कोरोना बैरी कि सरकार ?

दिक्क लागिसक्यो। सरकार जस्तो सरकार भए पो निर्णय पर्खिनु। आजभोलि भन्दाभन्दै दुई महिना बित्न थाल्यो। गन्तव्यमा पुग्ने व्यवस्था होला, कुनै विकल्प सरकारले निकाल्छ भन्ने आश राख्ने समय घर्किसक्यो। कति पर्खिनु?

पँहुच भएका र स्थानीय सरकारले व्यवस्था गरिदिएका केही मान्छेले काठमाडौँबाट बाहिरिन पाए, हामी त हेरेको हेर्‍यै। न स्थानीय सरकार, न केन्द्रीय सरकार। सरकार विहीन, देशभित्रै पनि अनागरिकजस्ता। कस्लाई गुहार्नु?

लकडाउन कस्तो हुनुपर्छ, आजसम्म सरकारलाई नै आइडिया छैन। कुनै दिन खुकुलो भन्छ, ह्वारह्वार्ती मान्छे र गाडीहरु सडकमा ओराल्छ। संक्रमित देखिएको समाचार आउँछ, सचेत रहनुपर्छ भन्दै पुलिसलाई भाटा सोझ्याउन लगाइहाल्छ। पुरानै आन्दोलनमा परिचालन गरिए जसरी प्रहरी परिचालन गर्छ।

यहाँ कुनै काम छैन। न त कोरोना नियन्त्रको सम्भावना छ। अरु देशको जस्तो आफ्ना नागरिकको लगत राख्ने फूर्सद बिरामी प्रधानमन्त्रीको भ्रष्ट मन्त्री मण्डलको दिमागमा पस्दैन। नत विज्ञहरुको सल्लाह बमोजिम उचित कदम चालिएको छ। आज सम्म लाखौँ परीक्षण गरिसक्नु पर्ने थियो, सुस्त छ।

अरु कुरामा विदेशको नक्कल गर्न सिपालु सरकारले लकडाउन मोडालिटी नक्कल गर्न जानेन। गाउँमा बुढापाकाहरु भन्थे- जब पापको घडा भरिँदै जान्छ तब मति भ्रष्ट हुन्छ। हाम्रो सरकारको पनि मति भ्रष्ट भइसकेको छ।

सुन्नमा आएको कुरा केही दिन अगाडि भारतका विभिन्न राज्यहरुले आफ्ना देशभित्र अलपत्र परेका नागरिकको उद्धारका लागी मोबाइल एप तयार पारेर फाराम भर्न लगाएर रजिस्ट्रेसन नम्बर म्यासेज मार्फत रिप्लाइ पठाउँछ र जान चाहेको व्यक्तिलाई तोकिएको स्थानमा आउन भनेर उद्धार गरिरहेको छ। र, भारतमा रहेका नेपालीहरु जो अलपत्र छन् तिनिहरुको पनि लगत संकलन गरेर केही दिनमै रेल र बसमार्फत सीमानासम्म पठाउने तयारी भइरहेको छ।

अझै समय छ। केही दिनमै रचनात्मक शैली अपनाएर परीक्षणलाई तीव्रता दिन सके, लकडाउनलाई वैज्ञानिक बनाउन सके, केही महिनामै नेपाल कोरोनाबाट मुक्त हुने थियो। तर यस्तै हालतमा लकडाउन नामको बेथिति कायम रहेमा संक्रमित थपिँदै जानेछन्। माननीयका आफ्नाहरुका पासवाला गाडीले संक्रमणलाई सहजै फैलाउने छन्।

