अनलाइन कक्षाका चुनौती र अवसर

लकडाउनमा फेरिएको कक्षाकोठा

प्रतीक्षा खत्री २०७६ फागुनमा ख्वप कलेज, देकोचामा स्नातकोत्तर तहमा भर्ना भएकी थिइन्। ओरिएन्टेसन र नियमित कक्षा गरेर उनी लगभग एक महिना कलेज पढ्न गइन्। मानविकी संकायमा ‘मेजर’ अंग्रेजी विषय लिएर नियमित कलेजमा पढ्न आउने विद्यार्थी जम्मा १४ जना थिए।

लकडाउन भएपछि कलेज गएर पढ्ने वातावरण बनेन। कलेजले नियमित दुई सातादेखि बिहान ७ बजेदेखि ९ बजेसम्म अनलाइन कक्षा सञ्चालन गरेको छ। कक्षामा उपस्थित हुने १४ जनामा १३ जना अनलाईन कक्षामा नियमित उपस्थित हुन्छन्।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि एक्कासी लकडाउन गर्‍यो। नियमित सञ्चालन हुने कलेजहरु बन्द भए। विद्यार्थीको एक प्रणालीमा पढ्ने बानीमा ब्रेक लाग्यो। बिहान उठेर विद्यार्थी कलेजको लागि तयार हुनु परेन।

तर, बदलिएको अवस्थासँग अगाडि बढ्दै कलेज तथा स्कुलले आफ्नो अनलाइन कक्षाहरु सञ्चालन गर्न थाले। इन्टरनेटको पहुँच भएका र एनरोइड मोबाइल फोन र ल्यापटप भएकाहरुलाई अहिले कक्षा सञ्चालन भइसकेको छ। भक्तपुर च्याम्हासिंहको बागिश्वरी कलेजले पनि स्नातक, स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गरिरहेको छ।

प्रत्यक्ष भेटघाट सम्भव नभएको यो अवस्थामा देशभरिमा जहाँजहाँ जस्तो माध्यम सम्भव छ, त्यहाँत्यहाँ कक्षा सञ्चालन भइरहेको छ। जुम्लाको चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई सामुदायिक रेडियोबाट सोमबारदेखि पढाइ सुरु गरेको छ।

जुम्लाका सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नारी आवाज र रेडियो खुला आकाशबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयको र कक्षा सञ्चालनमा आएको छ। जुम्लामा अनलाइन अध्यापन कठिन भएकोले रेडियो मार्फत पठनपाठन सुरु गरिएको हो।

यस्तै भक्तपुर नगरपालिकाको पहलमा भादगाउँ टेलिभिजन मार्फत एसईई परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको छ।

के फरक?

के एन के इन्टरनेशनल कलेज, काठमाडौँले तीन सातादेखि आफ्नो कलेजमा यो कक्षा सञ्चालन गरिरहेको छ। सुरुमा के गर्ने भन्नेमा अन्योल थियो। अनलाइन कक्षाको विरोधमा रहेको कलेजका प्रधान्याध्यापक बिमल खड्काले लकडाउन लम्बिएपछि बाध्य भएर कक्षा सञ्चालन गरे।

नतिजा नसोचेको आयो। कलेजको आफ्नै एप्लिकेशनबाट विद्यार्थी पढाउन थाल्यो, बिहानको लागि बिहान नै कक्षा, दिउँसोको लागि दिउँसो नै। सामाजिक सञ्जालमा सहजै पहुँच भएका विद्यार्थीहरु जो दैनिक कलेज आउने थिएनन्, अनलाइन कक्षामा उपस्थित भएका छन्। ‘उनीहरुलाई उत्सुकता भएर हो, कस्तो हुन्छ भनेर’, खड्का भन्छन्, ‘पछि बुझ्दा थाहा भयो, पहुँच सहज भएर उपस्थित भएका छन्।’ कलेजमा बिहान दिउँसो बेलुका सञ्चालित २५ ओटा कक्षामा ९० प्रतिशत भन्दा धेरै विद्यार्थीको उपस्थिति छ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा बिबिए, बिबिआइएस, बिएचएम कक्षा सञ्चालन भइरहेको छ। ‘कलेजमा कक्षामा बसेर पढिने प्रणाली भन्दा यो अलि फरक छ, ‘फेस टु फेस’ कम्युनिकेसन हुँदैन यहाँ, न यहाँ फस्ट बेन्चर र लास्ट बेन्चर हुन्छन्।’ प्राचार्य मित्रबन्धु पौडेल भन्छन्, ‘भर्चुअल कक्षामा सबै फस्ट बेन्चर।’ यो कक्षामा पछाडि भएर नदेखिने समस्या हुन्न। बिचबिचमा ‘पढाउने विषयको स्लाइड सेयर’ गर्न मिल्छ। काठमाडौँ विश्वविद्यालय सम्बन्धन प्राप्त यो कजेमा ४५० भन्दा धेरै विद्यार्थीहरु छन्, ९० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा उपस्थित छन्।

