कोरोनाको असरः भविष्यको चिन्तामा होटल व्यवसायी

माेरङ– कोरोना भाइरस (कोभिड १९)का कारण मुलुकमा लकडाउन भएको करिब २ महिना पुग्न लागेको छ। लकडाउनले चौतर्फी प्रभाव पारेको छ। यसले मुलुककै बलियो सम्भावना बोकेको पर्यटन तथा होटल व्यवसायलाई समेत थिलथिलो बनाएको छ।

प्रदेश एकमा हालसम्म पाँच तारे होटल नभएपनि पर्यटकीय होटलहरु कम्तीमा ५ सयको संख्यामा रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका पर्यटन संयोजक भविषकुमार श्रेष्ठ बताउँछन्। गएको चैत्र ११ देखि लकडाउन सुरु भएपनि फागुन महिनाबाटै होटल तथा पर्यटनको अवस्था फितलो बन्दै गएको संयोजक श्रेष्ठको भनाइ छ।

विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण यस क्षेत्रको अवस्था थिलथिलो बन्दै गएको उनी बताउँछन्। गएको तीन महिनादेखि ठप्प हुँदै गएको यस क्षेत्रलाई जोगाउनका लागि प्रदेश तथा संघीय सरकारले सुरक्षित रुपमा अघि बढ्नका लागि संवाद सुरु गर्नुपर्नेमा उनी जोड दिन्छन्।

श्रेष्ठ भन्छन्, ‘विगतका दिन व्यवसायीका लागि कालो सरह भएपनि अब कसरी अघि बढ्ने त्यसबारे छलफल सुरु गर्नुपर्छ। कोभिड १९ को प्रभाव अझै ३/४ महिना रहला। त्यसपछिको सुरक्षित वातावरणका लागि अहिले नै सोच्नुपर्छ। तर यसका लागि कतैबाट पहल भएको छैन।’

प्रदेश एकमा पर्यटकीयस्तरका होटलको संख्या करिब पाँच सय छ। जहाँ दैनिक ५ देखि ७ करोड रुपैयाँ बराबरको व्यापार हुने गरेको छ। यसबाट मुलुकको राजश्व पनि गुम्दै गएको छ।

कुनै कच्चा पदार्थबाट ठोस बस्तु उत्पादन गर्ने उद्योग होटल नभएको बताएका राजन श्रेष्ठ पनि सुरक्षित रुपमा होटल तथा पर्यटनलाई खुकुलो बनाउनेतर्फ अघि बढ्नुपर्ने बताउँछन्। होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्य श्रेष्ठका अनुसार सुरक्षित रुपमा होटल खुला गर्न संघले कम्तीमा ४८ घण्टाको फरकमा र सेनेटाइजपछि मात्र नयाँ अतिथिलाई कोठा उपलब्ध गराउनु पर्ने नियम नै बनाएको छ।

त्यसै अनुसार खुकुलो बन्दै गएपछि होटललाई सुरक्षित रुपमा खुला गर्नेतर्फ बढ्नुपर्ने उनको भनाइ छ। होटलमा कार्यरत श्रमिक तथा लगानी गरिएको ऋणको ब्याज कसरी भुक्तानी गर्ने भन्ने विषय टड्कारो बन्दै गएको बताएका श्रेष्ठले लकडाउन बढाउनु मात्र समस्याको समाधान नहुने बताए।

उनी भन्छन्, ‘लकडाउनलाई स्थान र परिस्थिति हेरिकन खुकुलो बनाउने र धेरैभन्दा धेरै पीसीआर परिक्षणलाई बढाउनु पर्छ। रोग लाग्ला नलाग्ला तर मानिस भोकले मर्ने हुन लागिसक्यो।’

