शायद सबै परिवर्तन समयले गराएको छ

दोष मेरो पनि हैन
दोष उसको पनि छैन ।

न त थियो पारिवारिक दुश्मनी नै
न त थियो लेनदेनको बाँकी बक्यौता नै
न त थियो मेलापातको चटारो नै
न त थियो पँधेरीमा पानी भर्ने लर्को नै ।

ऊ सधैँ हँसिलो नै थियो
म अलि अँध्यारो भए पनि

न मैले कहिले झर्काे बाेली गरे

न त उसले कहिले रुखो स्वर गर्थ्यो
तर आजभोलि ऊ निराश देख्छु
त्यो उज्यालो मुहार मलीन देख्छु
अब हामी–हामीमा दूरी बढेको छ
लेनदेन, अ‍ैँचोपैँचो सबै बन्द भएको छ ।

म खिस्स हाँस्न खोज्छु
ऊ नदेखेझैँ अन्तै हेर्छ
म टाढाबाटै हाई भन्छु
अब त ऊ बाई भन्नसम्म झर्को मान्छ ।

मानव–मानवमा यो तिक्तता किन ?
यो उदासी, वेचैनी, वितृष्णा किन ?
सामाजिक प्राणी हामी मानव घरभित्र बन्धक किन?

दोष मेरो पनि हैन
दोष उसको पनि छैन
शायद सबै परिवर्तन समयले गराएको छ ।

कपिल भण्डारी

जेष्ठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्