लकडाउन हुनु भन्दा अगाडि यसको तयारी थालिसकेको थियो। पौडेल भन्छन्, ‘हामी अनलाइन प्रणालीमा नै जानुपर्छ भनेर तालिमहरु सञ्चालन गरेका थियौँ। लकडाउनको पहिलो दिनदेखि नै हाम्रो कक्षाहरु सञ्चालनमा आइरहेका छन्।’

कलेजलाई अनलाइन कक्षा सञ्चालन गर्न त्यति समस्या भएन। सन् २००८ बाट नै कलेजले ‘भर्चुअल लर्निङ क्लास’ सँगसँगै चलाइरहेको छ।’ ‘भि एल सी’ अन्तर्गत कक्षामा पढाइएका पाठहरु, दिइएका असाइनमेन्टहरुलाई पोस्ट गर्ने र विद्यार्थीले त्यहीबाट आफ्नो होमवर्कहरु गर्ने गर्थे। यो कक्षा ‘मुडल’ बाट सञ्चालित हुन्थ्यो।

अहिले लकडाउनको समयमा भने कलेजले गुगल मिट र जुमबाट कक्षा सञ्चालन गरिरहेको छ। पौडेललेआफ्ना विदेशमा भएका प्रोफेसर साथीहरुलाई बुझ्दा ‘जुम’ बाट नै पढाइ हुने गरेको भेटेका पनि छन्।

अहिले कलेजका ४० जना भन्दा धेरै शिक्षकहरु विद्यार्थी पढाउनमा जुटिरहेका छन्। दिनमा ५ घण्टाको नियमित कक्षाहरु भइरहेका छन्। कलेजले विद्यार्थीलाई विभिन्न सामाजिक सञ्जालको माध्यमबाट फिडब्याक समेत लिने गरेका छन्।

यस्तै त्रिभुवन विश्व विद्यालय मनोविज्ञानको केन्द्रीय विभाग अन्तर्गत स्नातकोत्तरको कक्षा पनि तीन सातादेखि नियमित सञ्चालनमा आइरहेको छ।

उपप्राध्यापक सञ्जेश श्रेष्ठ भन्छन्, ‘फेस टु फेस कम्युनिकेसन नहुँदा एक्लै बोलेको जस्तो लाग्ने रहेछ।’ तर, यसको फाइदा भनेको  ‘एकपल्ट पढाएको कुरा छुट्दैन, रेकर्ड गरिएको कुरा फेरि उनीहरुले पढ्न पाउँछन्।’

श्रेष्ठको विचारमा, ‘यदि सबै विद्यार्थीसँग पहुँच छ भने र विषयहरु प्रयोगात्मक छैनन्, सैद्धान्तिक मात्र छन् भने ‘भर्चुअल लर्निङ सिस्टम’ ठीक छ।’

प्रविधिको विकास र इन्टरनेट पहुँचले अहिले विद्यार्थीलाई घरमै बसेर शिक्षासँग जोडिराख्न सहज भएको छ। भिडियो कल गर्न मिल्ने जुम एप्लिकेशनमा ४० मिनेटसम्मको पैसा लाग्दैन। यस्तै अर्को एप्लिकेशन ‘गुगल मिट’ ले सेप्टेम्बरसम्मको लागि ‘भिडियो कल फ्री’ गरेको छ। विद्यालय र शिक्षकलाई जुन सजिलो हुन्छ, त्यही माध्यम प्रयोग गर्छन्।

गुगल मिटमा धेरै व्यक्तिहरुलाई एकै समय जोड्न सकिन्छ भने समयको बन्देज पनि छैन। माइक्रोसफ्टको ‘टिम’ पनि छ।

