औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

मोरङ– विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको मृत्युलाई मोरङ प्रहरीले शंकास्पद भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दुलालको मृत्युलाई शंकास्पद भएको जनाउँदै अनुसन्धान अघि बढाएको हाे।

दुलाललाई कोशी अस्पतालले आइतबार बिहान ३ बजे मृत घोषित गरेको थियो। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीय दुलाल विराटनगर महानगरपालिका–१० मा श्रीमती र ८ वर्षका छोरासहित भाडामा बस्दै आएका थिए। दुलालको देवी माँ पाथीभरा फर्मा नामको औषधि डिलर रहेको छ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले दुलालको मृत्युलाई स्वभाविक मान्न सकिने स्थिति नदेखिएकोले अनुसन्धान अघि बढाइएको जानकारी दिए। बिहान सुतिरहेको अवस्थामा असहज भएपछि श्रीमती मीना श्रेष्ठ दुलाल, छिमेकी कल्याण राजवंशी र अर्का औषधि व्यवसायी धनबहादुर काफ्लेले उपचारका लागि कोशी अस्पताल पुर्‍याएका थिए।

प्रहरीका अनुसार मृतक दुलालको हात, घाँटी, नाक, र वायाँ आँखा छेउमा चोट लागेको छ। ‘शरीरका विभिन्न भागमा शंकास्पद चोट थियाे। घाँटीमा डोरीले कसेको डाम रहेको पाइयो’, प्रवक्ता राईले भने, ‘मुखबाट रगत बगिरहेको थियो। सुतेको ओछ्यानमा रगत लतपतिको भेटियो।’

प्रहरीले घटनालाई शंकास्पद मान्दै दुलालकी श्रीमती मीना, विराटनगरकै औषधि व्यवासायीहरु धनबहादुर काफ्ले र हरिमोहन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनीहरु माथि सोधपुछ गर्दै घटनाको अनुसन्धान गर्ने काम भइरहेको जानकारी राईले दिए।

दुलाल र मीनाका ८ वर्षका छोरा छन्। प्रवक्ता राईले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी दिन सकिने बताए।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू