कविता

नबोल्नू भनेपछि नबोल्नू   

सक्दिन म
कुर्सी  राखेर तरबारको धारमा
माटोको टीका लगाउन सक्दिन

केटाकेटी हो
होहल्ला नगर्नू
ज्ञानी हुनु
म जस्तै ज्ञानी हुनू

सबथोक देखेर  केही नदेख्नू
सबथोक बुझेर केही नबुझ्नू

आज्ञाकारी हुनू
नबोल्नु भनेपछि नबोल्नू
असैह्य  भयो भने सुस्तरी बोल्नू
लैनचौरले सुन्ने गरी नबोल्नू

के हुन्छ थाहा छ तिमीहरुलाई?
तिमीहरु चर्को बोल्यौ
र लैनचौरले सुन्यो भने
बर्बाद हुन्छ

जिन्दगीभरिको कमाइ
मेरो सिंहासन
उत्निखेरै उत्तानो पल्टिन्छ।

–नर्थ क्यारोलिना , अमेरिका

बैशाख ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्