कोरोना, अनुसन्धान र नेपाली विश्लेषकहरु

सन्दर्भ

कोरोनाको कहरको वर्तमान अवस्थामा नेपालमा तीन प्रकारका समाचारहरु अति नै चर्चित छन्: सरकारको नेतृत्व गर्ने नेकपाभित्रको द्वन्दले सरकारको स्थीरतामा जन्माएको प्रश्न, नेपाली भूमि लिपुलेक हुँदै मानसरोवरको लागि भारतले निर्माण गरेर बाटो उद्घाटनबाट सिर्जित गरेको नेपालमा उम्लेको राष्ट्रवाद र कोरोनाको संक्रमणको देशभरमा देखिएको महामारीको प्रभाव। पहिलो समाचारको भावार्थ बुझ्दा नेकपाभित्र नेतृत्वको द्वन्द्व सिर्जनामा तुलनात्मक रुपमा साजिश सिद्धान्तले जन्माएको परिस्थिति हो तर पनि पार्टीभित्रको गणितीय खेलले सरकारको नेतृत्व परिवर्तनको गर्न सक्ने स‌ंसदीय मान्यता भए पनि कानुनी रुपमा पार्टीको सांसदहरुको संख्याले दलको नेता चुनिने हुँदा नेकपाको यो आन्तरिक द्वन्दलाई दोस्रो राष्ट्रियता सम्बन्धी समाचारले गौण बनाइदिएको छ। यो राष्ट्रियताको मुद्दामा सर्वसाधारणहरुदेखि विगतमा सरकारमा हालीमुहाली गर्ने अवकाशप्राप्त माथिल्लो तहका सेना पुलिस र केही कर्मचारीहरु समाचारहरुमा छाएका छन्। यीमध्ये नेकपामा नेतृत्वको सत्ता लिप्साको झगडाले नेपालभरि विस्तारै फैलिँदै गएको कोरोना संक्रमणको कहरको घाउलाई गिज्गिज्याएको छ।

पहिलो दुई समाचारहरुको व्याख्या विश्लेषण कम प्रमाण र बढी साजिस सिद्धान्तबाट प्रभावित हुन्छ यस सम्बन्धी अर्को लेखमा वर्णन गरिनेछ। देशभरि फैलिँदै गएको तेस्रो समाचार कोरोनाको प्रभावको बारेमा अनुसन्धानको अर्थ नबुझेका केही चिकित्सकलगायत अन्य व्यक्तिहरुको व्यक्त विचारहरु सञ्चारमाध्यममा प्राथमिकताका साथ छापिएकाले आम नागरिकलाई भ्रम सिर्जना गरिदिएको छ, किनकि आजसम्म नेपालमा कोरोनासम्बन्धि कुनै अध्ययन अनुसन्धान भएकै छैन। यही प्रसंगको वरिपरि रहेर यो लेखमा अनुसन्धानको बारेमा छोटो चर्चा गरिनेछ।

अनुसन्धान के हो?

अनुसन्धानको बारेमा अध्यापन गरिने र प्राज्ञिक बहस गर्ने स्थान विश्वविद्धालयहरु हुन्। नेपालमा ११ विश्वविद्धालयहरु छन् र एउटा भरखर खुलेको छ। यस बाहेक ६ वटा सरकारी चिकित्सा शिक्षा पढाउने सरकारी प्रतिष्ठानहरु छन् भने १३ वटा निजी मेडिकल कलेजहरु छन्। यी शैक्षिक संस्थाहरुको असफलता अब बजारमा देखिँदै छ किनभने यसबाट उत्पादित नेपालमा बसेका जनशक्ति कति अयोग्य र अप्रागिक छन् भन्ने प्रमाण सञ्चार माध्यममा कोरोनाका साथै अन्य जल्दाबल्दा विषयहरुमा भएका छलफलहरु पढ्न वा सुन्न पाइएको छ।

