भारतीय सेना प्रमुखले भने- लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको छ

काठमाडौं-  भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका छन्।

नेपाली भूमिमा भारतले सडक बनाइरहेको विवादपछि भारतीय सेना प्रमुख नरवणेले त्यस्तो दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। तर नेपाललाई कसले उचालिरहेको छ भन्नेबारे उनले कसैको नाम भने लिएका छैनन्।

‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ। त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन’, उनको दाबी छ।

उनले चीनलाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ। उनले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको दाबी गरेका छन्।

‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ नरवणेको भनाइ छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले गतसाता उक्त सडकको उदघाटन गरेका थिए।

भारतका लागि नेपाली राजदूतले काली नदीभन्दा पारिको जमिन नेपालको रहेको बताएको र भारतले पनि त्यस क्षेत्रमा कुनै गतिविधि नगरेको भारतीय सेना प्रमुख नरवणेको भनाइ छ।

जेठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्