रेडियो सुन्दै एसइईको तयारी गर्दै छन् दुर्गमका विद्यार्थीहरु

सिमकोट –कोरोना त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसइई तयारी कक्षा सुरु भएपछि विद्यार्थीहरु तयारीमा जुटेका छन् ।

कोरोनाका कारण पठनपाठनमा लामो समयसम्म विमुख रहेको विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट तयारी कक्षा सञ्चालन भइरहेको हो । अनलाइन कक्षा सम्भव नभएपछि एसइई तयारी गरिरहेका विद्यार्थीहरुका लागि हुम्लाका तीनवटा एफएम रेडियोबाट एकैसाथ तयारी कक्षा सञ्चालन भइरहेको हो ।

रेडियोबाट तयारी कक्षा सञ्चालन भएपछि आफूहरु रेडियो सुनेर तयारी गरिरहेको छात्रा सबिता शाहीले बताइन् । रेडियोबाट तयारी कक्षा सुरु भएपछि परीक्षाको तयारीका लागि सहज भएको अर्का विद्यार्थी हिक्मत भण्डारीले बताए ।

पढ्ने बानी हराउन थालेको बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थीहरुलाई पढाई प्रति उत्प्रेरणा जागेको कक्षा सञ्चालन गर्न सहयोग गरेको आधार विकासका शिक्षा क्षेत्र हेर्ने अधिकृत कुन्जोक लामाले बताए ।

शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णु बहादुर शाहीले आगामी दिनमा आउने सुझाबका आधारमा अगाडि बढ्ने बताए । हुम्लाको सदरमुकाम सिमकोटका दुईवटा र अदानचुली गाउँपालिकामा एकवटा गरी तीनवटा एफएम रेडियोबाट कक्षा सञ्चालन भइरहेका छन् ।

हाललाई अनिवार्य अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयहरुको बिहान र बेलुकाको समयमा रेडियोबाट अध्यापन थालिएको हो ।

जेठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्