छट्पटीले जन्मिएको एउटा गीत

आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो

काठमाडौँ – केही सिर्जनाहरुको समय हुन्छ । बेलैमा साझा गरिएन भने थन्किन्छन् सर्जककै साधनहरुमा । बेलाको बोली । समयको कथा बोल्ने सिर्जनाहरुलाई सोही समयको पेरिफेरीमै पस्किन सके अर्थ रहन्छ ।

गायक संगीतकार नारायण रायमाझीले यही बुझेर यो विपद (कोरोना भाइरसको महामारी र संक्रमण फैलिन नदिका लागि लागु भएको लकडाउन) मै पनि हतारो तर अति सोच विचारेर सार्वजनिक गरेका हुन्, ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो’ बोलको गीत ।

विशेष गरी मौलिक लोक तथा दोहोरी गीतमा राम्रो पकड भएका संगीतकर्मी रायमाझीले गायिका शान्ति श्री परियारसँग गाएको गीत बिहीबार बेलुका युट्युब मार्फत सार्वजनिक गरे ।

यो गीतले महामारीको विपदका बेला सहन गर्नु परेको अर्को स्वाभिमानमाथिको आक्रमणको कथालाई लयात्मक रुपमा बोलेको छ ।

वैशाख २६ गते भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने लिंक रोडको उद्घाटन गर्‍यो। सो बाटोमा नेपाली भूमि लिपुलेक कालापानी पनि समेट्यो । भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि त्यसको विरोध जारी छ । सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताएको छ । तर सकारको प्रयास पर्याप्त नभएको भन्दै आलोचना भइरहेको छ।

सबैले आफ्नो स्थानबाट गर्न सक्ने प्रयास गर्ने हो । विरोध गर्नेहरुले महामारीमै पनि गरे । विरोधको अर्को स्वरुप सिर्जना, जो अति सशक्त पनि हुन्छ । यहि विरोधको सिर्जना गरे स्याङ्जाका रमेश बिजीले ।

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलाई लिपुलेक कालापानीमा भारतले बाटो बनाएको थाहा पाएपछि असह्य भयो । उनले गर्न सक्ने विरोधको माध्यम थियो सिर्जना । गीत लेखे, आमा तिम्रो छातीको पाटो…, अनि सामाजिक सञ्जालमा पोस्ट गरे ।

बिजीको शब्दले काठमाडौँको बबरमहलामा बस्दै आएका संगीतकर्मी नारायण रायमाझीलाई झस्क्यायो । उनले रमेशलाई फोन गरे । उनको शब्दमा संगीत र स्वर भर्छ भने । रमेशले आफ्नो सिर्जनाले जीवन पाएर श्रोतासम्म पुग्ने भएपछि हुन्छ भने ।

नारायणले संगीत भरेर गायनमा साथ दिन गायिका शान्ति श्री परियारलाई आग्रह गरे । काठमाडौँमै रहेकी उनी तयार भइन् । सबै चाँजोपाँजो मिलाएर बुधबार (वैशाख ३१ गते) बबरमहल रायमाझीकै घरमा रहेको स्टूडियोमा गीत रेकर्ड गरे । बिहीबार भिडियो तयार पारेर युट्युबमा हाले ।

रायमाझीले भने, ‘यो सिर्जना अहिले नै नागरिकसम्म पुग्नु पर्ने थियो । हामीले विपदका बेला पनि घरकै स्रोत साधान जुटाएर हतारमै तयार पारेका हौँ यो गीत ।’

उनले हतारो गरेर यो गीत तयार पार्नुको कारण प्रष्ट पार्दै भने, ‘केही कुराले असर गरेर वा सोच्न बाध्य बनाएपछि यस्ता सिर्जना बन्छन् । समयमा निस्किएन भने अर्थ रहँदैन । शब्दले छायो, गाउनु पर्छ भन्ने लागेपछि लकडाउनकै बिच पनि निकालियो ।’

रमेशले गीतको अन्तरा पहिले नै लेखेका रहेछन्, बेलाबेला भारतीय पक्षले विभिन्न क्षेत्रका नेपाली भूमि मिच्दाको पीडा समेटेर । लिपुलेकका बाटो उद्घाटन गरेको थाहा पाएपछि सहनै सकेनन् ।

उनले भने, ‘जब जब हामीलाई अप्ठ्यारो पर्छ, तब तब छिमेकीले यसै गरी मिच्छ । शक्ति प्रदर्शन गर्छ । छिमेकीले नै डसेपछि कसरी बस्नु, कसरी सहनु ? सहनै नसकेर लखेको हो ।’

उनले भने, ‘विपदका आड भरोसा दिनुको सट्टा हाम्रो माटो अर्थात आमा माथि नै आक्रमण गर्दा सहनै सकिन्न रहेछ । आफू निरिह भएको महसुस हुने रैछ । यो गीत त्यसको प्रतिबिम्ब हो । उसकै सीमा जोगाउनका लागि कति नेपाली युवाहरु लाहुरे बनेर बसेका छन् । उसले हाम्रो माटो खोस्दा नबोली बस्न सकिएन ।’

रमेशले मनको हुटहुटी मेटाउन गीत लेखे, नारायण रायमाझीले त्यसमा स्वर भने र अहिले यो गीत विपदका बेला भोग्नु परेको अर्को पीडाको स्वर बनेको छ ।

लकडाउनका कारण पोखरामा समस्यामा परेको दोहोरी गायक गायिकाहरुको सहयोग खटिइरहेको बिजीले भने, ‘छिमेकी भनेको छ आगो पनि मागेर चुल्लोमा आगो सल्काउने सम्बन्ध पो हो । घरमै आगो लगाउनेलाई त छिमेकी भन्न सकिन्न रहेछ । साह्रै पोल्छ यस्तो हुँदा त ।’

जेष्ठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्