शिक्षकहरुलाई बढी मेहनत
लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य पौडेल भन्छन्, ‘हामी विद्यार्थीलाई दिनमा ५ घण्टा पढाउछौँ, उनीहरुलाई एक किसिमको लोड भइरहेको छ। तर हाम्रो पाठ्यक्रम हामीले जुलाइसम्म सकिसक्नुपर्नेछ।’

कलेजले विद्यार्थीलाई कक्षासँग नियमित जोड्नका लागि १५ बुँदाको निर्देशिका जारी गरेको छ। यस्तै विद्यार्थीलाई पढाइ कस्तो लागिरहेको छ भनेर प्रतिक्रिया समेत लिने गरेको छ। पौडेल  आफैँ पनि फोन, सामाजिक सञ्जाल लगायत सञ्चारको साधनसँग हर–समय जोडिइराखेका हुन्छन्। स्टाफ, शिक्षकसँग पनि पढाइलाई कसरी निरन्तरता दिने भनेर भिडियो मार्फल मिटिङ हुने गरेको छ। फेस टु फेस कुरा गरेको जस्तो हुँदैन।

सबै शिक्षक प्रविधि मैत्री हुँदैनन्, तर पनि प्रेरित भइरहेका छन्।

चुनौती के छन्?
नेपालको अवस्थामा कुरा गर्ने हो भने नेपालमा इन्टरनेट महंगो छ। अर्को कुरा नेटवर्क राम्रो छैनन्। बेला बेलामा बोल्दा बोल्दै भिडियो अड्किन्छ, काटिन्छ। इन्टरनेटको क्षमता कमजोर छ। सुस्त छ। अनि माध्यमहरुसँग सबै सहज हुँदैनन्। विभिन्न कारणले सबै विद्यार्थी समेटिन सकेका छैनन्। गाउँ गएका विद्यार्थी धेरैमा इन्टरनेटको पहुँच छैन। कति विद्यार्थीहरु कक्षा नियमित सञ्चालनमा उपस्थित हुन सकेका छैनन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनोविज्ञान संकायका उपप्राध्यापक श्रेष्ठ भन्छन्, ‘हाम्रा केही अनुसन्धनात्मक पद्धतिहरु अंकमा देखाएर बुझाउनुपर्ने हुन्छ। केही प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्नुपर्ने हुन्छ। त्यो अनलाइनबाट असम्भव छ, यसको लागि लकडाउन सकिने समय कुर्नु पर्ने हुन्छ।’

अनलाइन कक्षाको अर्को चुनौती विद्यार्थीले बुझे अथवा बुझेनन् भनेर थाहा पाउने मेकानिजम छैन। लियो, सक्कियो। मध्यम जीवनशैली भएका विद्यार्थीसम्मलाई यो सम्भव भए पनि निम्न आय भएका विद्यार्थीलाई अनलाइन कक्षामा बस्न कति सम्भव हुन्छ, त्यो मापन गरिएको छैन। शिक्षण पद्धतिका थुप्रै विधाहरु छन्, त्यसमा ‘भिएलसी’ एक हो। प्रविधिसँगै अगाडि बढ्नु राम्रो कुरा हो, तर भिएलसी नै स्थायी समाधान होइन।

केएनके कलेजका प्राचार्य खड्का भन्छन्, ‘विभिन्न परिस्थितिले गर्दा यो ‘काम चलाउ’ भइरहेको छ। सरकारले यो क्षेत्रलाई पनि हेर्दिनुपर्‍यो।’

खड्काका अनुसार उनको कलेजमा पढ्ने विद्यार्थीहरु मध्येमा ९० प्रतिशत अनलाइन कक्षाको लागि चाहिने सामग्री जोरजम्मा गर्न सक्छन्। किनभने नेपालमा विभिन्न वर्गका विद्यार्थीहरु छन्, सामुदायिक तथा सरकारी कलेजमा पढ्ने विद्यार्थी दिउँसो काम गरेर बिहान पढ्न आएका हुन्छन्।

यस्तै प्रयोगात्मक विषयहरु छन्, जसको भार सामान्यतया: ४० प्रतिशत हुन्छ। यस्ता विषयहरुलाई कसरी अगाडि लैजाने, त्योबारे कुनै विधि बनिसकेको छन।

खैर, यो लकडाउनको समय हो, त्यसैले चुप लागेर बस्नुभन्दा जे जसरी सकिन्छ, त्यसरी नै अगाडि बढ्नु उपयुक्त भइरहेको प्रधान्याध्यापकहरु बताउँछन्।

