खोपमा सबैको पहुँचको पक्षमा फ्रान्स

कोभिड-१९ को खोपमा अमेरिकालाई पहिलो प्राथमिकता अस्वीकार्य

फ्रान्सेली औषधि उत्पादक कम्पनी सानोफीले कोभिड-१९ को खोप उत्पादन गर्न सफल भएमा त्यसको पहिलो प्राथमिकतामा अमेरिकालाई राख्नु अस्वीकार्य रहेको फ्रान्सले बताएको छ ।

सानोफीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पउल हडसनले ठूलो मात्रामा जोखिम पूर्ण लगानी गरेकाले अमेरिका सरकारसँग ठूलोमा मात्रामा खोपको पूर्व अडर गर्न पाउने अधिकार रहेको बताएका थिए ।

फ्रान्सले सानोफीका सिइओको सोही अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै खोपमा अमेरिकालाई पहिलो प्राथमिकतामा राखिनु कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएको हो ।

खोपमा सबैको पहुँच हुनु पर्ने फ्रान्सका प्रधानमन्त्री इडूवार्ड फिलिपले बताएका छन् ।

कोभिड १९ को खोप बनाउने प्रयासमा विश्वका विभिन्न प्रयोगशालाहरु लागि परेका छन् ।

सामान्य अवस्थामा खोप पूर्ण रुपमा तयार हुन वर्षौँ लाग्छ । तर कोरोना भाइरसको महामारी विश्वभर भयावह रुपमा फैलिएकाले वैज्ञानिकहरु कम्तिमा डेढ वर्ष भित्रै खोप प्रयोगमा ल्याउन सकिने गरी काम गरिरहेका छन् ।

फ्रान्सका उपवित्त मन्त्री एग्नेस पानिएर रनएचरले स्थानीय सुड रेडियोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘कुनै पनि देशको आर्थिक कारणले नै उसलाई खोपमा प्राथमिकता दिने कुरा हाम्रा लागि अस्वीकार्य छ ।’

त्यसपछि प्रधानमन्त्री फिलिपले खोप विश्वका सबैलाई फाइदा पुग्ने गरी पुहँचमा हुनु पर्ने भन्दै ट्वीट गरे ।

यस्तै फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले खोप मुनाफा वा बजारी करणका हिसाबले सोचिन नहुने बताएका छन् । उनले आउँदो हप्ता सानोफीका उच्च अधिकारीसँग भेट गर्ने बताइएको छ ।

यो महिनाको सुरुमा युरोपियन युनियनको अग्रसरतामा कोभिड १९ को खोप बनाउने प्रयासका लागि ८ अर्ब अमेरिकी डलर बराबरको सहयोग जुटाउनका लागि अनलाईन सम्मेलन भएको थियो । जसमा ४० देश तथा दातृ निकायको सहभागिता थियो । तर अमेरिका र रुसले भाग लिएका थिएनन् ।

युरोपियन युनियनले खोप सबैका लागि सबैको पहुँचमा हुनु पर्नेमा स्पष्ट रुपमा जोड दिएको छ ।

कोभिड-१९ को खोप बनाउने प्रयासमा सानोफीलाई अमेरिकाको बायोमेडिकल एड्भान्स रिसर्च एण्ड डेभलप्मेन्ट अथोरिटी (बार्डा) ले आंशिक रुपमा सहयोग गरेको छ ।

तर पछिल्ला वर्षहरुमा सानोफीले करोडौँ युरो बराबरको कर छुट फ्रान्स सरकारबाट पाउँदै आएको छ । फ्रान्स सरकारले अनुसन्धानलाई सहयोग गर्न भन्दै कर छुट दिने गरेको हो ।

तर सानोफीका सिइओ हडसनले ब्लुमबर्गसँगको अन्तर्वार्तामा अमेरिकालाई प्राथमिकता दिने कुराले फ्रान्समा तरंग पैदा गरेको छ । यसले राजनीतिक रुप पनि लिएको छ ।

जेष्ठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्