कुनै पनि अनुसन्धान विज्ञानको अवधारणाबाट निर्देशित हुनुपर्छ, त्यसैलेअनुसन्धान विधिहरु वैज्ञानिक हुनुपर्छ भनिन्छ। विज्ञान के हो त? यो कसै-कसैको विचारमा विज्ञानले सत्य ज्ञानको भण्डारलाई संकेत गर्छ भने कसैको लागि यसको विज्ञानको अर्थअनुभवजन्य घटनाहरूको ज्ञान हो- उदाहरणको लागि कोरोना संक्रमणको वर्तमान महामारी । विज्ञानकोअवधारणाले कहिलेकाहीँ दुविधा पनि उत्पन्न हुन सक्छ किनकि विज्ञानको धेरैजसो सामग्रीहरु लगातार परिवर्तन भइरहेको हुन्छ: आज वैज्ञानिकको रूपमा लिइएको ज्ञान भविष्यमा “अवैज्ञानिक” हुन पनि सक्छ। विज्ञान शब्दले कुनै पनि सामान्य वा विशेष ज्ञानको समूहलाई बुझाउँदैन तर भिन्न विशेष विधिलाई बुझाउँदछ। वैज्ञानिक विधिको माध्यमबाट संकलित गरिएको सबै ज्ञानको अर्थलाई निम्न लिखित आधारहरुमा व्याख्या गर्न सकिन्छ।

१. वैज्ञानिक अनुसन्धानले प्रकृतिको नियमलाई मान्दछ। जस्तो प्राकृतिक संसारमा सर्वमान्य नियमितता हुन्छ। उदाहरणको लागि वसन्तपछि हिउँद, हिउँदपछि शरद, शरदपछि गर्मी, गर्मीपछि पुन: वसन्त यो चक्र प्रकृतिको निरन्तरता हो। कोरोना भाइरसले यही प्राकृतिक नियमानुसार आफ्नो उत्परिवर्तन स्वरुप फेर्दैछ तर कसरी भन्ने अध्ययनकै विषय बनेको छ।

२. मानवजाति अन्यवस्तुहरू, अवस्था र घटनाहरू जस्तै प्रकृतिको एक अंग हो र उसको क्षमता प्रकृतिलाई बुझ्नमात्र सक्षममात्र छैन कि आफ्नै र अरूको दिमाग पनि बुझ्न सक्छ तर यस्को लागि वैज्ञानिक विधि अपनाउनु पर्दछ। मानव अनुसन्धानकर्ताहरुले अध्ययन अनुसन्धानबाट मात्र कोरोना भाइरसबाट मुक्ति पाउन औषधी तथा खोपको निर्माण गर्न सक्छन्।

३. सबै प्राकृतिक घटनाहरूका लागि प्राकृतिक कारणहरू हुन्छन् र वैज्ञानिक अनुसन्धानले दिशानिर्देशन गर्दछ। कुनै अलौकिक शक्तिहरूले कोरोना भाइरसको उपचार र यस्को अनुवंशिक संरचना परिवर्तन गराउन सक्दैन।

४. कुनै पनि कुरा स्वंय प्रमाणित हुँदैन। तथ्यलाई वस्तुगत आधारमा प्रमाणित गर्नुपर्दछ। परम्परा, व्यक्तिपरक विश्वास र सामान्य धारणा कोरना संक्रमणको वैज्ञानिक ज्ञानको श्रोत हुन सक्दैन।

५. ज्ञान अनुभव प्राप्तिबाट उत्पन्न हुन्छ। कोरोनाको अध्ययन प्रयोगशालामा मात्र हुन्छ र यसका लक्षणहरु स्पर्श, गन्ध, स्वाद, सुनुवाइ र दृष्टि यी पाँच ज्ञानेन्द्रियहरुबाट प्राप्त गर्न सकिन्छ । यस्को अलावा धेरै घटनाहरूलाई प्रत्यक्ष अनुभव वा अवलोकन गर्न नसकिने हुन्छ जुन गर्भमा रहन्छ र साजिस सिद्धान्तले शंका उत्पन्न गराइदिन्छ जुन “स्वयं प्रमाणित” हुँदैन ।

