जिम्मेवारी पाएको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा दिएका छन् । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिरहेको प्रयासमा असहमति जनाउँदै स्वास्थ्य मन्त्री नेल्सन तेइचले राजीनामा दिएका हुन् ।

गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले तत्कालीन स्वास्थ्य मन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरेका थिए । राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमा थिए भने लुइजले लकडाउन खोल्दा गम्भीर संकट आउने बताएका थिए ।

बोल्सोनारो लुइजलाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्य मन्त्री बनाएका हुन् । तर उनले पनि राष्ट्रपति बोल्सोनारोकै नीतिमा असहमति जनाउँदै राजीनामा दिएका हुन् ।

राष्ट्रपति बोल्सोनारोका साथमा नेल्सन ।

बोल्सोनारोले जिम तथा ब्युटिपार्लर पुनः सञ्चालनका लागि अनुमति दिएपछि नेल्सनले त्यसको विरोध गरेका थिए । तर उनले आफ्नो राजीनामाको स्पष्ट कारण भने पत्रकार सम्मेलनमा खुलाएका छैनन् । राष्ट्रपति बोल्सोनारोले लकडाउनको विरोध गर्ने क्रम जारी राखेका छन् ।

उनले कोरोना भाइरसलाई ‘सानो फ्लू’ मात्रै रहेको बताउने गरेका छन् । उनको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भइरहेको छ । ब्राजिलमा पछिल्लामा दिनमा कोरोना भाइरस क्रमितको संख्या तीव्र रुपमा बढी रहेको छ ।

कोरोना भाइरस महामारीको विश्वका एक हटस्पट बन्दै गएको छ ब्राजिल । त्यहाँ संक्रमितको संख्या दुई लाख १८ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३०५ संक्रमित थपिएका हुन् ।

यस्तै ब्राजिलमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पनि १४ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२४ जनाको ज्यान गएको हो ।

पत्रकार सम्मेलनमा राजीनामाको कारण नखुलाएका नेल्सनले सेवा गर्ने अवसरका लागि राष्ट्रपति बोल्सोनारोलाई धन्यबाद दिए ।

यस्तै उनले स्वास्थ्यकर्मीहरुको प्रशंसा गरे । राष्ट्रपतिलाई धन्यबाद दिए पनि उनी विगतमा महामारीको विषयलाई लिएर बोल्सोनारोको प्रतिवादमा उत्रिने गरेका थिए ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू