बेल्जियमको शीर्ष लिगको उपाधि क्लब बर्गलाई

कोरोना भाइरसको महामारीका कारण यो सिजनका बाँकी खेलहरु हुन नसकेपछि क्लब बर्गलाई बेल्जियमको शीर्ष लिगको विजेता घोषित गरिएको छ ।

गएको महिना नै प्रो लिगका बाँकी खेलहरु हुन नसक्ने बताइएको थियो । लिगको एक खेल बाँकी हुँदा कोरोना भाइरसका कारण रोकिएको थियो । क्लब बर्ग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि थियो । योसँगै क्लब बर्गले १७ औँ पटक लिगको उपाधि उचालेको छ ।

यस्तै उसले पछिल्लो पाँच वर्षमा तेस्रो पटक उपाधि जितेको हो । क्लब बर्गले आउँदो सिजनको च्याम्पियन्स लिगका लागि समूह चरणमा स्थान पनि पक्का गरेको छ ।

वास्ल्याण्ड–वेभेरेन रेलिगेशनमा परेको छ । जेन्टले च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । यस्तै चार्लेरोइ, रोयल एन्टवेर्प र स्ट्याडर्ड लिइगेले युरोपा लिगमा स्थान पक्का गरेका छन् ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्