किन सधैँ महिलाका तस्बिर र अंगहरुलाई अपमान गर्छन् पुरुषहरु?

म त्यही शब्द प्रयोग गर्न चाहन्छु, महिलामाथि दुर्व्यवहार र शोषण। पढ्दै जाँदा अक्षरहरूमा झलझली आफ्नै अनुहार देखिएछ भने पनि ऐना नफुटाउनुस्। रिस र घृणाले कसैलाई फाइदा गर्दैन। जतिसक्दो शान्त रहने कोशिस गर्नुस्। र, आफ्नो मुटु जोगाउनुस्। त्यसले तपाईँलाई नै फाइदा पुग्नेछ।

पछिल्ला दिनमा एउटा खबर आयो सामाजिक सञ्जाल रेड्डिटमा अवस्थित सबरेड्डीटमा महिलाका तस्बिर र अंगहरूमाथि गर्ने गरिएका अश्लील टिप्पणीबारे।

केटाहरूको गोप्य ग्रुप च्याटमा विभिन्न महिलाहरूको फेसबुक, इन्स्टाग्रामका तस्बिर र भिडियोहरू आफ्नो यौन इच्छा पूर्तिका साधनका रूपमा चिनाउँदै गरेको अवस्थामा आफ्नै तस्बिर भेटिँदा कस्तो भयो होला पीडितलाई? कल्पना गर्न सक्नुहुन्छ?

यौन र यौनिकताको कुरामा किन सँधै महिलाका तस्बिर र अंगहरूलाई नै मुख्य बनाएर हाँसो गरिन्छ? विभिन्न महिलाहरूको तस्बिरहरुको दुरूपयोग हुँदै गरेको भिडमा कुनै दिन तपाईँले आफ्नै दिदीबहिनी, प्रेमिका, भाञ्जी, छोरी या श्रीमतीको तस्बिर पनि भेट्नुभो भने कस्तो हुन्छ तपाईँको पहिलो प्रतिक्रिया? कस्तो हुन्छ अनुहार र आँखामा प्रकट हुने तपाँईको भाव?

कल्पना गर्नुस्- अरूका चेलीहरूका उठेका स्तन देखेर थुक निल्दै गरेको बखत तपाईं आफ्नै छोरीको तस्बिरमा अरू कसैले तपाईंकै सामू तपाईँले अरूअरूलाई गर्ने जस्तै टिप्पणी गर्‍यो भने तपाईंलाई कस्तो लाग्छ?

यो त भर्खरै बाहिर आएको कुरो भयो। तर यसरी महिलाका तस्बिरहरु बिना कुनै अनुमति लिने र आफ्ना ग्रुपमा या पेजहरूमा राखेर तस्बिरहरुको दुरूपयोग गर्ने र मजाक बनाउनेहरूको झुण्ड फेसबुक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू वर्षौंदेखि सक्रिय छ।

झट्ट सुन्दा केही सचेत र भद्र व्यक्तिहरूलाई लाग्ला- हैट! शिक्षित र चेतनशील व्यक्तिहरूबाट पनि त्यस्ता घटिया हर्कतहरू हुन सक्लान् र?

यसमा मेरो प्रतिप्रश्न रहनेछ। अनेकन एपहरू चलाउन र हरबखत सञ्जालमा सक्रिय रहन सक्ने मान्छे अशिक्षित कुन कोणबाट हुन सक्छ साहेब?

हामी कस्तो सोचबाट ग्रसित समाजमा छौं भने आफूसँग प्रसस्त पैसा छ। भनेजस्तो उच्च तह तप्कामा जागिर छ। आफूलाई देउता मान्ने पत्नी छे भने ढुक्कले ऊ बाहिरी महिलाको सम्पर्कमा रहन थाल्छ। जति धेरै महिलाहरूसँगको सम्बन्धमा रहन सक्यो साथीहरूमाझ ऊ त्यति नै गर्वित।

एकैपल्टमा अनेकौं महिलासँगको सम्बन्धमा रहन सक्नु भनेको उनीहरू आफ्नो खुबी मान्छन्। आफ्नो बहादुरी ठान्छन्। कपडा फेरेजसरी महिला फेर्नु उनीहरूको मुख्य सोख अन्तर्गत पर्छ। त्यस्तोलाई उनीहरू आफ्नो कला भन्छन्।

कहिल्यै सोच्नुभएको छ त्यस्तो मानसिकता धारी पुरूषले महिलालाई मनदेखि गर्ने सम्मान कुन तहको हुन्छ? अनुमान गर्न सक्नुहुन्छ, उनीहरूले महिलालाई देखाउने प्रेम कति बनावटी र शरीर केन्द्रित हुन्छ?

