भनिन्छ, कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित ८० प्रतिशत मानिसलाई खासै केही हुन्न, आफै निको हुन्छ, सामान्य रुघाखोकीजस्तै हो। यसैलाई सबैभन्दा राम्रो पक्ष मानिएको छ। तीमध्ये कतिलाई त कुनै लक्षणै देखा पर्दैन। नेपालमा पाइएका कतिपय संक्रमितमा कुनै पनि लक्षण नभएको बेलाबेला समाचारमा आउने गरेका छन् । तर खराब वा डरलाग्दो पक्ष नै त्यही हो कि, तीनै आफै निको हुने र स्वस्थ देखिने ८० प्रतिशतले अरु धेरैलाई यो भाइरस सारिरहेको हुन्छ। तिनले फेरि अरुलाई । यसरी भाइरस फैलिरहेको हुन्छ । त्यसैले सामाजिक र भौतिक दुरी कायम गर्न अहिले नेपाललगायत कतिपय देशहरुपूर्ण या आंशिक लकडाउन (बन्दाबन्दी) को अवस्था छन्। विश्वका करिब एक तिहाइ मानिसहरु अहिले पनि लकडाउनमा छन् । यद्यपि, अमेरिका तथा युरोपेली मुलुकहरुमा जोखिमको बाबजुद् पनि लकडाउनलाई बिस्तारै खुकुलो बनाइँदै लगेको छ ।यो बाध्यता पनि हो ।

कोभिड–१९ को लक्षण नदेखिए पनि परीक्षणबाट संक्रमित पाइएपछि आइसोलेसनमा त रहनै पर्‍यो। मानौं यी पनि माथि उल्लेखित ८० प्रतिशतभित्र परे । कुरा रह्यो,बाँकी २० प्रतिशतको,जसलाई उपचारको आवश्यकता पर्छ। खासै उपचार त अहिले छँदै छैन। केही दिनअघि मात्रै इबोलाभाइरसको उपचारमा प्रयोग हुने ‘रेमडेसिभिर’ औषधिलाई कोभिड–१९ को उपचारका लागिअमेरिकामा हाललाई सिफारिस गरिएको छ । किनकि यो औषधि सेवनले बिरामी चाँडै निको भएको पाइयो । होइन भने अहिलेलाई आइसोलेसनमा राख्ने, स्वासप्रस्वास प्रणाली सजिलो गरिदिने, अक्सिजन दिने र सिकिस्त भएकालाई भेन्टिलेटरमा राख्ने नै हो।

यो लेख तयार पार्दासम्मको तथ्याङ्कअनुसार विश्वभरमा संक्रमितको संख्या ४३ लाख, मृत्यु हुनेको संख्या २ लाख ९० हजार र निको भएकाहरुको संख्या १५ लाख ६६ हजारनाघिसकेका छन् । यो हिसाबले संक्रमितको सरदर मृत्युदर ६.७ प्रतिशत रहेको छ। शुरुको महिनामा यो दर २ प्रतिशत थियो । त्यसबेला त्यही दर कायम हुने अन्दाजमा केहीले त्यसलाई खासै ठूलो कुरा मानेनन्। किनकि मानिसहरु अरु रोगले त्योभन्दा धेरै संख्यामा मरिरहेकै छन् भन्ने तर्क पनि गरे । तर, यो क्रमशः बढ्दै अहिले तीन गुणा नाघ्यो। चीन जहाँबाट यो भाइरस फैलिएको थियो र जहाँ यो रोग लगभग नियन्त्रणमा आइसकेको छ, त्यहाँको मृत्यु दर ५.६ प्रतिशतमा कायम छ । अहिलेसम्म सबैभन्दा बढी मृत्युदर बेलायतमा छ,१४.४ प्रतिशत । त्यसअघि इटालीको मृत्यदर सबैभन्दा बढी थियो, अहिले त्यहाँको मृत्युदर १४ प्रतिशत छ ।

यो हिसाबमा ८० प्रतिशत (जसलाई खासै केही हुँदैन भनिएको छ) लाई छोडेर रोगले च्याप्ने भनिएका २० प्रतिशतलाई हिसाब गर्ने हो भने अहिले विश्वभरमा २० जनामा ६ जनाभन्दा बढी र बेलायतमा २० जनामा १४ जनाको मृत्यु भइरहेको छ। यो भनेको भयावह स्थिति हो।माथिका हिसाबलाई छोडेर अहिले सबैभन्दा बढी संख्यामा परीक्षण भएको, सबैभन्दा बढी संख्यामा संक्रमित पाइएको, सबैभन्दा बढी प्रविधियुक्त र सुविधा सम्पन्न भएको र सबैभन्दा बढी संख्यामा मृत्यु भएको मुलुक अमेरिकाको आंकडा हेर्दा त्यहाँ कुल संक्रमित संख्याको करिब ६ प्रतिशतको मृत्यु भएको छ। यो भनेको खास बिरामी अर्थात माथि उल्लेखित २० जनाको १ तिहाइ हो। अर्थात ३ जना बिरामी भयो भने १ जना नफर्किने पक्का हो। भोलि खोप र औषधि उपलब्ध भएपछिको अवस्था अर्को होला । एउटा भ्रम के हुन सक्छ भने अमेरिकामा सबैभन्दा धेरै संक्रमित पाए किनकि त्यहाँ सबैभन्दा धेरै संख्यामा परीक्षण भए । कम संख्यामा परीक्षण भएका मुलुकहरुमा संक्रमितका संख्या पनि कमै हुने स्वभाविकै हो । यद्यपि अमेरिकाको केश फरक छ । त्यहाँ पाइएका संक्रमितहरु फगत परीक्षणबाट मात्र सिद्ध भएका होइनन्, त्यहाँको मृत्यु दरले पनि पुष्टि गरेको छ । अहिले अमेरिकामा संक्रमितको संख्या १४ लाखकोे हाराहारीमा पुगिसकेको छ । त्यस्तै मृत्य हुनेहरुको संख्या ८२ हजार नाघिसक्यो ।

करीब १ महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले सार्वजनिक गरेको कम्तीमा १ लाखदेखि २ लाख ४० हजारसम्म अमेरिकामा मृत्यु हनेछ भन्ने पूर्वानुमान मिल्न जाँदैछ । अहिलेकै दर कायम रह्यो भने डेढ हप्ताभित्र अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख नाघ्नेछ । अमेरिका र युरोपेली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण कसरी त्यति चाँडै फैलियो भन्दा ती मुलुकहरुमा मानिसहरुको अन्तर्राष्ट्रिय हवाइ आवागमन धेरै थियो । त्यही कारण कोरोना भाइरस सोचेभन्दा पहिल्यै ती मुलुकहरुमा पुगिसकेको थियो । यो तथ्य फ्रान्समा गत वर्षको डिसेम्बर २७ मा निमोनिया भएको एकजना मानिसको त्यतिखेरै संकलित स्वाबको नमूना अहिले परीक्षण गर्दा कोरोनाभाइरस पोजिटिभ आएपछि खुल्न आयो । नयाँ कोरोनाभाइरस भनेर पक्का भइसकेपछि चीन र अरु मुलुकहरु खासगरी अमेरिका र युरोपबीचको हवाइ आवागमनको अत्यधिक चापलाई मनन गरेर कोरोना भाइरस कति फैलिसकेको हुन सक्छ भन्ने अनुमान लगाउन विश्व स्वास्थ्य संगठन र विकसित मुलुकहरु पछि परेकै हो। चीनले त १ करोड १० लाख जनसंख्या भएको पुरै वुहान सहरलाई लकडाउन गरेर विश्वलाई सचेत गराएकै हो । तर त्यसलाई ज्यादती भनेर विरोध पनि तिनैले गरेका थिए । भन्नै पर्दा इटाली र स्पेनमा रोगले अधिक च्यापेपछि न ती मुलुकहरु झस्केका हुन् । होइन भने नयाँ किसिमको रुघाखोकी भाइरस हो, त्यसै पनि मानिसहरु मौसमी रुखाखोकीले मर्ने गरेका छन् भनेर हल्का ढंगले लिएकै हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङलाई फोन गरेर धन्दा मान्नु पर्दैन, अलि गर्मी चढेपछि आफै ठिक हुन्छ भनेकै हुन् । तर वास्तविकता फरक निस्क्यो ।

जे होस्, अमेरिका र युरोपमा अधिक कोरोना संक्रमित हुनुमा थाहै नपाई भाइरस फैलिनु, भाइरस पसिसकेको वा फैलिंदै गरेको थाहा पाइसकेपछि पनि यथेष्ट सावधानी नअपनाउनु नै मुख्य कारण हुन् । तीबाहेक मानिसमा इम्युनिटी पावर कम हुनु र मौसमी तथा अन्य वातावरण भाइरसको लागि उपयुक्त हुनु पनि प्रमुख कारणमै पर्छन् । भन्नैपर्दा केही युरोपेली मुलुकहरु जस्तै डेनमार्क, नर्वे, फिनल्याण्डले बेलैमा सावधानी अपनायो, त्यहाँ मानवीय क्षति कम भयो । उच्च सतर्कता अपनाएरै चीन र दक्षिण कोरियामा नियन्त्रणमा आइसकेको अवस्था हो । तर दुबै देशमा मनयाँ सक्रमण देखिन थालेका छन् ।चीनको शुलान सहर गएको आइतबारदेखि लकडाउन छ । दक्षिण कोरियाको एउटा नाइटक्लबबाट कम्तीमा एक सय जना नयाँ संक्रमित भएका छन् ।

जे होस्, अमेरिका र युरोपमा अधिक कोरोना संक्रमित हुनुमा थाहै नपाई भाइरस फैलिनु, भाइरस पसिसकेको वा फैलिंदै गरेको थाहा पाइसकेपछि पनि यथेष्ट सावधानी नअपनाउनु नै मुख्य कारण हुन् । तीबाहेक मानिसमा इम्युनिटी पावर कम हुनु र मौसमी तथा अन्य वातावरण भाइरसको लागि उपयुक्त हुनु पनि प्रमुख कारणमै पर्छन् ।

नेपालको कुरा गर्दा केही दिन यतादेखि परिस्थिति बदलिएको छ । केही दिनअघिसम्म विशेषगरी उदयपुरको भुल्के, बाँकेको नेपालगञ्ज र पर्साको बीरगञ्जमा कोरोनाभाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरेको वा समुदायमा केही फैनिन थालेको अवस्था थियो। अब फैलिसकेको छ । आजमात्रै यो लेख तयार गर्दैगर्दा काठमाडौं र भक्तपुरलगायत विभिन्न ७ वटा जिल्लामा गरी एकैदिन ८३ जना संक्रमित थपिएर कुल २ सय १७ पुगेको छ । संयोग नै भनौं, बैशाख २५ पछि खुकुलो भएको लकडाउनसँगै संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । आज फेरि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास रद्द गर्ने निर्णय भयो। पर्सामा त निषेधाज्ञा नै लागिसक्यो ।हाम्रो लागि सबैभन्दा ठूलो डर भनेकै छिमेकी मुलुक भारतमा बढिरहेको संक्रमण हो । त्यहाँ संक्रमितको संख्या ७४ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार ४ सय नाघिसक्यो । अहिले भारत सबैभन्दा धेरै संक्रमित भएका देशहरुमा १२ औं स्थानमा छ, जुन चीनभन्दा १ स्थान मुनि हो । अहिलेकै दरले केही दिनभित्रै भारतले चीनलाई उछिन्छ । नेपालको लागि ठूलो चुनौती यही हो ।

सिमाना खुल्ला छ, तथापि आवतजावत गर्न अहिले रोक लगाइएको छ । जसको कारण सयौैंको संख्यामा भारतबाट नेपाल फर्कन बाध्य भएका, बाध्य पारिएका र फर्कन चाहेका नेपालीहरु नेपाल–भारत सिमानामा अड्किएका छन्, तीमध्ये कतिपय बेहालमा छन् । मानिसहरु लुकीछिपी चोरबाटो नेपाल पसिरहेका छन् । त्यसले जोखिम झन् बढाइरहेको छ । भारतमा रेल सेवा सुचारु हुँदैछ, त्यसले नेपाल फर्कनेको चाप झनै बढ्छ । नेपाल सरकार भने लकडाउन भनेको जो जहाँ छन् त्यहीँ रहने हो भनेर शाब्दिक अर्थ लगाउँछन् । दुई मुलुकबीच एकअर्काका नागरिकलाई बस्ने खाने बन्दोबस्तको लागि सहमति र समझदारी भएको छ त्यहीअनुसार हुन्छ भनेर सरकार ढुक्क छ । राम्रो हो, दुई सरकारबीच सहमति भयो । तर सहमतिबमोजिम कार्यान्वयन भइरहेको छ छैन, हेर्न बुझ्न आवश्यक पहल र समन्वयात्मक ढंगले दुबै तर्फबाट अनुगमन पनि त हुनुपर्‍यो। त्यतिमात्रै भए पनि राहत र सान्त्वना मिल्थ्यो ।

