरू दर्जन जति महत्वाकांक्षी चलचित्रका निर्माता र निर्देशक प्रदर्शनको अन्त्यहिन प्रतीक्षामा छन्। थुप्रै छायाङ्कनका क्रममा रहेका चलचित्रहरू रोकिएका छन्। सिनेमा हलहरू सबै भन्दा पहिला बन्द भए र सबैभन्दा पछि खुल्नेछन्। नेपाली चलचित्रहरूको आर्थिक स्रोत पछिल्ला दिनमा एक हदसम्म अस्वभाबिक रूपमा विदेशमा निर्भर हुन थालेको थियो। चाहे निर्माणमा लगानीको हिसाबले होस् या प्रदर्शनको हिसाबले। एकातिर विदेशमा व्यवसाय गरी राम्रो आम्दानी गरिरहेका नेपालीले चलचित्र निर्माणमा लगानी गरिरहेका थिए भने बनिसकेपछि प्रदर्शनका लागि पनि बेलायत, कोरिया, अमेरिका, अस्ट्रेलिया र अन्य केही खाडी मुलुकहरू राम्रै आम्दानी गराउने ठाउँमा गनिन्थे। तर अब आउने दिनमा “डायस्पोरिक सेन्टिमेन्ट” सेल गरेर हुने आम्दानी तत्कालका लागि बन्द हुने वा घट्ने देखिन्छ। विदेशमा व्यवसाय गर्ने नेपालीहरू पनि यो महामारीपछिको आर्थिक मन्दीका कारण लगानी गर्ने अवस्थामा रहने छैनन्। चलचित्रका गीत तथा केही छोटा दृश्य छायाङ्कन गर्न विदेश जाने प्रचलन पनि अब परिवर्तन हुने भिसा प्रणाली र सुरक्षाका कारण प्रभावित हुनेछन्। सफल-असफल जे भए पनि नेपाली चलचित्रको बजेट आकासिँदै गएको थियो तर अब बजेट ग्राफ नाटकीय रूपमा तल झर्ने छ जस्को प्रभाव प्रत्यक्ष काम गर्ने कलाकारदेखि प्राविधिक, लाइटम्यान, स्पोर्ट्सम्यानसम्मको पारिश्रमिकमा पर्नेछ। चलचित्र बनाउनभन्दा ठूलो लागतमा प्रवर्द्धन गरेर चलाउन गाह्रो छ भनी गुनासो सुन्ने गरिन्थ्यो। अब झन् प्रवर्द्धनको तरिका नै परिवर्तन नगरी निर्मातालाई सुखै छैन। समग्रमा नेपाली चलचित्र उद्योग पनि अरू उद्योगहरू जस्तै आर्थिक मन्दीको सामना गर्न अभिशप्त हुनेछ।

असल राज्यको दायित्व सङ्कटमा परेका नागरिक र उद्योग व्यवसायको संरक्षण र प्रवर्धन गर्नु पनि हो। यस महासङ्कटका बेला राज्यले चलचित्र उद्योग, कलाकार र यससँग निर्भर व्यवसायीहरूलाई प्रोत्साहन गर्न पुनरुत्थान प्याकेज मार्फत आर्थिक सहयोग गर्ने तथा काम गर्न सुरक्षित वातावरण सृजना गर्ने लगायतका जिम्मेवारी बहन गर्नुपर्छ।

