घटेको छैन अमेरिकामा मृत्युदर, कोभिड–१९ बाट ८४ हजार भन्दा बढीको ज्यान गयो

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ८४ हजार भन्दा बढी पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट कम्तिमा ८४ हजार ५९ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा झण्डै १८ सय जनाको ज्यान गएको छ । आइतबार र सोमबार अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजारको आसपास थियो । तर मंगलबारदेखि पुनः बढ्न थालेको हो ।
यस्तै कुल संक्रमितको संख्या पनि अमेरिकामा १३ लाख ९० हजार पुगेको छ ।
संक्रमित तथा मृत्यु हुनेको संख्या लगातार बढी रहेको भए पनि अमेरिकामा लकडाउन खुकुलो पार्न थालिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै पनि हालतमा व्यवसाय सञ्चालन गर्ने पक्षमा रहेका छन् । उनले कोरोना भाइरस विरुद्धको अभियानमा महत्वपूर्ण रणनीति बनाउने टिमका शीर्ष सदस्य डा. एन्थोनी फाउचीको आलोचना पनि गरेका छन् ।
डा. फाउचीले मंगलबार सिनेटको कमिटिसँगको सुनुवाईको क्रममा लकडाउन चाँडै हटाए संक्रमण झन तीव्र रुपमा फैलिने चेतावनी दिएका छन् । सोही कारण ट्रम्पले उनको आलोचना गरेका हुन् ।