बैशाख ३०सम्मको अपडेटअनुसार र्‍यापिड (आरडिटी) टेस्टबाट ५९ हजार ६ सय २७ र पिसिआर विधिबाट १८ हजार ९ सय ९० जनाको परीक्षण भएको छ। विश्व स्वास्थ्य संगठनले पिसिआर विधि अर्थात प्रयोगशाला परीक्षणलाई मात्र आधिकारिक मानिएको बुझिन्छ । वल्र्डोमिटर्सडटइन्फोको गणनाअनुसार नेपालमा जम्मा टेस्ट संख्या ७६ हजार ४ सय २४ देखाएको छ । त्यस हिसाबले नेपालमा प्रति १० लाख जनसंख्यामा २ हजार ६ सय २३ जनामा परीक्षण भएको बुझाउँछ । यो संख्या भारतमा जम्मा १ हजार २ सय ७५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी परीक्षण गर्ने मुलुक अमेरिकामा २९ हजार पुगेको छ भने युरोपका सबैभन्दा बढी प्रभावित मुलुकहरु इटाली, स्पेन, बेलायत र फ्रान्सको क्रमशः ४४, ५२, २९र २१ हजार कटेको छ । यो हिसाबले नेपालको परीक्षण संख्या भारतकोभन्दा बढी देखिन्छ । तथापि पिसिआर विधिले मात्र टेस्ट गरेको संख्या हिसाब गर्ने हो भने नेपालमा हालसम्म प्रति १० लाख जनसंख्यामा जम्मा ६५२ जना मात्र पुगेको छ ।

नेपालमा कोभिड–१९ को लक्षण देखिएका बिरामीहरु, अझ भनौं कतिपय संक्रमितहरुमा लक्षण नदेखिनु र धेरैको अवस्था सामान्यमा रहनु र संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किसकेको अवस्था भएकोले सरसर्ती हेर्दा खासै चिन्ता मान्नुपर्ने देखिन्न । तर संक्रमितको संख्या केही दिनयता ह्वात्तै बढ्न थालेको छ । संक्रमितहरुसँगको कन्टाक्ट ट्रेसिङ गर्दै परीक्षण बढाउँदै लगेपछि संक्रमितको संख्या बढ्दै जाने निश्चित छ । अर्कोतर्फ निको भएर गइसकेका केही बिरामीहरु फेरि पोजिटिभ देखिन थालेका छन् । अरु देशमा पनि यस्तो भएको छ । सामान्यतया एकपटक भाइरस लागेपछि कम्तीमा केही निश्चित समयको लागि उक्त भाइरसविरुद्ध इम्युनिटी विकास हुनुपर्ने हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस लागेर शरीरमा उत्पन्न भएका एन्टीबडिजले मानिसलाई कोरोना प्रतिरोधी बनाउँछ बनाउँदैन भन्नेमा अध्ययन भइसकेको छैन ।

एउटा अलमलको विषय छ, र्‍यापिड टेस्ट । यो टेस्टबाट पोजिटिभ पाइएकाहरु खासमा भन्नुपर्दा संक्रमित नै हुन्, यदि टेस्टमा कुनै खोट छैन भने । तर तिनै पोजिटिभ आएकाहरु पिसिआर टेस्टमा नेगेटिभ पाइएका छन् । यसको अर्थ कि त संक्रमितबाट भाइरस निख्रिसकेको अवस्था हो वा टेस्टको नतिजा नै अमान्य हो । अमान्य त मान्न सकिन्न, तर पिसिआरमा पोजिटिभ आएपछि मात्रै त्यसको गणना हुन्छ । अलमल यहीँनिरै छ । खासमा पिसिआरमा पोजिटिभ देखिनु भनेको भाइरस छ भन्ने पक्का हुनु हो। तर भाइरसको उपस्थिति सक्रिय वा निष्क्रिय (सामान्य बुझाइमा मरेका) हुन सक्छन् । निष्क्रिय भाइरस भएकाबाट अरुमा रोग सर्दैन । सामान्यतया कोभिड–१९का लक्षण छन् र पिसिआर पोजिटिभ छ भने भाइरस सक्रिय छन् भन्ने बुझिन्छ । र्‍यापिड टेस्टमा पोजिटिभ आयो तर पिसिआरमा नेगेटिभ भयो भने भाइरस बाँकी छैन, भाइरसको विरुद्ध मानिसको शरीरमा उत्पन्न भएका एन्टीबडिज मात्र बाँकी छन् भन्ने बुझिन्छ। किनकि र्‍यापिड टेस्टले भाइरस होइन एन्टीबडिज छ छैन पत्ता लगाउने हो । यस्ता व्यक्तिहरुबाट अरुमा रोग सर्दैन, किनकि भाइरस बाँकी छैन । तर त्यो व्यक्ति त त्यसअघि कुनै अवधिसम्म संक्रमित थियो र उसको सम्पर्कमा आएकाहरुलाई भाइरस सारेको हुन सक्छ । त्यसैले प्राविधिक हिसाबले र्‍यापिड टेस्टमा पोजिटिभ आएकाहरुको पनि पुरानो कन्ट्राक्ट ट्रेसिङले माने राख्दछ । तर कति पहिलेसम्मको ट्रेसिङ गर्ने भन्ने व्यवहारिक समस्या आउँछ ।अहिले र्‍यापिड टेस्ट विवादास्पद भए पनि सरकारले यसलाई निरन्तरता दिने भनेको छ । यो सही छ । किनकि यसले संभावित संक्रमण पहिल्याउन सघाउ पुर्‍याइरहेको छ।

अब राज्यले एउटा नीति अवलम्बन गनैपर्छ । लकडाउन आज ५० दिन भइसक्यो । जेठ ५ गते ५६ दिन पुग्छ । लामो दुरीको यातायात, ठूला बजारहरु र मुल सडकमा बाहेक लकडाउनको प्रभाव धेरै कम भइसकेको छ । आजको मन्त्रिमण्डलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन छ र भनी सोध्नुभएछ । लकडाउनको खासै पालना भइरहेको अवस्था छैन । अन्यत्रको तुलनामा बरु बैशाख २५ सम्म काठमाडौंमा केही बढी पालना भइरहेको थियो । एकातिर घोषित लकडाउनले अत्यावश्यक काम कारबाहीहरुमा असर परिरहेको छ । अर्कोतिर, लकडाउनको नाममा राहतस्वरुप जम्मा भएको राज्यकोषको दोहन भइरहेको अवस्था पनि छ । यद्यपि, कोरोनाभाइरसबाट सतर्क हुनु र सावधानी अपनाउनुको विकल्प पनि छैन।

यो अवस्थामा राज्यसामु तीनवटा विकल्प छन् । (१) पहिलो विकल्प –छिमेकी भारतमा कोरोनाभाइरस नियन्त्रणमा नआएसम्म नेपालमा पनि पूर्ण पालनासहित लकडाउन गर्ने । त्यो सायदै व्यवहारिक होला वा सम्भव पनि नहोला । (२) दोस्रो विकल्प –बाहिरबाट आउने (नेपाली नागरिकबाहेक) लाई पूर्ण प्रतिबन्ध लगाएर, जोखिम ठाउँ र क्षेत्र छुट्याएर सोहीअनुरुप गतिविधि र आवागमनमा बन्देज लगाएरअन्यत्र सामाजिक तथा भौतिक दुरीकायम राख्दै सुरक्षाका उपायहरु इमान्दारितापूर्वक अप्नाउने गरी लकडाउन खोल्ने । बुझेअनुसार सरकारको आगामी कार्यनीति यसैमा केन्द्रित रहनेछ । तथापि तुरुन्तैका लागि विदेशबाट फर्कने नेपालीहरु खासगरी भारतबाट आउनेहरुलाई सरकार कठोर हुने संकेत छ । त्यसो नगरी आफ्नो देश फर्कन चाहनेलाई कडाइकासाथ क्वारन्टीन, आइसोलेसन र अस्पतालमा बस्ने गरी व्यवस्था मिलाउने दायित्व राज्यको हो । यसको लागि हामी नेपालीहरुको बानी बेहोरालाई ध्यानमा राखी त्यो जिम्मेवारी सेनालाई दिने जुन कुराहरु आइरहेको छ त्यो एकदम ठिक छ ।नत्र त्यो संभव छैन ।  (३) तेस्रो विकल्प – अब जे हुन्छ, हुन्छ। भाइरस लाग्छ, सर्छ, फैलिन्छ, निको पनि हुन्छ, कसैको मृत्यु हुन्छ भने त्यसलाई कालगति सम्झिने । हुन पनि अहिलेसम्म कसैको मृत्यु त के एकजना पनि कोरोना भाइरसबाट सिकिस्त बिरामी परेका छैनन् । यो विकल्प कसैलाई बौलाहा विकल्प लाग्ला । तर व्यवहारमा हुनेचाहिँ विकल्प २ को २५ प्रतिशत र विकल्प ३ को ७५ प्रतिशतको समिश्रण नै हो । यसले आखिर मानिसमा हर्ड इम्युनिटी (बथानमा रोगविरुद्ध प्रतिरोधात्मक शक्ति) विकास गर्नमा योगदान पुर्‍याउँछ। यो कोरोना भाइरस अब पृथ्वीबाट निर्मूल त हुन्न । आखिर मानिसले अरु मौसमी भाइरसजस्तै यो भाइरससँग पनि सहजीवन बिताउनै पर्छ ।

बैशाख ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्