धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौँ– धुलिखेल अस्पतालमा बिहीबार निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणको रिपोर्ट नआइसकेको अस्पतालले जानकारी दिएको छ।

‘उहाँको बिहीबार साँझ निधन भएको हो, उहाँको कोरोना परीक्षणको रिपोर्ट मन्त्रालय पुगेको छ, उसैले सार्वजनिक गर्छ,’ धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले देशसञ्चारलाई बताए।

सिन्धुपाल्चोक बाह्रबिसे ९ राम्चेकी ३० वर्षीया एक महिलाको उपचारका क्रममा धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा प्रमुख होमनाथ लामिछानेका अनुसार ती महिलाको आठ दिनअघि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो। लामिछानेले ती महिलाको स्वाब परीक्षण गरिएको र रिपोर्ट आइनसकेको जानकारी दिए।

कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएको महिलाको निधन भएकाले अहिले धुलिखेल अस्पतालमा सजगता अपनाइएको पनि डा. ताम्राकारले बताए।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू