भारतका क्वारेन्टाइनमा रहेका झण्डै ७ सय जना बाँके आइपुगे, तीन जनामा आरडीटी पाेजेटिभ

नेपालगञ्ज– स्थानीय प्रशासनले सीमावर्ती भारतीय शहरका क्वारेन्टाइनमा रहेका ३२ जिल्लाका नेपालीलाई स्वदेश ल्याएको छ। त्यसमा बाँकेका २ सय १४ र अन्य जिल्लाका ४ सय ६६ जना छन्।

नेपालगञ्जमा आइपुगेका बाहिर जिल्लाका मानिसको आरडीटी टेष्ट गरिएको छ। ४ सय ६६ जनाको आरडीटी टेष्ट गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनीहरु सुर्खेत, कालिकोट र नुवाकोटका रहेको बुझिएको छ। आरडीटी टेष्टमा पोजेटिभ देखिएका तीन जनाको भेरी अस्पताल, नेपालगञ्जमा पीसीआर जाँचको तयारी भएको छ।

बाँकेमा शुक्रबार विहान भारतबाट आएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुलाई दाङको बेलझुण्डी अस्पतालमा लैजाने तयारी भएको छ।

स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट भित्रिएका बाहिर जिल्लाका मानिसको आरडीटी टेष्ट गर्ने र सम्बन्धित जिल्ला पठाइदिने रणनीति बनाएको छ। बिहीबार साँझ नेपालगञ्ज नाकामा आइपुगेका उनीहरु शुक्रबार अपरान्हसम्म जमुनाहा नाकामै थिए। जिल्लागत लगत लिएर आरडीटी टेष्ट गर्न समय लागेकोले उनीहरु नाकामै रोकिनु परेको हो।

बाँकेका २ सय १४ जनाको भने आरडीटी टेष्ट गरिएको छैन। उनीहरुलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर राखिएको छ। उनीहरुलाई पालिका अनुसार तथ्यांक निकालेर सम्बन्धित पालिकामा पठाउने गरिएको छ। केही पालिकाले आफ्नो ठाउँका मान्छेलाई लगिसकेका छन् भने केहीले लैजाने तयारी गरिरहेका छन्।

कोरोनाका फोकलपर्सन श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका ५१, कोहलपुरका २२, बैजनाथका ३१, डुडुवाका ३१, खजुराका २०, जानकीका १७, राप्तीसोनारीका ९ र नरैनापुरका २५ जना रहेका छन्।

जेठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्