लकडाउनका कारण असारसम्म सावाँ ब्याजको जरिवाना नलाग्ने सरकारको भनाइले व्यवसायीमा केही सन्तोष देखिएपनि असारलगत्तै एकैपटक चैत्रदेखिको ब्याज तिर्न सरकारले आह्वान गरेको खण्डमा परिस्थिति असहज हुने व्यवसायी बताँउछन्। होटल खुलेलगत्तै रकम जोहो गर्न गाह्रो हुने बताएका श्रेष्ठ चार महिनाको ब्याज र किस्ता तिर्ने समय पुनः केही अवधी बढाइनु पर्ने बताउँछन्।

मुलुकको पर्यटन क्षेत्रले गति लिन अझै केही समय लाग्ने बुझेका व्यवसायीहरु डब्लुएचओको पद्धतिलाई आत्मसात गर्दै अघि बढ्न सकिए व्यवसायलाई चलायमान बनाउन सहज हुने सुझाव दिन्छन्। प्रभावित क्षेत्र हेरेर व्यवसाय खुला गरे होटल व्यवसाय सुरक्षित रुपमा सञ्चालन गर्न सकिने उनीहरुको भनाइ छ।

संवादको पर्खाइ


पर्यटनसँग जोडिएका होटल व्यवसायी भने लकडाउन खुकुलो र खुल्ने सन्दर्भलाई लिएर सम्बन्धित निकायले संवाद चलाउनुपर्ने सुझाव दिन्छन्। प्रदेश सरकारले त्यसको अगुवाई गर्दै पयर्टनमा आवद्धलाई छलफल ल्याउनुपर्नेमा प्रदेश एकका पर्यटन संयोजक भविषकुमार श्रेष्ठ जोड दिन्छन्।

अहिलेको परिस्थितिमा विभिन्न होटलमा कार्यरत श्रमिकलाई व्यवस्थापन गर्ने चुनौति रहेको छ। त्यसैगरि होटल व्यवस्थापनमा भविष्य खोजि गर्दै अध्ययनमा जुटेका युवायुवतीको भविष्य कस्तो हुने भन्ने अन्योल छ। प्रदेश एकका धेरै कलेजमा होटल व्यवस्थापनको शिक्षा तथा तालिम लिएका विद्यार्थीहरु छन्। उनीहरुमध्ये धेरैको लक्ष्य विदेश जाने रहेको हुन्छ। तथापी कोभिड १९ का कारण विदेशमा समेत पूर्णरुपमा होटल सञ्चालन केही समय धकेलिने देखिन्छ।

पर्यटन समिति संयोजक श्रेष्ठ भन्छन्, ‘प्रदेशमै दक्ष जनशक्ति उत्पादन हुने क्रम सुरु भएको थियो। अब लकडाउनका कारण ती विद्यार्थीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? यस विषयमा समेत सरकार गम्भीर हुनुपर्ने देखिन्छ। त्यसैले अब सरकार र व्यवसायी बसेर संवादको आवश्यक्ता सुरु हुनुपर्छ। जसले आउने दिनमा हुन सक्ने क्षति कम गराउन सकियोस्।’

हाल प्रदेश एकका विभिन्न पयर्टन तथा होटल व्यवसायमा कम्तीमा १० हजार जनशक्ति प्रत्यक्ष रुपमा रोजगारीमा रहेका छन्।

होटल सम्बन्धी अध्ययन पूरा गरेका विद्यार्थी तथा दक्ष जनशक्तिले होटलमा राम्रो पारिश्रमिक पाउँदै आएको बताएका श्रेष्ठ विद्यार्थी, दक्ष जनशक्ति र हाल कार्यरत श्रमिकलाई समेत व्यवस्थापन गर्न चुनौती उब्जिने बताउँछन्। त्यसैगरि ठूलो लगानीका व्यवसायीसँगै मध्यम लगानीका व्यवसायीसमेत लकडाउनबाट प्रभावित भएका छन्।

मोटो रकम बुझाउँदै अधिकांशले घर भाडामा लिएर होटल सञ्चालनमा ल्याएका छन्। तीन–चार महिना व्यवसाय नचल्दा बैंकको ऋण, घरभाडा तिर्नुपर्ने अवस्थालाई लिएर व्यवसायी हतोत्साहित हुने सम्भावना देखिएकोमा होटल व्यवसायीहरुको चिन्ता छ।

अतिथि आवागमन ठप्प


कोभिड १९ को महामारी र लकडाउन कहिलेसम्म जारी रहन्छ यकिन छैन। प्रदेशका विभिन्न स्थल घुम्न आउने अधिकांश भारतीय नागरिक हुन्छन्। सिमित संख्यामा भारतीय नगरिक व्यवसायका लागि आउने भएपनि बढी जसो धार्मिक क्षेत्र र पर्यटकीय क्षेत्र घुम्न आउने गर्छन्।

चैत्र र वैशाख महिनामा लकडाउनका कारण होटल व्यवसायले भारतको विभिन्न क्षेत्रबाट घुम्न आउने पर्यटकहरुलाई गुमाएको छ।

होटल संघका सदस्य राजन श्रेष्ठ भन्छन्, ‘धेरै कार्यक्रमहरु रद्ध गर्नु परेको छ। जसले ठूलो नोक्सानी यस क्षेत्रले ब्यहोरेको छ।’

पूर्वमा भेडेटार, नमस्ते झरना, हिले, पशुपतिनगर, कन्याम, पाथिभरा मन्दिर, हलेसी लगायतका क्षेत्र भारतीय नागरिकको पहिलो रोजाइमा पर्ने गरेको छ। तर अब केही महिना यस क्षेत्रमा पर्यटकको आवागमनमा समेत अंकुश लाग्ने देखिएको छ।

निर्माणमा रहेका होटल


यसबीच प्रदेश एकमा तीन वटा पाँचतारे होटल खुल्ने क्रममा रहेका छन्। प्रदेशमा पर्यटकीयस्तरका मात्र होटल रहेको अवस्थामा विराटनगर, इटहरी र झापाको धुलाबारीमा पाँचतारे होटल निर्माणको कार्य अन्तिम चरणमा रहेका छन्। जसको निर्माण कार्य ७५ प्रतिशत सकिसकेको बताइएको छ।

यस क्षेत्रमा सम्भावना देखिएसँगै धनकुटाको राजारानीमा गोल्छा समूहले पाँचतारे रिसोर्ट सञ्चालनमा ल्याउने तयारीमा रहेको छ। त्यसैगरि विराटनगरमा समेत यति समूह, उद्योगी राउत परिवारसमेत होटल व्यवसायमा आउने तयारीमा रहेका छन्।

तर कोभिड १९ ले विश्व बजारलाई नै असर गर्दा ती क्षेत्रलाई कसरी सञ्चालनमा ल्याउने त्यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ।

पर्यटकीय नगरी भेडेटार, हिले, इलाम, झापामा समेत होटलहरु खुलेका छन्। ‘पर्यटन वर्ष २०२०’ कोभिड १९ का कारण खारेज गरेपनि विराटनगरमा समेत होटलहरुले आफूलाई पुनः निर्माण गर्दै आएका थिए।

सगरमाथा समिट प्रभावित


प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पर्यटन प्रवर्द्धनका लागि समिटर्स समिटको आयोजना गर्ने गरी आवश्यक बजेट व्यवस्था गरेको थियो। अषाढ/साउन महिनामा सो कार्यक्रम राखिने तयारी गरिएको भएपनि कोभिड १९ का कारण कार्यक्रम आयोजनाको सम्भावना न्यून रहेको छ।

प्रदेश सरकारले सो कार्यक्रममा हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धनको लक्ष्यसहित ८ हजार मिटरमाथिका हिमालको आरोहण गर्ने विश्वका विभिन्न मुलुकका आरोही, पर्यटन व्यवसायी तथा प्रवर्द्धकलाई समेट्ने लक्ष्य राखेको थियो।

प्रदेश सरकार ८ हजारमिटर माथिका हिमाल आरोहीलाई आमन्त्रण गरी प्रर्यटन क्षेत्रलाई अझ सबै माझ पुर्‍याउने तयारी गरेको थियो।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्