६. ज्ञान अज्ञानताभन्दा उच्च हुन्छ। ज्ञान आफ्नै र मानवअवस्था सुधार प्रयोजनको लागि हुनुपर्दछ। सबै ज्ञान अस्थायी र परिवर्तनशील हुन्छ। कोरोनासँग सम्बन्धित सत्यतथ्यको प्रमाण यसमा प्रयोग हुने विधि र सिद्धान्तहरूमा आधारित हुन्छ र सत्य तथ्य परिमार्जितको लागि सधैँ खुला हुनुपर्छ।

नेपालमा अनुसन्धानको धरातल कमजोर छ।

कुनै पनि विषयमा अध्ययन अनुसन्धान गरिँदा सामन्तया दुई अनुसन्धान अभ्यासहरु जस्तै संख्यात्मक वा गुणात्मक प्रयोग गरिन्छ जस अन्तर्गत विषयगत आधारमा आ-आफ्ना विधिहरु परिभाषित गरिएका हुन्छन् । दुवै गुणात्मक तथा संख्यात्मक तथ्याङ्कहरुको भिन्नै सैद्धान्तिक अवधारणाहरु छन्। विषयगतरुपमा आ­-आफ्नो महत्व छ। ज स्तो मानवशास्त्र, इतिहास, संस्कृति जस्ता विषयहरुले गुणात्मक विधिलाई आफ्नो विषयगत आधार बनाउँदछ। यी विषयहरुले ठूलाठूला तथ्याङ्कीय प्रतिवेदनहरुबाट आएका नतिजाहरुलाई गौण मान्छन् र स्तरीय तथ्याङ्क विधिहरुलाई त्यति महत्व दिँदैन किनकि यस विषयले हरेक व्यक्ति तथा समूहको संस्कृति र सामाजिक मूल्यमान्यताका साथै अति संवेदनशील विषयहरुमा सुक्ष्म तहमा अनुसन्धान गर्दछ जसमा गुणात्मक विधि अपरिहार्य हुन्छ। अर्कोतिर गणित वाहेक प्रयोगशालामा आधारित विज्ञान लगायत प्राविधिक विषयहरु तथा सामाजिकशास्त्र विषयहरुले सञ्चालन गरेका सर्वेक्षणहरुले गुणात्मक विधिबाट मात्र निकालिएको नतिजाहरुलाई तथ्यपरक मान्दैनन्।

यसअतिरिक्त दुवै तथ्याङ्कहरु प्रयोग गरी विश्लेषण गर्ने वर्तमान अवस्थामा नयाँ अभ्यासको रुपमा विकसित भइसकेको छ जसलाई मिश्रित वा त्रिकोणीय विधि पनि भनिन्छ। उदाहरणको लागि कोरोना भाइरसको संक्रमणको कारणबाट उत्पन्न महामारी वा त्यसपश्चात व्यक्ति, परिवार र समुदायले झेलेका समस्याहरुलाई गहिरो अध्ययन गर्नको लागि गुणात्मक वा मिश्रित विधि कुनै एक अपनाउन सकिन्छ। अहिलेको यो महामारीमा संख्याले नै संक्रमितको वास्तविक स्थिति जनाउने हुँदा गुणात्मक विधिको औचित्य छैन। सशक्त सैधान्तिक अवधारणाको अभावमा नेपालमा जबर्जस्त गुणात्मक विधि प्राज्ञिक क्षेत्रमा बढी नै प्रयोग हुन थालेको छ जस्ले गर्दा नेपालको विश्वविद्धालयमा गरिने अध्ययनअनुसन्धानको स्तरीयतामा प्रश्नवाचक चिन्ह खडा भएको छ।

नेपालका सञ्चारमाध्यममा देखिएका विश्लेषकहरुसँग कुनै अध्ययनको निचोडको लागि आवश्यक तथ्याङ्कहरु हुँदैनन् र पत्रपत्रिकामा निस्केका सस्ता अप्रमाणित तथ्याङ्कहरुको आधार बनाएर ‘साजिस सिद्धान्त’बाट प्रभावित भएर राजनीतिक स्वार्थ र व्यक्तिगत लाभहानीको आधारमा ब्याख्या विश्लेषण गरेको पाइन्छ।