आशावादी हुने आधार

कहिलेकाहिँ सङ्कटको उत्कर्षले केही सकारात्मक र सिर्जनात्मक विचारको मार्ग प्रदर्शन गर्दछ। नेपाली चलचित्र उद्योग पनि विश्व चलचित्र उद्योग जस्तै गहिरो र दिर्घकालीन सङ्कट उन्मुख छ भन्ने कुरामा दुईमत छैन। यद्यपि हाम्रो अगाडि केही अवसर र परिवर्तनका सम्भावना जीवित रहनेछन्। अब नेपाली सिनेमाको लागत घट्ने छ अर्थात् नेपाली सिनेमा क्षेत्रले सानो पुँजीमा चलचित्र निर्माण गर्ने कलाको विकास गर्नुपर्ने हुन्छ। उपलब्ध स्रोत र साधनको अत्यधिक परिचालन गर्न सक्ने निर्माता र निर्देशक लामो रेसका घोडा बन्नेछन्। चलचित्र निर्माणमा अरूको पैसा लगानी गरेर अफ्नो नाम बनाउने अभीष्ट बोकेका गैरचलचित्र क्षेत्रका व्यक्तिहरूको लगानी निरुत्साहित हुनेछ। सिनेमा क्षेत्रप्रति लगाव, सतभाव र यस क्षेत्रलाई माया गर्नेले मात्र व्यवसायिक सफलताको परवाह नगरी सकेसम्म राम्रो कथा र टिम छानेर लगानी गर्नेछन्।  यसले नेपाली चलचित्रलाई व्यवसायिक र कलात्मक बनाउने सम्भावना जीवित राख्छ। नेपालका प्राङ्गारिक बिषयबस्तु, लोककथा, मिथक, पर्यटकीय गन्तव्य तथा लोभलाग्दा हिमाली दृश्यले सिनेमामा प्राथमिकता पाउने छन् जसले गर्दा नेपालको नवीन र मौलिक पहिचान दिने दृश्य भाषा (भिजुवल ल्याङवेज )को निर्माण गर्ने छ। यो नेपाली चलचित्रहरूको पहिचान गर्ने नयाँ प्रस्थानबिन्दु बन्न सक्छ। कोभिड-१९ को संक्रमणका कारण शारीरिक निकट्ता निषेधको आचारसंहिता पालन गर्नुपर्ने भएकोले अहिलेका चलचित्रमा बाध्य भएर सहन गर्नुपर्ने अश्लीलताको स्थान नैतिकता तथा मानवीय मूल्य मान्यताले ओगट्ने छन् जसका कारण एउटा नयाँ सांस्कृतिक युगको सुरुवात हुने सम्भावना रहन्छ। अबको सिनेमा सिर्जनशील सोच, बिशिष्ट प्रस्तुति र बेजोड प्रबिधिको प्रयोग उन्मुख हुने भएकाले व्यवसायिक सफलताको सुनिश्चितता आभाष हुन्छ।

सरकार विकास बोर्डको भूमिका

असल राज्यको दायित्व सङ्कटमा परेका नागरिक र उद्योग व्यवसायको संरक्षण र प्रवर्धन गर्नु पनि हो। यस महासङ्कटका बेला राज्यले चलचित्र उद्योग, कलाकार र यससँग निर्भर व्यवसायीहरूलाई प्रोत्साहन गर्न पुनरुत्थान प्याकेज मार्फत आर्थिक सहयोग गर्ने तथा काम गर्न सुरक्षित वातावरण सृजना गर्ने लगायतका जिम्मेवारी बहन गर्नुपर्छ। विक्षिप्त मानसिक अवस्थामा रहेका कलाकारको मनोबल उच्च राख्न सरकारी स्तरबाट महत्वपूर्ण कदम चाल्नु पर्ने हुन्छ। यही बेलामा नेपाल चलचित्र विकास बोर्ड नेतृत्व बिहिन छ। विकास बोर्ड र नेपाली चलचित्र उद्योगले एक दूरदर्शी, निडर र व्यावसायिक क्षमता भएको नेतृत्व खोजिरहेको छ। नेपाल सरकार र चलचित्र विकास बोर्डको संयुक्त प्रयासमा यही अवसरको सदुपयोग गर्दै सधैँ नेपाली चलचित्रलाई धरापमा पार्ने हिन्दी तथा बिदेशि सिनेमाहरूलाई क्रमश नियन्त्रण गर्दै नेपाली सिनेमालाई प्रोत्साहन र प्राथमिकता दिइएन बने यस क्षेत्रको जीवन रक्षा र सकारात्मक परिवर्तन गर्ने हरेक प्रयासहरू असफल हुनेछन्। राज्यको निष्ठा र चलचित्र विकास बोर्डको सही नेतृत्वले यस क्षेत्रको बाँकी भविष्य निर्धारण गर्नेछ।

(उप्रेती नेपाल फिल्म क्याम्पसका प्राचार्य हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?