छुटेको विद्यार्थीलाई के गर्ने?
अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालय तथा कलेजले एकै माध्यम र तरिकाबाट पढाइरहेका छैनन्। जो विद्यार्थी प्रत्यक्ष कक्षा सञ्चालनका भएको समयमा आफ्नो उपस्थिति जनाउन सक्छन्, उनीहरुलाई अफ्ठेरो छैन। तर अनलाइन आएर कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई पनि कक्षा छुट्ला भन्ने चिन्ता लिनु पर्ने छैन। किनभने सम्बन्धित कलेज वा विद्यालयले रेकर्डेड फाइल पनि सँगसँगै पोस्ट गर्ने गरेको छ।

केएनके कलेजका प्राचार्य खड्का भन्छन्, ‘हामीले विद्यार्थीलाई के गरेर सहज हुन्छ भनेर रेकर्डेड सामग्री छोड्न सक्यो भने, विद्यार्थीले आफूलाई उपयुक्त लाग्ने समयमा पढ्न सक्छन्।’

के भन्छन् शिक्षाविद्?
शिक्षाविद् डा.विद्यानाथ कोइराला भन्छन्, ‘यो चाहिन्छ, यो समयले ल्याएको कुरा हो। तर यही मात्र हो भन्नु चाहिँ गल्ती हुन्छ।’

उनका अनुसार अनलाइनमात्र नभएर रेडियो, टेलिभिजन, टेलिफोन हुनसक्छ। यी सबै सुविधाबाट विमुख विद्यार्थीका लागि अनलाइनमा प्याकेज, मटरियल बनाएर दिनुपर्ने जरुरी छ। यो चाहिँ शिक्षक-प्राध्यापकको काम हो। यो बेलामा शिक्षक, प्राचार्यको भूमिका महत्वपूर्ण हुन्छ। यो कुरा सबै एकैपल्ट लैजान सक्यो भने काम लाग्छ।

दोस्रो के गर्न सकिन्छ भने, ‘अनलाइन सबैतर्फ छैन’ भने पुर्‍याउने काम गर्नुपर्छ। स्थानीय तहहरुले लगानी गर्नुपर्छ। स्याङ्जाको फिदिमखोला गाउँपालिकाले प्रत्येक विद्यालयमा अनलाई सुविधा पुर्‍याइसकेको छ।’

शिक्षक र प्राध्यापकहरुलाई अनिवार्य रुपमा ल्यापटप लिने व्यवस्था मिलाउनुपर्छ। भएसम्म आफ्नै खर्चमा नभए सहुलियतको ऋण दिएर भए पनि पढाउन लगाउनुपर्छ। शिक्षकहरु अहिले लागि परिरहेका छन्।

शिक्षाविद् कोइराला भन्छन्, ‘पढाइको तरिका थोरै अन्तर्क्रियात्मक हुनुपर्छ। १० देखि १५ मिनेटसम्म शिक्षकले भन्ने र प्रतिक्रिया जनाउनुपर्‍यो, प्रश्न गर्नुपर्‍यो, सुनिराख्न मात्र भएन। अनलाइन कक्षा प्रभावकारी नहुने पक्कै हुँदैन, बनाउने कि नबनाउने शिक्षक र प्राध्यापकको हातमा हुन्छ। पहुँच सबैलाई हुँदैन, तर त्यसलाई बन्द गर्नु हुँदैन। विकल्प खोज्नुपर्छ। जसले जे गर्न सक्छ, आफ्नो तहबाट सक्ने प्रयास गर्नुपर्छ।

विद्यार्थी प्रतिक्षा खत्री भन्छिन्, ‘घरमा नै बसेर पढ्दा मलाई खासै फरक परेको छैन। एक त लकडाउनको समयलाई उत्पादक बनाउन सकिएको छ, समय बितेको पत्तो हुन्न। अर्को कुरा पछि के गरेर पढ्ने भन्ने खालको टेन्सन छैन। माइन्ड डाइभर्ट हुँदैन।’

उनी बसेको ठाउँबाट कलेज पुग्नलाई हिँडेर अनि बसमा यात्रा गरेर ४५ मिनेट लाग्छ। बिहान कलेजको लागि तयार हुन समय चाहियो। उनी भन्छिन्, ‘मेरो समय बचत भएको छ। बिहान डेढ घण्टा लाग्थ्यो, फर्कदा ४५ मिनेट। अहिले यो समयमा म अरु केही काम गर्न भ्याउँछु।’

जेठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्