नेपालका विश्वविद्धालयहरुमा अध्ययन अध्यापन गरिने विषयहरुको आफ्नो अनुसन्धान गर्ने मौलिकताको आधार नै छाडेर व्यक्तिको आफ्नो सहजताको लागि गुणात्मक विधिहरु मात्र प्रयोग गरी विश्वविद्धालयको अनुसन्धान क्षेत्र नै ध्वस्त बनाएको छ। मानविकी र मानवशास्त्रका अध्ययन अनुसन्धान प्रतिवेदनहरु अन्य विषयहरुको तुलनामा केही स्तरीय छन् किनकि गुणात्मक विधि यसको मूल जरा हो । चिकित्साशास्त्र, विज्ञान, इन्जिनिरिङजस्ता प्राविधिक विषयहरुबाट गरिने अनुसन्धान प्रयोगशालामा आधारित हुन्छन् भने सामाजिकशास्त्रसँग सम्बन्धित अन्य विषयहरुले जबर्जस्त गुणात्मक विधिहरुमात्र प्रयोग गरेर आफ्नो विषयको संख्यात्मक उन्मुख परम्परा भुलिदिँदा अनुसन्धानको अन्तराष्ट्रिय स्तरीयता कायम गर्न नसक्नु यथार्थ हो । यसैको उपज नेपाली विश्लेषकहरुले अनुसन्धानको सैद्धान्तिक धरातल बिर्सेर व्याख्या विश्लेषण गरिराखेका छन् । त्यसैले होला विश्व बैँक, डिफिड, युरोपिएन युनियन जस्ता दाता राष्ट्रहरु, संयुक्त राष्ट्र संघ र सरकार समेतले अनुसन्धानको लागि नेपालका विश्वविद्धालयहरुलाई कमैमात्रामा विश्वास गर्छन्।

अनुसन्धान र साजिस सिद्धान्त दुई विपरित ध्रुवहरु हुन्।

अनुसन्धानले अनुभवजन्य प्रमाणको आधारमा भएको अवलोकन र प्रयोगको माध्यमबाट वर्णन, पूर्वानुमान र प्राकृतिक घटनाको ज्ञान प्राप्त गर्न सहयोग पुर्‍याउँछ। यस्ता ज्ञानहरुको सम्बन्धित विशेषज्ञहरुबाट गरिएको समीक्षा र दोहोर्‍याएर गरिएको परीक्षणबाट प्राप्त नतिजाहरु प्रयोग गरेर वैधता सुनिश्चित गरिन्छ। अनुसन्धानको अभावमा साजिश सिद्धान्त जन्मन्छ जुन एक साजिश घटनाको बारेमा गरिने साजिशिक व्याख्या हो । अक्सफोर्ड अंग्रेजी डिक्शनरी अनुसार साजिश सिद्धान्तले एक घटना या घटनासँग सम्बन्धित पार्टीहरुको बीच जालझेलको परिणाम बाट जन्मने अस्पष्ट वा रहस्यमय परिणामलाई वर्णन गर्छ । यो केही गुप्त तर प्रभावशाली एजेन्सी सामान्यतया राजनीतिरुपमा उत्प्रेरित र दमनकारी चाहनाबाट प्रभावित हुन्छ । उदाहरणको लागि कोरोनाको उत्पतिको बारेमा वैज्ञानिकहरु प्राकृतिक भाईरस हो या होईन भनी सम्भावित प्रमाणहरु खोज्दैछन् तर चीन र संयुक्त अधिराज्य अमेरिका जैविक भाईरसको शंकामा एक आपसमा दोषारोपण गर्दैछन्।

नेपालका संचारमाध्यममा देखिएका विश्लेषकहरुसँग कुनै अध्ययनको निचोडको लागि आवश्यक तथ्याङ्कहरु हुँदैनन् र पत्रपत्रिकामा निस्केका सस्ता अप्रमाणित तथ्याङ्कहरुको आधार बनाएर साजिस सिद्धान्तबाट प्रभावित भएर राजनैतिक स्वार्थ र व्यक्तिगत लाभहानीको आधारमा ब्याख्या विश्लेषण गरेको पाइन्छ। युट्युव लगायत टिभीमा गरिने प्रस्तुतिहरु होस् वा बुद्धिजीविहरुका नाममा रोमाण्टिक बिश्लेषण- नेपाली सञ्चार माध्यममा चर्चित छन् । एउटाको भनाइ र कमजोरीलाई आधार बनाएर गरिएका प्रस्तुतिको आधारमा भ्रम सिर्जना गरिदिन्छन् र सर्वसाधरणहरुले यस्ता घटनालाई राजनीतिक विश्वासको आधारमा बुझिदिन्छन्।