पत्याउनुहुन्न भने समाजका प्रवुद्ध ब्यक्तित्वहरुको बहस गर्ने थलो मानिएको ट्विटरमा अलिक समय बिताएर हेर्नुस् न। तपाईँ आफैँले देख्नुहुनेछ। त्यहाँ पुरुषत्वको दम्भ बोकेका केही थान पुरूषहरूबाट महिलाहरूलाई र तिनका विचारहरूलाई कसरी खेदिन्छ? अनि कसरी खुल्लमखुल्ला महिलाका तस्बिरहरुको मजाक बनाइन्छ?

महिलाका तस्बिरहरुका अनेकन उच्छृङ्खल, द्विअर्थी र घृणित कमेन्टसहित कसरी कोट या रिट्विट गरेर गललल्ल हाँसिन्छ?

कसैका लागि एकछिनको रमाइलो र समय बिताउने बहाना स्वरूप रचेका नाटकले अरू कसैको पूरै जिन्दगी विषादपूर्ण पनि हुन सक्छ। त्यसबारे आफू शिक्षित र बुद्धिमान छु भन्ने ढोङ गर्दै शरीरभरि आधुनिकताको लेप दलेर बर्बर युगमा अल्झिरहेको घृणीत मानसिकताधारी वर्गहरूले कहिल्यै सोचेको छ?

पछिल्लो समयमा आफू अगाडि आउन चाहने महिलामाथि पूर्वतयारीको साथ सिलसिलेवार रूपमा हमला गर्ने मुख्य ठाउँ भनेकै सञ्जाल भएको छ। र , त्यसरी हमला गर्नेहरू पढेलेखेका र उपल्लो दर्जाका वरिष्ठहरू नै हुने गर्छन्।

अनेकौँ उद्देश्यका साथ अपराधी मनोवृत्ति बोकेकाहरू ग्रुप च्याटमा भेला हुन्छन्। उनीहरू आपसमा कुन महिला कस्ती, कस्को शरीरको बनोट, आकारप्रकार र स्वभाव कस्तो? उसको अवस्था कस्तो? कसकसलाई कसरी चारो हाल्ने? कसरी घुमाउने लगायतका सम्बन्धमा अत्यन्त घटिया बहस र योजना गर्छन्।

अझै ट्विटरको अर्को रहस्य के हो भने एउटै ह्यान्डल दश पन्ध्र जनाले मिलेर चलाउँछन्। कुनै अलि साधारण जस्ती लाग्ने केटीसँग अनेकन बहानामा नजिक भएको अभिनय गर्छन्। प्रेमका अनेकन किस्सा सुनाउन थाल्छन्। अन्तिममा आफू प्रेममा परेको नाटक गर्छन्। एउटी सामान्य महिलालाई बिना कुनै गल्ती बनाउनुसम्म पंगु बनाउँछन्।

ती महिलामाथिको त्यति बिघ्न अपमान र त्यसपछिको भावनाको दुर्घटनाको हिसाब कस्ले राख्ने? आफूलाई बिनाकारण बिनागल्ती कुनै निश्चित झुण्डले आफ्नो रमाइलोको पात्र बनाइएकोमा दुखेको उनको आत्माको गहिराइ केले नाप्ने? कसैलाई मुर्ख बनाउने दौडमा विजयी भएर जोडजोडको हाँस्दै गर्दा त्यस्तै चर्कोसँग त्यही हाँसोको कारण अरू कोही रोइरहेको छ होला भन्ने थोरै पनि हेक्का हुन्छ त्यस्ता कुत्सित चरित्रहरूलाई?

म आफैँले बारम्बार सञ्जालमा हुने हिंसाका घटनाहरू प्रशस्तै देख्न,भोग्न र सुन्न पाएकी छु। भलै अधिकांश महिलाहरूले त्यस्तो हिंसाको प्रयासलाई वेवास्ता गर्न आफैँलाई बानी पारिसकेँ। तर त्यस हदसम्मको आफ्नो भावनामाथिको खेलबाडलाई कतिले सहज रूपमा लिन र सामान्य बन्न सक्लान्?

यस्ता मानसिक हिंसा सहन सक्ने र नसक्ने भन्ने कुरा पनि व्यक्तिभित्रको संवेदनशीलता अनुसार फरक हुन्छ। कसैले वास्तै नगरेर हिंड्लान्, कसैले पुलिस केससम्म पनि गर्लान् त, कसैको लागि दिमागमा दिर्घकालीन असर पार्नसक्ने समस्या पनि त्यस्तै घटनाहरू बन्न पुग्छन्।

कसैका लागि एकछिनको रमाइलो र समय बिताउने बहाना स्वरूप रचेका नाटकले अरू कसैको पूरै जिन्दगी विषादपूर्ण पनि हुन सक्छ। त्यसबारे आफू शिक्षित र बुद्धिमान छु भन्ने ढोङ गर्दै शरीरभरि आधुनिकताको लेप दलेर बर्बर युगमा अल्झिरहेको घृणीत मानसिकताधारी वर्गहरूले कहिल्यै सोचेको छ?

भावनामा पुगेको चोट र अदृष्य दुखाइको पिर सहन नसकेर आफ्नै कुर्ताको सललाई आफ्नो जिन्दगी सुम्पनेहरू कम छन् र हाम्रो समाजमा? फेरि पनि किन बारम्बार त्यस्तै किसिमका घटनाहरू, अपराधहरू छ्याप्छ्याप्ती बढ्दै छन्? एकछिनको मित्रता र रमाइलोले किन महिलाले नै मात्र बाँचुन्जेलको लागि घाइते भइरहनुपर्ने? कहिलेसम्म आगोका डाम, एसिडका छिट्टा र बलात्कारका घाउलाई मात्र हिंसा मानिरहने? जबकि अहिलेको शिक्षित पुस्ताले दिन दुगुना रात चौगुणा मान्छेलाई बिस्तारै मार्न सकिने मन्द विष भनेको उसको भावनामाथिको प्रहार, दुर्व्यवहार र मानसिक हिंसा हो भनेर बुझिसक्यो।

के मान्छे पीडित हुन् भनेर देखाउन सँधै साथमा भौतिक घाउ नै हुनुपर्ने हो? जसरी खुट्टामा चोट लाग्दा मलम लाउन,खोज्ने, पट्टी बाँध्न अग्रसर हुने हात र मनहरू भेटिन्छन्, त्यसैगरी भावनात्मक चोट सुम्सुम्याउने मन किन कोही भेटिन्न? शरीरसँगै जोडिएर अझै धेरै गहिरिएर आउने भावनाको चोटलाई किन हमेशा गौण बनाइयो?

अझ अर्को चाखलाग्दो भन्नुहुन्छ कि अचम्मलाग्दो जे भन्नुस्। त्यो कुरो के छ भने प्रत्यक्ष या अप्रत्यक्ष रूपमा यस्ता अपराध र अपराधीको महिला स्वंयमबाट नै संरक्षण पुगिरहेको हुन्छ। फेरि कसरी त भन्ने प्रश्न पनि उठ्ला।

एउटी महिलामाथि दुर्व्यवहार गरेको पुरूषले अर्कीलाई पनि त्यस्तै गर्न सक्छ भन्ने हैन। सत्य के हो भने एउटा व्यक्तिले सबैलाई दुर्व्यवहार गर्न सक्दैन। एकजनालाई बलात्कार गर्नेले अरू कसैलाई पनि कैलै बलात्कार नगरेको हुन सक्छ। फेरि अरू कसैलाई कहिले बलात्कार नगर्न पनि सक्छ।

एकजनालाई दुर्व्यवहार गरे पनि अरूहरू सबै महिलाको नजरमा ऊ योजनावद्ध रूपमा महान् र आदर्श पुरूष बन्ने सपना देखेर त्यस्तै अभ्यास गरिरहेको हुन सक्छ। आफ्नो अगाडि आदर्श बनेको अभिनय गर्ने पुरूष पात्र सबैजसो महिलालाई एकदमै असल लाग्छ।

अनि समस्त महिलाहरूले पीडककै साथ दिन्छन्।

सट्टामा पीडित महिलालाई बाँकी महिलाले सिधै कसो भन्छन् भने फलानी नै उस्ती भएर त होला नि। नत्र त फलानो कति असल छ।

यसरी महिला स्वयंले महिलालाई कहिलै साथ दिन सक्दैनन्। आपराधिक मनस्थिति बोकेकाहरूले महिलामहिला बीचमै सधैँ भ्रमको पर्दा राख्छन्। र, फरकफरक व्यक्तिसँग सँधै भिन्न रूपमा प्रस्तुत हुन्छन्।

यसरी आफू एउटै व्यक्तिभित्र अनेकन भिन्न रूप बोकेर अरूअरू महिलालाई मुर्ख बनाउन सकेकोमा आफ्नो अर्को एक विजयको कुटिल हाँसो हाँसिरहेको हुन्छ।

समाजका शिक्षित चेतनशील र नयाँ पुस्ताका होनहार छोराहरू पनि दिनप्रतिदिन महिलाप्रति यति बिघ्न अनुदार हुँदै जानुले कस्तो संकेत गर्छ?

कल्पना गर्नुस् त यस्तो संस्कार कतिसम्म कहालीलाग्दो हुन सक्ला भविष्यमा?

पुनश्च: यस लेखनको उद्देश्य सबै पुरुष खराब र सबै महिला असल भनेर देखाउनु हैन। तर , पछिल्ला दिनहरूमा हामीमाझ झाँगिरहेको विकृति औंल्याउनु भने पक्कै हो।

बैशाख ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्