विभिन्न देशले विभिन्न उपाय अपनाउँदैछन्। कसरी महामारीबाट मुक्ति पाउने, आफ्ना नागरिकलाई कसरी सुरक्षित बनाउने भनेर सम्पूर्ण शक्ति परिचालन गरिरहेका छन्। तर हाम्रो यहाँ माहामारीलाई चुनावमुखी बनाईएको छ। अलपत्रलाई आफ्नो घर जान दिने व्यवस्था सम्म छैन। राहत वितरणमा भ्रष्टाचार भएको खबर मिडियामा आइरहेका छन्। नीजि सवारी मार्फत पासको व्यवस्था गरेर मनपरि आवतजावत चलिरहेकै छ । माननीय भनिएकाहरु शक्तिको दुरुपयोग गरेर मनोमानी आफ्नाहरुलाई पास दिलाउन भ्याई नभ्याई गर्दैछन्। भरखरै तिनै पासवाला सवारीमा आएकाहरुमा कोरोना भेटियो भनेर सिंहदरबार तर्सिएको छ।

सरकारका यति धेरै संयन्त्र छन् तिनलाई परिचालन गरेर मापदण्ड बनाई नियम कानुनको आधारमा सहज बनाउन सकिन्थ्यो। सरकारको माथिल्लो निकायमा कोरोना युद्ध कसरी सफल पार्ने भन्ने विषयमा व्यापक छलफल र बहस मार्फत उपाय अबलम्बन गर्न सकिन्थ्यो। तर सरकारको उल्झन अर्कै छ।

शहरमा कुनै पनि हालतमा कोरोना फैलिएको खण्डमा सहजै नियन्त्रण हुने छैन। केही महिना स्कुल कलेज र भिडभाड हुने ठाउँहरु अझै चल्ने सक्ने छैनन्।

संसारभरीको तथ्याङ्क हेर्ने हो भने कोरोनाबाट प्रभावित हुनेमा जनसंख्याको चाप बढी भएका क्षेत्रहरु छन्। गावैंगाउँको देश नेपालमा कोरोना नियन्त्रणका लागि कैयौँ उपाय अपनाउन सकिन्थे। कोरोनालाई सहजै परास्त गर्न सकिन्थ्यो।

अहिले गाउँ जानलाई लाखौँ मान्छे अड्किएर बसेका छन्। कोरोना नियन्त्रण नहुन्जेल सम्मका लागि सुरक्षित तरिकाले नागरिकलाई गाउँ पठाएर सहरको भयावहलाई कम गर्न सरकार अझै चुकेको छ।

सबैले आफ्नै कार्यकर्ताहरुलाई राहत बाँड्छन्। राहतमा भ्रष्टाचार गर्छन्। केही सांसदहरुले नागरिकलाई मतदानमा आफूलाई मत खसालेको आधारमा उद्यार गर्छन्। व्यवस्थित र सुरक्षित तबरले गाउँ पठाउने प्रक्रिया अगाडि बढाउन सके आफै भौतिक दूरी कायम हुन्थ्यो। शहरको जनसंख्या पातलो बनाउन सकिन्थ्यो। भ्रष्ट चरित्र भएका त्यस्ता माननीय र मन्त्री भनाउँदाहरुले आम नागरिकले थाहा नपाउने कुकर्महरु कति गरिरहेका होलान आँकलन गर्न कठिन छ। तर राम्रा काम एउटा पनि गरेनन्।

गाउँमा संक्रमण फैलिए पनि थोरै जनसंख्या, साना साना वस्ती, एक गाउँबाट अर्को गाउँ र एक घरबाट अर्को घरको दूरी टाढा हुने भएकाले नियन्त्रण गर्न सहज छ। तर शहरमा अत्यावस्यक सामानका लागि पनि बाहिर निस्कनै पर्छ। एकै पसलमा हजारौँ मान्छे पुग्छन्। न स्वास्थ्य संयन्त्र बलियो बनाईएको छ न सरकार सँग आवश्यक उपचारका लागि पूर्वाधार छ।

भारतमा अलपत्र परेका नागरिकहरु घर फर्किँदैछन्। हाम्रो सरकारले तिनलाई कोराेना फैलाउने दुस्मनको नजरले हेर्दैछ। उनीहरु कुनै पनि हालतमा स्वेदश प्रवेश गर्नेछन्। सरकारको व्यबहारले सिमानामै संक्रमणलाई भुसको आगो बनाउने निश्चित छ। तर उनीहरु कोरोना फैलाउन हैन् आफ्नो देश फर्किएका हुन् भनेर सिमाना बाटै व्यवस्थित र सुरक्षित तवरले क्वारेन्टिनमा राख्नसके परिस्थिति जटिल हुने थिएन। तर सरकार खोई ?