समग्रमा नेकपाको आन्तरिक शक्ति संघर्षलाई नेपाली राष्ट्रवादले छायामा पारे पनि समुदाय तहमा कोरोनाको संक्रमण द्रुतगतिमा फैलिएको कहर नै मुख्य समाचार बनेको छ । यो पंक्ति लेखुन्जेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका हालसम्मका संक्रमितहरु हल्का विरामीहरु हुन र घरमानै बसेर उपाचार गर्न सकिन्छ भन्ने चीन लगात अन्य देशहरुको अध्ययनबाट देखाएको छ । नेपाली सरकारी अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुको लागि तयार गरिएको वेडको क्षमताले अव धान्न नसकिने अवस्था सिर्जना हुदैछ। यस्तो परिस्थितिमा कोरोना संक्रमितलाई आफ्नै घरमा सुरक्षित तवरबाट कसरी उपचार गर्न सकिन्छ भनेर नयाँ व्यवस्थापन गर्न जरुरी छ । चीन र भारत लगायत विकसित देशहरुमा लगभग २० प्रतिशत कोरना संक्रमितहरु गम्भीर विरामीहरु देखिएको तर नेपालमा हालसम्म यस्ता विरामीहरु (लगभग ५० जना हुनुपर्ने) नपाइएकाले केही चिकित्सक तथा स्वघोषित विश्लेषकहरु कोरोना संक्रमितको मेडिकल हिष्ट्रीको अध्ययन नगरी अवैज्ञानिक व्याख्यालाई आधार बनाएर नेपालमा कोरोनाको प्रभावलाई अनुसन्धान बेगर सामान्य धारणामा रहेर हेर्ने प्रयास गरिदै छ । यस्तै राजनीतिक विश्लेषकहरुले सस्ता पित पत्रिकामा लेखिएका मिथ्याङ्क र व्यक्तिविशेषको आरोपमा गरिएका लान्छनाहरुलाईआफ्नो अनुसन्धानको निचोड भनेर केही चिकित्सकहरु जस्तै सञ्चार सेलिब्रेटी भएका छन् ।

अन्त्यमा,आफ्नै देशमा प्रयोगशाला र त्यस सम्बन्धि प्रवृत्तिको अभावमा अनुसन्धान गर्ने वातावरण नहुनु वा अनुसन्धान गर्ने हैसियत निम्न स्तरको हुँदा विदेशीलाई प्रयोगशालाको डाटा उपलब्ध गराएर आफू घोष्ट लेखक हुने विगतको परम्परा हालसालै बाहिरिएको छ जुन उदाहरणको रुपमा नेपाल सरकारका उच्च तहका केही चिकित्सकहरुले नेपाली जिन विदेशीलाई अनुसन्धान गर्न दिए वापत जर्नलमा उनीहरुको नाम उल्लेख भएको हो। नेपाल सरकारका प्राय कर्मचारीहरुले यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरु लगायत अन्य प्रतिवेदनहरुमा पदको प्रभावमा पारेर आफ्नो नाम समावेश गराएको धेरै प्रमाणहरु पाउन सकिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका माथिल्लो तहका व्यक्तिहरुको लेखमा आफ्नो नाम समावेशन हुनु वा कुनै छात्रवृतिमा यो लेख लेख्ने परियोजना भएको भए कानूनगत परिषदलाई प्राप्त हुने संस्थागत आय गुमेको परिणाम स्वरुप यो स्पष्टिकरणको नाटक मन्चन भएको हुन सक्छ।

(सुवेदी ग्रामीण विकास केन्द्रीय विभागमा विभागीय प्रमुख हुन्।)

जेठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्