लिपुलेक नजिक सुरक्षा पोस्ट खडा गर्न सेनाको हेलिकप्टरमा सशस्त्रको टोली प्रस्थान

काठमाडौँ – भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ ।

त्यसका लागि नेपाली सेनाको हेलिकप्टरमा गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा सशस्त्र प्रहरीका एआइजी नारायणबाबुसहितको टोली बुधबार बिहान दार्चुलाको खलंगा गएको छ ।

खलंगाबाट सो हेलिकप्टरमा सशस्त्र प्रहरीका निरीक्षकको नेतृत्वमा २५ सुरक्षाकर्मीसहितको टोली लिपुलेक नजिकैको छाङ्गरु जाने छ । त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) खडा गरिने जनाइएको छ ।

भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म जाने बाटो बनाउने क्रममा नेपाली भूमि लिपुलेक–कालापानीको प्रयोग गरेको छ । वैशाख २६ गते भारतले ७९ किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध भइरहेको छ ।

सरकारले विरोध चर्किएपछि सो क्षेत्रमा सुरक्षा पोस्ट खडा गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिओपी खडा गर्नका लागि गृह मन्त्रीका सल्लाहकार तथा सशस्त्रका एआइजी सुरक्षाकर्मीको टोली लिएर छाङ्गरु जाने भएका हुन् ।

बैशाख ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्