नेपाली खानपान, जीवनशैली, प्राकृतिक बनोट तथा हावापानीका दृष्टिकोणले कोरोना विरुद्ध विजय हासिल गर्न कुनै असजिलो थिएन। रोग प्रतिरोधक औषधिको रुपमा जटिबुटीहरुको प्रयोगलाई अनुसन्धानका लागी स्थान दिलाउन सक्नु र प्रयोग बढाउनु पर्ने थियो। त्यसतर्फ पनि नजर अन्दाज छैन ।

मौरी फूलमा बस्छ, मिठास बोक्छ। झिंगा फोहरमा बस्छ दुर्गन्ध बोक्छ। यो बेला सरकार झिंगा बनेको छ। मौरी बन्नु पर्ने थियो। सबैले सरकारको हाई हाई गर्नु पर्ने थियो। यति शक्तिशाली सरकारले नयाँ भिजनले अघि बढ्नु पर्ने थियो, सकेन।

कांग्रेससँग रुष्ठ र हैरान भएका नागरिकले ठूलो आशा गरेर कम्युनिस्टलाई जिताए। यी घैटै भएर निस्के, आफ्नै घैटो भर्न थाले। विदेशमा भएका नागरिकलाई स्वदेश ल्याउनु हुँदैन भनेर उल्टै हुंकार दिँदैछन्। विदेशमा कस्टकर जीवन व्यतित गरिरहेका नागरिक र आफ्ना सन्तानको चिन्ताले पलपल  दुखिरहेका तिनका परिवारले आउँदो चुनावमा कसलाई मतदान गर्लान् ? कि ति पनि चुनावमा अहिलेको यो क्षण बिर्सिएर रक्सीको चुस्कीसँगै अझ कांग्रेस कम्युनिस्टकै तालमा कम्मर मर्काउलान् ?

जटिलता त थपिँदैछ। सरकारले परिस्थिति नै यस्तै निर्माण गरिरहेको छ। कोराना एकातिर फैलिँदैछ सरकारको तालबाजा अर्कैतिर छ। धेरै मान्छेले त अझै मजाक सम्झिएका छन्। संयमित र सुरक्षित हुनुपर्छ भन्ने तिनका ब्रहमाण्डमा यसबेला पनि पसेको छैन्।

अझै समय छ। केही दिनमै रचनात्मक शैली अपनाएर परीक्षणलाई तीब्रता दिन सके, लकडाउनलाई वैज्ञानिक बनाउन सके, केही महिनामै नेपाल कोरोनाबाट मुक्त हुने थियो। तर यस्तै हालतमा लकडाउन नामको व्यथिति कायम रहेमा संक्रमित थपिँदै जानेछन्। माननीयका आफ्नाहरुका पासवाला गाडीले संक्रमणलाई सहजै फैलाउने छन्।

घर जाने पर्खाइमा सरकारको आशामा बसिरहेका हामी सरकारले वास्ता नगरे पनि राजधानीमा टिक्न नसकेको दिन हिँडेरै पनि र पुलिसको भाँटा खाएरै पनि महिनौँ लगाएर आफ्नो गन्तव्यमा पुगौंला तर कोरोना सरकार जस्तो विभेदकारी छैन। फलानो र चिलानो भनेर कोरोनाले चिन्दैन।

हाम्रा प्रधानमन्त्रीको त झन दुई-दुई पल्ट मृगौला प्रत्यारोपण भएको छ। रोग प्रतिरोधात्मक क्षमता उहाँकै कमजोर छ। यदी यही परिस्थितिमा देशलाई झन जटिल बनाई राख्ने हो र उल्झनमै फसाई राख्ने हो भने परिस्थिति भयानक बन्ने छ।

कामना गरौँ कोरोनाको कारण देशमा पहिलो मृत्यु प्रधानमन्त्रीको नहोस्। नेपाली जनता प्रधानमन्त्रीले अर्को चुनाव जितेको हेर्न चान्छन्।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्